नेपाल र क्यानाडा बीचमा दौत्य सम्बन्ध कायम भएको ५४ वर्ष पुग्यो। यस अवसरमा नेपाल/क्यानाडा सम्बन्ध विकासमा क्यानाडा निबासी नेपालीहरुको भूमिका कस्तो रह्यो? आगामी दिनमा कसरी गहन भूमिका निर्वाह गर्ने? भन्नु हाम्रो चासोको बिषय हो।
यो वर्ष ग्रेटर टोरोन्टो क्षेत्रमा जेठो क्यानाडियन नेपाली सामुदायिक संस्था स्थापना भएको रजत वर्ष पनि हो। नेपालले ओटावामा राखेको दूतावासबाट नेपाल र नेपालीको तर्फबाट दुई पक्षीय सम्बन्धका सबै काम २००९ बाट गरिदै आएको छ।
अण्टारियोको टोरोन्टो ब्रिटिशकोलम्बियाको भ्यानकुभर र क्युबेकको मोन्त्रिअलमा आफ्नो कन्सुलर तहको काम पनि केहि समयबाट काम गरिदै छ ।
नेपाल क्यानाडा दुई देशबीच दौत्य सम्बन्ध १९६५ जनवरी १८मा भएपछि १९१८ सेप्टेम्बरमा नेपाल क्यानाडा दुई पक्षीय परामर्श सयन्त्र समझदारी स्मरण पत्रमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेपछिको हालको अवस्था अझ एक पाइला अगाडि बढेको मान्नु पर्छ।
दुवै देशका सरकारी प्रतिनिधि रहने संयन्त्र नेपाल र क्यानाडाका आपसी चासो र हितका विषयमा छलफल, निर्णय हुन्छ। क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा नेपाल संसदीय मैत्री संघको गठन भएको छ।
नेपाल संघीयतामा गएको बेलामा उच्च तहका नेपाली सरकारी प्रतिनिधिहरुको संघीयताको विविध पक्षमा अध्ययन भ्रमण क्यानाडामा भएको छ।
क्यानाडाको सैनिक तालिम सहयोग कार्यक्रमा नेपाल सदस्य सन् १९९१मा भएपछि हालसम्म नेपाली सैनिक अधिकृतहरुले भाषा, ब्यबसायिक सैनिक तालिम, भाषा, शान्ति सहयोग सञ्चालन तीन विषयमा केन्द्रीत छ।
बि.सं २०७२मा नेपालमा गएको बिनासकारी भूकम्पमा क्यानाडाको संघीय प्रान्तीय र स्थानीय सरकारबाट तथा संघसंस्थाहरुबाट भएको सहयोग स्मरण गर्नुपर्छ। त्यस समयमा नेपाली समुदायसँग क्यानाडियन सरकार र जनता बीच सम्बाद र सहकार्य भएको थियो।
क्यानाडामा स्थायी रूपमा बस्ने हामी क्यानाडियन नेपालीहरुलाई निश्चय नै नेपाल क्यानाडा दौत्य सम्बन्ध राम्रो बनाउनमा हाम्रो भूमिका कति राम्रो बनाउने हामी सबै क्यानाडियन नेपालीहरुको लागि चासोको बिषय हो।
क्यानडामा नेपालीहरु आउन थालेको सन् १९६० देखि नै भए पनि २००० पछि बिभिन्न शहरहरुमा उल्लेख्य रुपमा संख्या बढेको हो।
हाल अधिकारिक रुपमा यति नै संख्या भन्न नसके पनि मुख्य रुपमा अण्टारियोको ग्रेटर टोरोन्टो र वरपरको क्षेत्र, सडबरी, ब्रिटिशकोलम्बियाको भ्यानकुभर र वरपरको क्षेत्र, क्युबेकको मोन्त्रिअल र वरपरको क्षेत्र, अल्बर्टको क्यालगरी, एड्मोंटनलगाएतका स्थानमा नेपालीको बसोबास छ।
नेपालीहरु क्यानाडामा जहाँ बसेका छौं। जहाँ पढ्छौं, जहाँ काम गर्छौ त्यहाँ हामी आफ्नो परिचय दिँदै म नेपाली हुँ नेपाल मेरो जन्म देश हो र अनि नेपालको बारेमा केही कुरा भन्छौं। आफ्नो परिचयसँग नेपालको छोटकरीमा परिचय दिन्छौं। यही नै नेपाल क्यानाडा दौत्य सम्बन्ध विकासमा क्यानाडियन नेपालीहरुको भूमिकाको पहिलो आधार हो।
नेपाल भन्नासाथ कहाँ छ? कस्तो देश हो? लगायतको प्रश्नहरु गरिन्छ। यस बेला हामीले नेपालको प्रचार गर्न सक्छौ।
नेपाल–क्यानाडा सम्बन्ध विकासमा क्यानाडा निवासी नेपालीको भूमिका विषयमा विचार गोष्ठीमा सर्वप्रथम हामीहरु मुख्य रुपमा तीन वटा विषय राख्न सक्छौं।
नेपाल क्यानाडा दौत्य सम्बन्धको सुरुआतदेखि हालसम्मको अवस्था, नेपालको र क्यानाडाको विदेश नीतिको मौलिक विशेषताहरु, नेपाल क्यानाडा दौत्य सम्बन्ध विकासमा आवश्यक हुनसक्ने, उपयोग हुनसक्ने कुटनीति बारेमा सामान्य रुपमा जानकारी राख्दा गोष्ठीमा सहभागी हुनुको महत्व बढी हुन सक्छ।
कुटनीति भनेको विदेश नीतिमा भएका कुराहरु प्राप्त गरिने कुरा हो। नेपालको विदेश नीति वा विदेशमामला सम्बन्धि नीति वा विदेश सम्बन्ध भनेको नेपालको हित हुने, चासो हुने कुराहरु प्राप्त गर्न विदेश राष्ट्रसँग गरिने पारस्परिक ब्यवहार हो।
हाल नेपालको विदेश नीति आर्थिक कुटनीतिमा आधारित छ। क्यानाडियन नेपालीहरु भन्नाले अर्को शब्दमा क्यानाडाका नेपाली डायस्पोरा हो र डायस्पोरा सरकारी होइन। यो गैरसरकारी हो अर्थात् नेपाली समुदाय वा जनता बिचको जस्तो हो।
क्यानाडाको नेपाली समुदाय (गैर सरकारी) क्षेत्रबाट कसरी नेपाल क्यानाडा दौत्य सम्बन्ध विकासमा योगदान दिनसक्छ? नेपाल क्यानाडा दुई पक्षीय चासोको विषय भित्र पर्ने बिषयहरू के–के हुन्? के के कुराहरु नेपाली डायस्पोराले गर्न सक्छ निर्क्योल हुन् आबश्यक छ र जसले नेपाल क्यानाडा दौत्य सम्बन्ध बिकासमा ठोस योगदान पुर्याउन सकोस्।
क्यानाडामा नेपालीको सामुदायिक बसाई अर्थात् क्यानडामा नेपाली डायस्पोराको हालको जनसंख्या, संगठनात्मक क्षमता र सामुदयिक गतिबिधि कस्तो छ?
क्यानाडियन नेपालीका संघसंस्थाहरु र गैर आवासीय नेपाली संघ क्यानाडाको हाल सामुदायिक कार्यक्रमहरुमा कतिको ऐक्यबद्धता छ? जसले क्यानाडा नेपालबीच दुई पक्षीय दौत्य सम्बन्ध बढाउने दिशातिर केन्द्रीत छ।
विगतमा भएका कामको लेखा जोखा गर्नु, बिगतको अनुभवका आधार र हालको परिवर्तित अवस्थामा क्यानाडियन नेपालीहरुको बढ्दै गईरहेको सामुदायिक संगठनात्मक क्षमता, र सम्भाव्यता हेरी नेपाल क्यानाडा दौत्य सम्बन्ध बिकास गर्न सक्ने र दुवै देशको पारस्परिक हित हुने काम कुराहरुको निर्क्योल गर्न प्रयत्न गर्नु आवश्यक देखिन्छ।
क्यानाडियन नेपालीलाई नेपालमा गैरआवासीय नागरिकता ऐन, नियम बन्ने अवस्था हुँदै गर्दा नेपाल क्यानाडा दौत्य सम्बन्ध विकासमा क्यानाडियन नेपालीको भूमिका विषयक विचार गोष्ठीको महत्व अझ समय सान्दर्भिक देखिन्छ।
किनभने अब हामीहरु जो क्यानाडाको नागरिक भएका छौ। नेपालको पनि गैरआवासीय नागरिक भएका छौं। क्यानाडियन नेपालीहरुको मुख्य दुइटा उद्देश्यका पाटाहरु देखिएका छन् र जसमा पहिलो पक्ष हो क्यानाडामा नेपालीहरुको आफ्नो सामुदायिक एकता सांस्कृतिक पहिचान क्यानाडियन बहुसांस्कृतिक समाजमा स्थापित गर्दै पारिवारिक राम्रो आर्थिक ब्यबस्था बनाउनु हो।
दोस्रो पाटो हो जन्मभूमि। नेपालसँग अटुट सम्पर्क सम्बन्ध कायम राख्नु हो। यी दुई उद्देश्यहरुसँग सान्दर्भिक कार्यक्रम नेपाली डायस्पोराले गर्दै आएका छन्।
क्यानाडा आफैंमा बहुसांस्कृतिक बहुभाषिक देश भएकोले क्यानाडियन नेपालीले क्यानाडामा रैथाने जस्तै भएर नेपालसँग सधै सम्पर्क, सहयोग र सम्बन्ध राख्नुपर्नेछ।
क्यानाडाप्रतिको र नेपालप्रतिको दोहोरो भूमिका नै निभाउँन सक्छौ। जुन क्यानाडा सरकारले पनि अंगिकार गरेको नीति हो।
संसदीय प्रजातन्त्र, मानव अधिकार, लैगिंक समानता, खुल्ला बजार प्रणाली क्यानाडा र नेपाल दुवै देशका साझा मिल्दा कुरामान्यताहरु हुन्। क्यानाडा श्रोत साधन, बिज्ञान प्रबिधिमा सम्पन्न औधोगिक देश हो र बेलायतबाट अलग भएको र अमेरिकाको छिमेकी देश भए पनि क्यानाडाको नेपाललाई हेर्ने दृष्टिकोण आफ्नै छ।
नेपालका दुई ठूला छिमेकी देश भारत र चीनसँग क्यानाडाको अति राम्रो संस्कृतिक , ब्यापारिक , लगानी आदि क्षेत्रमा राम्रो सम्बन्ध छ।
नेपालको हित गर्ने कुरा क्यानाडामा धेरै छन्। क्यानाडाको चासोका कुरा नेपालमा कम छन्। तर क्यानाडियन नेपालीहरु नेपालको क्यानाडासँगको माग आवश्यकता बुझेका छन्। क्यानाडासँग के के कुरा कहाँ कहाँ छन्? तिनलाई कुन प्रयत्न गरेर नेपालको हितमा पार्न सकिन्छ त्यो पनि प्रयास गर्न सक्छन्।
नेपाल भू –परिवेष्ठितत, कम विकशित देश हो। तर सामाजिक संस्कृतिक, जैविक, विविधताको देश हो।
हामी क्यानाडियन सरकार र जनतालाई नेपाल र नेपालको प्राकृतिक श्रोत साधन र बिबिधता के के छ? नेपाल र क्यानाडा जनताहरु र सरकारलाई एक अर्कोप्रति फाइदा र चासोका साझा कुरा खोज्न सकिन्छ। ती कुरा प्राप्तिमा दुवै देश सहभागी भएर गराएर दुई पक्षीय सम्बन्ध बढाउन हामी क्यानाडियन नेपालीले भूमिका खेल्न सक्छौं।
हिजो आज हामीहरू क्यानाडाका बिभिन्न स्थानहरुमा सञ्चालन हुँदै आएका मेला, पर्व, प्रदर्शनीमा सहभागी हुँदै आउनुको साथै नेपाली मेला हिमाली मेला, बुद्ध जयन्ती, दीपावली, नयाँ वर्ष, दशैं, कार्यक्रमहरुमा अतिथि सहभागिता, जुलाई १ क्यानाडा दिवस, कार्यक्रमबाट पनि क्यानाडा नेपालको संस्कृतिक सम्बन्ध राम्रो बनाउन सहयोग पुगेको छ।
यस किसिमका कार्यक्रमले नै क्यानाडियन समाजमा परको नेपालप्रतिको सकारात्मक चासो बढेको पाइएको छ।
क्यानाडा नेपाल व्यापार संघ अस्तित्वमा आउने वातावरण, क्यानाडा नेपाल पर्वतारोहण प्रशिक्षण कार्यक्रम, क्यानाडा नेपाल खेल कार्यक्रमजस्ता कार्यक्रमलाई आगामी दिनमा अझ अग्रगतिमा ल्याउनसके दुई देशको बीच सम्बन्धको विकासमा रचनात्मक योगदान पुग्नसक्छ।
स्थानीय, प्रान्तीय, र संघीय तहको निर्बाचनमा हामीहरू क्यानाडाको जुन जुन निर्वाचन क्षेत्रमा बसेका छौं त्यही स्वयम्सेवी वा मतदाता भएर सहभागी हुँदै आएका छौं।
विभिन्न विश्व विद्यालयबाट उच्च शिक्षा प्राप्त नेपाली जस्तै इन्जिनियर, बन, कृषि, अनुसन्धान, चार्टर्ड एकाउन्टेन्ट, भान्सेलगायत बिबिध क्षेत्रमा अवसरको खोजीमा र १९९० पछि क्यानाडाको अध्यागमन नीति बुझेर मानवीय सुरक्षित बसाईको उद्धेश्यबाट पनि नेपाली क्यानाडा आएका हुन्।
नेपाली संस्कृतिक सामुदायिक संस्था जस्तै नेवा गुठि , मगर संघ , तमु , जनजाति, अर्कोतिर खेलकुदसँग बिभिन्न संस्था साथै, नेपालका मुख्य राजनीतिक दलका भातृ संस्था नेपाली जनसम्पर्क समिति, प्रवासी मञ्च पनि समुदायमा सक्रिय भूमिका निर्वाह गर्दैछन्।
क्यानाडियन नेवा गुठिले गरेको काम क्यानाडियन नेपाली समुदायमा नमूना मान्नुपर्छ।
नेपाल क्यानाडा दुई देश बीचको सम्बन्ध सरकारीस्तर र जनता-जनता बीच मजबुद बनाउन विगत दुई दशकदेखि क्यानेडियन नेपाली (नेपाली डायस्पोरा क्यानाडा) ले रचनात्मक, सकारात्मक भूमिका खेल्दै आएको छ।
आगामी दिनमा अझ बहुआयमिक अग्रगामी हुनेछ। नेपाल जस्तो देशले आफ्नो विदेश नीति डायस्पोरा उपयोग गरेर कम खर्चबाट बढी लाभ लिनसक्छ।
नेपाल सरकारले एउटा रणनीति नै बनाउन सक्नुपर्छ। जसले नेपाली डायस्पोरालाई नेपाल क्यानडासम्बन्ध विविध आयाम (व्यापारिक, आर्थिक, पर्यटन, सांस्कृतिक, विकास र राजनैतिक) मा आगामी दिनमा प्रेरणा दिन सकोस्।
क्यानाडाका लागि नेपाली अनौपचारिक दूतको जस्ता काम गरेका हुन्छन्। हरेक सामुदायिक संस्थाका हरेक गतिविधिले दुई देश बीचको सम्बन्धलाई प्रत्यक्ष्य वा परोक्ष्य रुपमा सकारात्मक प्रभाव पारको हुन्छ।
बाणिज्य दूतहरूले पनि गैर सरकारी क्षेत्रकै रूपबाट आफ्नो भूमिका निर्वाह गरेको हुन्छ। गैर आवासीय नेपाली संघ क्यानाडाले नेपाली सामुदायिक संघ संस्थासँग अवधारणा समझदारी स्मरणपत्र बनाई नेपाली राजदूतावाससँग सहकार्यको सोच अगाडि आउनु आजको आवश्यकता हो।
नेपाल-क्यानाडा दुई पक्षीय सम्बन्ध अग्र गतिमा लैजान हामी सबै नेपाली क्यानाडियनहरुको अर्थपूर्ण रचनात्मक सहभागिताको ऐक्यवद्धता हुन सकोस्।