खल्खली पसिना निकाल्ने चर्को घाम । आँखै टटाउने त्यस्तो घाम छल्दै आइतबार अपरान्ह टोरन्टोको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा एक हुल नेपाली राष्ट्रिय झण्डासहित पुगेका थिए। चन्द्र सूर्य अंकित त्रिकोण आकारको झण्डाको फर्फराई जति हेर्न लायक थियो, नेपालीको हुटिङ उत्तिकै सुन्नलायक!
‘सन्दीप.’
‘सन्दीप..’
मन्ट्रियल टाइगर्सका कप्तान लासिथ मालिंगाले बल दिएर सन्दीपलाई जब बलिङमा पठाए मैदानमा फेरि गुञ्जियो,
‘हाम्रो हिरो सन्दीप..’
‘नेपाली हिरो सन्दीप ... !’
मन्ट्रियल टाइगर्सको समर्थन गर्नेक्रममा सन्दीपको हौसला बढाउँदै हुटिङ गरिरहँदा दर्शकदीर्घाका सबैजसोको ध्यान नेपाली क्रिकेटप्रेमीको हूलतिर हुन्थ्यो ।
भारतीय, पाकिस्तानी, अफगानस्तिानी र क्यारेवियनमूलका सयौं दर्शक भए पनि नेपाली क्रिकेटप्रेमीको हुटिङ सबैभन्दा चर्को सुनिन्थ्यो। सन्दीप बलिङमा आउनासाथ त्योक्रम झनै चर्को हुन्थ्यो ।
‘क्यानाडामा यत्तिको ठूलो क्रिकेट प्रतियोगिता कहिल्यै भएको थिएन, त्यसमाथि नेपालबाट सन्दीप नै खेल्न आएपछि झन् खुसी भइयो’, नेपाली क्रिकेटप्रेमीको हुलमा भेटिएका इमरान खान भन्दै थिए, ‘नेपाल छँदा हामी पनि क्रिकेट खेलेरै हुर्केका हौं, यहाँ पनि खेल्छौं, त्यसैले रमाउनुसम्म रमाइयो।’
खेलको सुरुदेखि अन्तिमसम्मै, झण्डै चार घण्टासम्म चर्को हुटिङ गरेर नेपाली क्रिकेटप्रेमीहरू घर फर्किँदा पनि टोरन्टोको आकाशमा घाम अस्ताएकै थिएन। ‘गर्मीले ओठ मुखै सुक्यो तर सन्दीपको समर्थनमा नारा लाउँदा थाकिएन’, छुट्टीको दिन भरपुर सदुपयोग भएको उल्लेख गर्दै अर्का नेपाली क्रिकेटप्रेमी आर्शिवाद सुवेदी भन्दै थिए, ‘आफू बस्ने ठाउँमै क्रिकेटको ठूलो प्रतियोगिता हुँदा रमाउनुसम्म रमाइयो।’
खेल सकिएपछि नेपाली दर्शकको हुलको अघिल्तिर आइपुगे सन्दीप। आफू आवद्ध मन्ट्रियल टाइगर्स एक विकेटले पराजित भएर प्रतियोगिताबाट बाहिरिएपछि केही निराश देखिन्थे उनी। तैपनि, समर्थकलाई अटोग्राफ दिँदै हात हल्लाएर अभिभावदन गर्न चुकेनन्।
हेर्नुहोस् केही तस्बिर र भिडियो