राष्ट्रिय आविष्कार केन्द्र, नेपालका संस्थापक महावीर पुन अहिले उत्तर अमेरिकामा छन्। म्याग्दीका गाउँमा इन्टरनेटलाई दैनिकीसँग जोडेर मानिसको जीवनयापन सहज बनाइदिएका उनको चर्चा पहिल्यैदेखि चौतर्फी छ। ‘एसियाको नोबेल’ भनिने ‘रोमन म्यागासेसे’ पुरस्कार बिजेता हुन् उनी।
म्याग्दीमा जन्मेका, अमेरिकामा पढेका र पछि म्याग्दी नै फर्केका उनले पाएका पुरस्कार, पदक र सम्मान दर्जनौं छन्। तर, आविष्कार केन्द्रको स्थायित्व निम्ति सरकारबाट यथोचित सहयोग नपाउँदा उनले ती पदक नै लिलाम–बिक्रीमा राखेका छन्।
आफ्नो अभियान सफल पार्न झण्डै दुई महिने भ्रमणमा अमेरिका–क्यानडा आएका हुन् उनी। त्यसक्रममा अमेरिकाका थुपै्र सहर पुगिसकेका छन्। पुग्न बाँकी सहर अझै धेरै छन्। बुधबार क्यानडा आइपुगेका उनी यहाँका ६ प्रान्तमा आयोजना हुने ९ वटा कार्यक्रममा सहभागी हुँदैछन्। यात्राको मुख्य उद्देश्य सरोकारवाला तथा शुभेच्छुकलाई आविष्कार केन्द्रको आवश्यकता र औचित्य अर्थ्याउनु हो। केन्द्रको स्थायित्व र दिगो सञ्चालनमा देखापर्ने कठिनाइबारे अवगत गराउँदै स्रोतको खोजी गर्नु त छ“दैछ।
‘शुभेच्छुककै निम्तो र शुभेच्छुककै खर्चमा निस्केको’ बताउने पुन आफ्नो जीवनकालमै नेपाल समृद्ध भएको हेर्न चाहन्छन्। म्याग्दीमा गरेजस्तो ‘इन्टरनेट समाजसेवा’ले मात्र देश नबन्ने उनको निर्क्यौल छ। ‘त्यसैबाट शिक्षा लिएर’ नेपाली युवापुस्तालाई आविष्कार केन्द्रमार्फत गहिरो खोज अनुसन्धानमा सामेल गराई उनीहरूमार्फत देशमा समृद्धि ल्याउन ‘अहोरात्र खटिरहेको’ उनी बताउँछन्।
प्रस्तुत छ, उनै पुनसँग आविष्कार केन्द्र, उत्तर अमेरिका भ्रमण र समृद्ध नेपालको सपना आदिबारे गरिएको कुराकानी :
उमेरले ६३ पुग्नुभो, तर झन्–झन् तन्नेरी दौडधूप देखिन्छ, कसरी?
म युवा नै छु। किन युवा छु भने, म समूहमा काम गर्छु। मेरो समूहमा काम गर्ने सबै युवा छन्, ३० वर्षमुनिका। वायरलेस जडान गर्दा होस् या आविष्कार केन्द्रका अनुसन्धानमा, १८ देखि ३० वर्षबीचका युवामाझ घेरिएर काम गरें। ३० नाघेपछि युवाहरु जागिरमा जान्छन्, परिवारमा बाँधिन्छन्, समय दिँदैनन्। पहिल्यै उनीहरूबाट काम लिइसक्नुपर्छ। त्यही भएर होला, मेरो उमेर मिल्दा मान्छे त साथी नै छैनन्। फलस्वरुप, आफूलाई सधैं उनीहरूजस्तै युवा ठानेर चारचौरास् घुमिरहेको छु। र, म खासमा बुढो पनि भएकै छैन। किनकि, गर्नुपर्ने काम धेरै बाँकी छन्।
उत्तर अमेरिकामा ५० दिने यात्रा, त्यो पनि सहरैपिच्छे, किन ?
आफ्ना कुरा सुनाउन। अनुभव बताउन। आविष्कार केन्द्रबारे अर्थ्याउन। र, अरुका कुरा सुन्न पनि। कुनै कन्सर्ट वा भनौं, मनोरञ्जनात्मक कार्यक्रमका लागि त आएको होइन म। तर पनि, नेपाली दाजुभाइ दिदीबहिनीहरु मेरा कुरा सुन्न आइरहेका छन्। ‘हामी के गर्न सक्छौं?, ‘कस्तो खाले सहयोग गर्न सक्छौं’ भनेर हौसला दिइरहेका छन्। २५ ठाउँमा कार्यक्रम भइसक्यो। सबैमा कान खोलेर कुरा सुन्दै आविष्कार केन्द्रबारे चासो दिइयो। यसले मलाई ठीक गर्दै रहेछु भन्ने लाग्यो। झन् हौसला मिल्यो।
यसक्रममा यताका नेपालीले कस्तो सहयोगको प्रतिवद्धता जनाउँदैछन्?
धेरैले त पैसा माग्न आयो भन्ने सोच्लान्। बाहिर हल्ला फैलाउलान्। तर, पैसालाई चाहिँ मैले सहयोग मान्दिनँ। पैसा मात्र ठूलो सहयोग हुँदैन। मैले बुद्धि, ज्ञान, सीपको दान गर्नुहोस् भनेको छु। अन्तिममा मात्र पैसाको अपेक्षा हो। पैसा पनि यदि छ भने मात्र र एकपल्ट मात्र। सँगै मैले नेपाली दाजुभाइलाई माग्ने अर्को कुरा समय हो। आविष्कार केन्द्रबारे आधा एक घण्टा सोचेर, साथीभाइलाई सुनाएर सघाउन आग्रह गरेको छु।
केहीले त चन्दा उठाउन हिँडेको भनेर फेसबुकमै लेखेको देखियो नि?
त्यो बुझाइको कमीले हो। जसले लेख्यो उसलाई त्यस्तो लाग्नु स्वभाविक हो। अरु कसैलाई त्यस्तो खुल्दुली र शंका भए मलाई सिधै सम्पर्क गरे हुन्छ। किनकि, हामीले संस्कारै त्यस्तै बसाएका छौं। कतै केही निर्माण गर्नु पर्यो भने देश विदेशमा चन्दा माग्ने क्रम सुरु हुन्छ। तर, मेरो हकमा त्यस्तो भएको छैन। यो यात्रामा झनै त्यस्तो हुँदैन। पैसाको हिसाब किताब हेर्ने मैले होइन, केन्द्रमा अलग्गै टिम छ। कसैले सघाउन चाहे कार्यक्रम आयोजकमार्फत बैंकमा पछि जम्मा हुन्छ। पैसा केन्द्रका लागि दोस्रो प्राथमिकता हो। ज्ञान र बुद्धि चाहिँ पहिलो खाँचो।
अमेरिका र क्यानाडाका दर्जनौं सहर चहार्दा हुने खर्चको स्रोत चाहिँ के हो?
यो यात्रामा मेरो खल्तीको जम्मा २५-३० डलर खर्च भयो होला। त्यो पनि एक्लै भएका बेला एअरपोर्टतिर पानी किनेर पिउँदा। बाँकी सबै शुभेच्छुकको। उनीहरुले नै टिकट काटेर बोलाउँछन्। एअरपोर्टमा लिन आउँछन्। घरमा लगेर सुताउँछन्। अमेरिका र क्यानडाको मात्र के कुरा! यसैगरी मैले, २६ देश डुलिसकें। अष्ट्रेलिया, युरोप, कोरिया सबैतिर त्यसरी घुमें। आफूसँग त पैसा भए पो खर्च गर्नु! सधैं अरुले निम्तो गरेकै भरमा। डुलाएकै भरमा, खुवाएकै भरमा घुमेको हुँ। कहिलेकाहीँ सरोकारवाला निकायले संस्थागत रुपमा पैसा खर्चेर पनि बोलाउने गरेका छन्। नबोलाइएका ठाउँमा अहिलेसम्म गएको छैन। आविष्कार केन्द्रको एकै रुपैयाँ पनि मेरो यात्रामा खर्च भएको छैन र हुँदैन।
तपाईं संस्थापककै भाषामा राष्ट्रिय आविष्कार केन्द्र भनेको के हो?
यसबारे अलि पढेलेखेकै मान्छेले नै नबुझेको जस्तो लाग्छ मलाई। किनभने, पढेलेखेका मान्छेलाई आविष्कार भन्ने कुरा यति ठूलो लाग्छ, उनीहरुले गहिरिएर केलाएर हेर्न थाल्छन्। अनेक दृष्टिबाट सोच्न थाल्छन्। तर, आम नेपाली जनता जो गरिव छन्, सोझा छन्, सिधा छन्, उनीहरुले चैं बुझेका छन्। केही नयाँ अनुसन्धान-आविष्कार भयो भने देशको विकासमा मद्दत गर्छ भन्नेमा उनीहरु प्रष्ट छन्। त्यसैले हुनसक्छ, केन्द्रलाई ठोस रुपमा मद्दत गर्नेमा तल्लोस्तरका नेपाली छन्।
अझ सबैले बुझ्ने गरी प्रस्ट्याईदिनु हुन्छ कि?
सरल भाषामा भन्दा यो एउटा पालनपोषण केन्द्रजस्तै हो। प्रतिभा भएका मानिसलाई पालनपोषण गर्ने ठाउँ हो, जहाँ रहेर उनीहरुले आफ्नो रुचि, ज्ञान र दख्खल भएको विषयमा खोज अनुसन्धान गर्छन्। अझ भनौं, देशको आर्थिक विकास गर्न देशका प्रतिभाशाली सन्ततिलाई देशभित्रै बसेर काम गर्ने वातावरण मिलाइदिने एउटा अभियान नै आविष्कार केन्द्र हो।
इन्टरनेटमार्फत गाउँलेको जीवनयापन सहज बनाउने अभियान छोडेर यता किन?
त्यो त धेरै पहिलेको कुरा भइसक्यो। इन्टरनेटले मानिसको जीवनशैली त सहज बनाउने भो तर पर्याप्त आम्दानी दि“दैन। अर्थात्, इन्टरनेटको भरपूर उपयोगले मात्र समृद्ध भइन्न। अर्को बास्तविकता के हो भने, नेपालमा अहिले विकास भनेर हामी जे बुझ्छौं, त्यो पाराले मात्रै पनि देश समृद्ध बन्दैन। सिमेन्ट लगाउँदैमा, सडक बनाउँदैमा, बिजुली बाल्दैमा, रेल र पानीजहाज कुदाउ“दैमा सम्वृद्धि आउँदैन। पूर्वाधार विकास हुनु भनेको समृद्ध देशको लागि ५० प्रतिशत मात्र हो। बाँकी ५० प्रतिशत आर्थिक विकास नभई देश बन्दैन। यो नेता र जनता दुबैले बुझ्नु जरुरी छ। जुन काम आविष्कार केन्द्रमा हुने खोज अनुसन्धानले पूरा गर्नसक्छ।
तपाईं त संसार चहारेको मान्छे, आविष्कार केन्द्रबारे अरुतिरको अनुभव कस्तो छ?
कुनै पनि देश, जसलाई हामी विकसित भनेर चिन्छौं, ती देश त्यतिकै विकसित भएका होइनन्। खोज अनुसन्धानका लागि त्यस्ता देशमा विभिन्न संरचना बनेका हुन्छन्। निजी क्षेत्रबाट पर्याप्त लगानी गरेर आविष्कार केन्द्र खोलिएका हुन्छन्। सरकारले उत्तिकै सघाएको हुन्छ। विश्वविद्यालयमा अनुसन्धान केन्द्र हुन्छन्। त्यहाँ खोज अनुसन्धान भएका कुराले समाजका हरेक क्षेत्रमा नयाँ कामको सुरुवात गर्नुपर्ने देखाउ“छन्। जसले पर्याप्त रोजगारी पनि सिर्जना हुन्छ। र, अन्तिममा फाइदा त्यही देशलाई हुन्छ। त्यहीँको सरकारलाई हुन्छ।
अनि, नेपाल सरकारले चाहिँ यसको महत्व किन नबुझेको? कि तपाईंले बुझाउन नसकेको?
यस्तो कुरा कि बुझ्दै नबुझेकालाई बुझाउन सजिलो। कि धेरै बुझेर साथ दिन खोज्नेलाई बुझाउन सजिलो। तर, बुझेर पनि बुझ पचाउने हाम्रो सरकारलाई बुझाउन बहुतै गाह्रो। ४-५ प्रधानमन्त्री, उत्ति नै सचिव र दर्जनौं सरोकारवाला, जो उच्च ओहोदामा छन्, उनीहरुलाई आविष्कार केन्द्रको महत्व बुझाउँदै यसको स्थायित्व निम्ति सहयोग माग्दा आश्वासनबाहेक केही पाइएन। हुँदैन कहिल्यै भन्दैनन्, तर हुने कहिल्यै होइन।
तपाईंले खासमा नेपाल सरकारबाट चाहेको कुरा के हो?
अभिभावकत्व, संरक्षण, लगानी। चाहेका कुरा त यस्तै–यस्तै थिए, किनकि प्रतिफल लिने अन्ततः सरकारै हो। आविश्कार केन्द्र त स्थापना भयो तर खोज-अनुसन्धानका लागि हामीसँग पर्याप्त बजेट छैन। स्रोत साधन छैन। त्यस्ता खोज र अनुसन्धानमा समय लाग्छ। धैर्यतापूर्वक गर्नुपर्छ। जो पैसा खर्च नगरी सम्भव हुँदैन। त्यसनिम्ति जलविद्युत उत्पादन आयस्रोतको एउटा भरपर्दो माध्यम हो। जलविद्युत परियोजना निर्माण तथा उत्पादनमा सरकारले लगानी गरोस् भन्ने थियो। र, जलविद्युतमा लगानी आग्रह गर्दै पटक–पटक सिंहदरबार चहारें। तर,बिडम्बना भनौं, खाली हात फर्कनुपर्यो।
भनेपछि सरकारसँग अहिले पानी बाराबारको सम्बन्ध हो?
पानी बाराबारको स्थिति त नभनौं। मैले दुई वर्षदेखि सिंहदरबार धाउन चाहिँ छोडेको हो। सिंहदरबारको ढोका ढक्ढक्याउन छोडेको हो। तर, ढोका चै खुलै राखेको छ। आशलाग्दा संकेतहरु त देखिएका छैनन्। तैपनि, ढोका चै खुलै छन्। बरु, तीन नम्बर प्रदेश, तुल्सीपुर र सुनकोसी नगरपालिका अनि केही गाउँपालिकाले ग्रामीणस्तरमा आविष्कार केन्द्र कसरी खोलेर कसरी चलाउन सकिन्छ भन्दै चासो गर्दैछन्। जो जाग्नुपर्ने हो उ सुतेको छ, स्रोत साधन नभएकाहरु चैं जाग्न खोज्दैछन्।
त्यही भएर जलविद्युत उत्पादन निम्ति स्रोत जुटाउन पदकहरु लिलाम बिक्रीमा राख्नुभएको?
हो, मैले अहिलेसम्म देश विदेशबाट पाएका पदकहरु अमेरिकाको सानफ्रान्सिस्कोबाट बेच्नलाई अक्सनमा राखेको छु। पदक घरमा झुण्ड्यार राखेर केही फाइदा छैन। त्यो दिनेले दिइसक्यो, एकपटक पाइसकियो, मेरो नाममा भइसक्यो। अर्को कुरा पदकलाई मैले मरेर सँगसँगै लैजाने पनि होइन। आविष्कार केन्द्रलाई मूर्तरुप दिन आवश्यक पर्ने रकम थपथाप गर्न पदक बेच्ने घोषणा गरेको हुँ। पदक बिक्रीको पैसाले कमसेकम २-४ अनुसन्धानका काम गर्न सकियो भने पनि राष्ट्रलाई केही योगदान दिन सकिन्छ। त्यही भएर उत्पादनमूलक काममा रकम प्रयोग गर्न पदक बेच्न अक्सनमा राखेको हुँ।
पदक बेचेर कति आउला? केन्द्रलाई कति पैसाको खाँचो हो?
पदकबाट ३-४ करोड आउँछ। सहयोगी हातहरुबाट ६ करोड जुटिसकेको छ। त्यसो गर्दा जम्मा १० करोड जुट्यो भनौं। जलविद्युत परियोजना निर्माणलाई ४०-५० करोडको खाँचो हो, त्यो पनि कूल लगानीको ३० प्रतिशत मात्र। त्यति रकम जुटाउनसक्दा बैंकहरुले लगानी गरेर परियोजना पूरा गर्ने सहमति जनाएका छन्। त्यही भएर सरकारले हात बाँधेपछि पदक नै लिलाममा राखेर यसरी दौडाहामा निस्कनुपरेको हो। आविष्कार केन्द्रलाई त असीमित स्रोत साधन चाहिन्छ। हावर्ड, अक्सफोर्ड जस्ता अनुसन्धान केन्द्रको स्तरमा पुर्याउन ५० औं वर्ष लाग्छ तर हुन्छ।
तपाईं यताबाट फर्केपछि नेपालमा कस्ता योजना छन् ?
आविष्कार केन्द्रअन्तर्गत अहिले नेपालका विभिन्न ठाउँमा १४ वटा कार्यक्रम चल्दैछन्। ती सबैमा युवाको साथ छ। काठमाडौं युनिभर्सिटीमा सोलारबाट हिटर चलाउने, रामपुर कृषि क्याम्पसमा झिँगाबाट कुखुराको दाना बनाउने, हेटौंडामा रिक्साको व्याट्री लाइफ बढाउने, ड्रोनबाट औषधि वितरण, पानी फिल्टर र ट्रिटमेन्ट, जनकपुरमा धान काट्ने मेसिन, धरानमा ज्यामीका लागि एअर कन्डिसनवाला लुगा, स्वास्थ्य सेवानिम्ति एप, बाँदर धपाउन मेसिन, अनलाइन पोर्टलमार्फत किनमेल सपिङ, कुटुम्बज डट नेटमार्फत विदेशका नेपालीका दोस्रो पुस्तालाई नजिक बनाउने लगायतका काम भइरहेका छन्। जसको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ। तिनको अवलोकन गरी अरु नयाँ कार्यक्रमबारे सोच्नु छ। साथै, जलविद्युत परियोजना निर्माण गरी आविष्कार केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन जुट्नु त छँदैछ।
अन्त्यमा नेपाल सरकारलाई केही भन्नु छ?
छ। धेरै–धेरै धन्यवाद भन्नु छ। नेपाल सरकारको असहयोगकै कारण देश विदेशमा छरिएका यत्तिका हजारौं–हजार नेपाली दाजुभाइ दिदीबहिनीको अपार माया र साथ सहयोग पाइएको छ। देशभित्रै रहेका निम्न बर्गका कतिपयले आविष्कार केन्द्रको भलो चिताएर माग्दै नमागी सहयोग गरेका छन्। सरकार त उही सनातन शैलीकै भएकाले के पो सहयोग गरोस्। उहिले राणा, शाहकै पालादेखि यस्ता बौद्धिक कुरा जसले आर्थिक समृद्धिमा टेवा पुर्याउ“छ, त्यसलाई सघाउने परम्परा भए पो अहिले निरन्तरता पाउ“थ्यो। त्यो परम्परा थिएन र अहिले पनि सरकारले कानमा तेल हाल्यो।