उत्तर अमेरिकामा पर्ने क्यानडा रसियापछि संसारको दोस्रो ठूलो (पानीको सतहसमेत) मुलुक हो। क्यानडा नेपालभन्दा झण्डै ६८ गुणा ठूलो छ। यो मुलुक औद्योगिक राष्ट्रहरुको समूह जी–७, विकसित तथा औद्योगिकीकरणतर्फ उन्मुख मुलुकहरुको समूह जी–२०, नाटो, युएनओ, कमनवेल्थ आदिको सक्रिय सदस्य हो।
क्यानडाले समावेशी तथा उदारवादी राजनीतिक प्रणाली अंगीकार गरेको छ। त्यसैले यो समृद्व प्रजातान्त्रिक मुलुकका रुपमा चिनिन्छ। यहाँ नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तानलगायत १ सय ३० मुलुकका राजदूतावास छन्। यहाँको जनसंख्या ३ करोड ७२ लाख छ।
सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल–क्यानडाबीच सम्बन्ध प्रगाढ बन्दै आएको मानिन्छ। अहिले क्यानडामा झण्डै ४० देखि ५० हजार नेपाली बस्दै आएका छन्। नेपालीको संख्या बढ्ने क्रमसँगै द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन सन् २००९ मा अटोवामा नेपाली राजदूतावास स्थापना भएको थियो।
क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल आफ्नो कार्यकाल पूरा गरेर अर्को साता नेपाल फर्कंदैछन्। परराष्ट्र सेवामा झण्डै तीन दशक बिताइसकेका र फेरि परराष्ट्र मन्त्रालयमै फर्कंदै गरेका पोखरेल क्यानडालाई ‘नेपाल र नेपालीका लागि अथाह सम्भावना बोकेको मुलुक’ भन्न रुचाउँछन्।
स्वदेश फर्किन लाग्दै गर्दा सेतोपाटीले राजदूत पोखरेलसँग क्यानडा–नेपाल सम्बधका विविध पाटाबारे १३ प्रश्न गरेको थियो। प्रस्तुत छ, दुई देशबीचको विगत, वर्तमान, भविष्य मात्रै होइन अवसर, चुनौती, सम्भावनाबारे एकखाले चित्र आउने गरी उनै राजदूत पोखरेलसँग गरिएको प्रश्नोत्तरः
एकथरी मानिसले ‘क्यानडामा नेपाली राजदूतावास नै नचाहिने’ भनिरहँदा चार वर्षे कार्यकाल पूरा गर्नुभो, ती मानिसको भनाइ सही रहेछ या गलत?
खाडी मुलुकमा झैं मनग्गे कामदार नआएका र धेरै मानिसले प्रत्यक्ष अनुभव गर्ने गरी दोहोरो सम्बन्ध विकास नभई सकेकाले पहिले पहिले कतिपय मानिसले यहाँ राजदूतावासको औचित्यमाथि प्रश्न उठाउनु अनौठो थिएन होला। दोस्रो राजदूतका रुपमा चार वर्ष बिताएर फर्किनै लाग्दा भन्छु, अब त्यस्तो अवस्था छैन।
बृहत् अवसर भएको क्यानडाबाट नेपाल र नेपालीले फाइदा लिने हो भने यहाँ हाम्रो राजदूतावास हुनु आवश्यक छ। कूटनीतिक सम्बन्ध स्थापना भएकै ५५ वर्ष पुग्न लागेको छ। नेपालीको संख्या वर्षेनि बढ्दो छ। क्यानडाले नेपाललाई सहयोग गर्ने क्रम पनि निरन्तर छ। यस्तो अवस्थामा राजदूतावासै नचाहिने भन्ने कुरै हुँदैन।
क्यानडामा राजदूतावास नचाहिने भन्नु बुझाइको कमीले हो। अघि नै भने, क्यानडामा नेपाल र नेपालीलाई औधी सम्भावना छन्। ती हात पार्ने हो भने अझ दह्रो गरी हाम्रो भूमिका बढाउनुपर्छ। कसैबाट केही लिनु छ भने आफू पनि उत्तिकै दह्रो हुनुपर्छ। अनि मात्रै दिनेले पनि पत्याउँछ। मेरो कार्यकालमा धेरै सकारात्मक कुरा सुरु भइसकेका छन्। अब अझ अरु हुँदै जालान्।
राजदूतावासले क्यानडामा के के सेवा दिँदै आएको छ, अर्थात् राजदूतावास हुनु र नहुनुको फरक नागरिकले कसरी बुझ्ने?
क्यानडामा नेपाल सरकारको निर्णयबमोजिम ९ वर्षअघि नेपाली राजदूतावासको स्थापना भएको हो, जुन राजधानी अटोवामा रहेको छ। राजदूतावासले नेपाल र क्यानडाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार ,पर्यटन तथा लगानीका विविध पक्षमा काम गर्दै आएको छ। यहाँ फैलिएको नेपाली डायस्पोरासँग नजिक रहेर नेपाल र नेपाली भएकामा गर्व गर्दै भाषा, कला, साहित्य, संस्कृति आदि क्षेत्रमा हुने कार्यक्रममा सहयोग र सहकार्य गरिरहेको छ।
राजदूतावासबाट विभिन्न प्रयोजनले नेपाल जाने विदेशी तथा पर्यटकहरुलाई भिसा जारी गर्ने तथा नेपालीहरुलाई राहदानी नवीकरण गर्ने, ट्राभल डकुमेन्ट जारी गर्ने, कागजात प्रमाणीकरण गर्ने आदि काम हुन्छ। साथै, अन्य कन्सुलर सम्बन्धी सेवा पनि राजदूतावासमा उपलब्ध छन्। राजदूतावास छ र नै क्यानडा बस्ने नेपालीका माग, गुनासा नेपाल सरकारसमक्ष पुर्याइएको छ। नेपालमा रहेका नेपालीको क्यानडाप्रतिको चाहना यहाँका सरोकारवाला निकायसमक्ष पुर्याइएको छ। राजदूतावास नभएको खण्डमा यो सहज हुँदैनथ्यो।
अनि, क्यानडाले चाहिँ नेपालमा के कस्ता सहयोग गर्दैछ, महाभूकम्पपछि गरेको ठूलो सहयोगबाहेक नेपाललाई गरेका अरु सहयोग के कस्ता छन्?
महाभूकम्पलगत्तै क्यानडा सरकारले १० मिलियन डलरको आपतकालीन सहायता घोषणा गरेर नेपालप्रति सदासयता देखाएको थिए। साथै, क्यानेडियन सेना, निजामती कर्मचारी र प्राविधिकहरुको एउटा टोली नेपाल पठाएर भूकम्पपीडितलाई राहत र उद्धारमा खटाएको थियो।
पीडितको संख्या अधिक देखिएपछि क्यानडाले राहत रकम तुरुन्तै बढायो र २७ मिलियन पुर्यायो। पछि क्यानेडियन परराष्ट्र मन्त्रीले क्यानेडियन नागरिकलाई नेपाली भूकम्पपीडितका लागि राहत कोषमा रकम दान गर्न भनेपछि जम्मा सहयोग राशी झन्डै ५२ मिलियन पुगेको थियो। त्यसमा क्यानेडिन सरकारले पूर्वघोषणाबमोजिम दोब्बर बनाएर विभिन्न संघ–संस्थामार्फत नेपालमा खर्च गरिरहेको जनाएको छ।
क्यानडाले नेपालको आर्थिक–सामाजिक विकासमा सघाउन सन् १९६८ देखि सन् २००९ सम्म ४ सय ७० मिलियन डलर प्रदान गरिसकेको छ। सन् २०१५ को आम निर्वाचनपछि गठन भएको लिवरल पार्टीको सरकारले क्यानडाले प्रदान गर्ने सहयोग आर्थिक–सामाजिक पछौटेपन, गरिबी एवं मानव तथा आर्थिक सूचकाङ्कमा पछि परेको अवस्थालाई आधार मानी प्रदान गर्ने घोषणा गरेको थियो।
क्यानडाले अन्तर्राष्ट्रिय विकास सहायता नीतिमा पुनरावलोकन गरी गरिबी निवारण, समावेशी सरकार, महिला सशक्तिकरण तथा समानता एवं समावेशी विकास र जलवायु परिवर्तनलाई केन्द्रित गरी क्यानडाको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गर्ने नीति लिएको छ। हाल क्यानडाबाट विभिन्न चार संस्थामार्फत नेपालको विकासमा आर्थिक सहयोग हुँदै आएको छ। साथै, सन् २०२२ सम्ममा पूरा हुने ८४ मिलियन क्यानेडियन डलर बराबरका विभिन्न योजनाहरु क्यानेडियन तथा नेपाली गैर सरकारी संस्थाहरुबाट सञ्चालन भइरहेका छन्।
साथै, जलवायु परिवर्तन कोषको सहायता सूचीमा नेपाललाई समावेश गरिएको र नेपालले निर्धारण गरेको प्राथमिकताको आधारमा क्यानडा सरकारबाट प्रदान गरिने यस्तो सहयोगको लागि नेपाल योग्य रहेको क्यानडाको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले जनाएका छन्।
ट्रम्प शासनपछि नेपालीको रोजाई अमेरिकाभन्दा क्यानडातिर छ, तर नेपालीले रोजगारीका लागि कसरी क्यानडा आउने?
नेपालीलाई क्यानडा आउने विविध तरिका छन्। कोही स्थायी रुपमा बस्ने गरी परिवारै लिएर आउँछन्, कोही व्यापार व्यवसायलाई। कोही उच्च शिक्षाका लागि, कोही घुमफिरलाई। अरु मुलुक हुँदै घरेलु कामदारका रुपमा भित्रिने पनि छन्। निश्चित समय काम गर्न वर्क पर्मिट लिएर आउने पनि छन्। आएका जे जति छन्, ती सबै आफ्नै प्रयासमा हुन्। अहिलेसम्म सरकारी स्तरबाट नेपाली कामदार क्यानडा ल्याउन नसकिएको सत्य हो।
क्यानडाको कृषि र पशुजन्य उद्योगका लागि नेपाली कामदार ल्याउन केही छलफल भइसकेका छन्, नतिजा आउन चाहिँ बाँकी छ। राजदूतावासका तर्फबाट हामीले क्यानडाका श्रम सम्बन्धित निकाय र रोजगारदाता कम्पनीका प्रतिनिधिसँग पनि कुरा गरेका छौं। हेरौं, केही न केही नतिजा आउला।
क्यानडा आएर काम गर्न चाहने नेपाली असंख्य छन्, उनीहरुको त्यो चाहना पूरा होला? राजदूतावासले नेपाली कामदार ल्याउन के पहल गर्दैछ?
क्यानडामा वर्षेनि झन्डै ६ लाख हाराहारी विदेशी कामदार भित्रिन्छन्। नेपालीहरु सिधै नआई इजरायल, साइप्रस तथा खाडी मुलुकमा अनुभव हासिल गरेर हस्पिटालिटी र केयर गिभिङ क्षेत्रका आधिकारिक एजेन्टमार्फत क्यानडा आउने गरेका छन्। त्यसरी आउँदा ठूलो रकम खर्च हुन्छ। यो बाध्यता अन्त्य गर्न राजदूतावासले क्यानडा सरकारका सम्बद्ध पदाधिकारीहरुसँग भेटघाट गरी नेपालबाट कृषि, हस्पिटालिटी, केयर गिभिङ आदि क्षेत्रमा दक्ष र अर्धदक्ष कामदार ल्याउन अनुरोध गर्दै आएको छ।
यसक्रममा इमिग्रेसन रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा, इम्प्लोइमेन्ट एण्ड सोसियल डेभ्लपमेन्ट क्यानडा, क्यानेडियन हर्टिकल्चर र क्यानेडियन एग्रिकल्चर काउन्सिल जस्ता निकायका अधिकारीसँग भेटेर नेपाली कामदार ल्याउन आग्रह गरिएको छ। कृषि क्षेत्र उन्नत च्याउ खेती र मासु प्रशोधन उद्योगमा नेपाली कामदार ल्याउन सक्ने सरोकारवालाले बताएका छन्। क्यानडाको कृषि क्षेत्रमा हाल ५९ हजार कामदार अभाव रहेको बताउँदै सरोकारवालाले विदेशी कामदार दुई बर्षे करारमा ल्याउन सकिने जनाएका छन्। त्यसरी ल्याइने कामदार बी टु बी अर्थात् बिजनेश टु बिजनेश प्रक्रियाअन्तर्गत हुनेछन्। यसबारे राजदूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई अवगत गराइसकेको छ।
राजदूतावासकै कुरामा फर्कौं, चार वर्ष पनि थोरै समय होइन, तपाईंको कार्यकालमा गर्व गर्नलायक काम के के भए त?
कुटनीति त्यस्तो कुरा हो, जहाँ आजको भोलि नजिता नदेखिन सक्छ। फेरि राजदूतको काम भनेको दुई देशबीच कायम रहेको सम्बन्धलाई थप प्रगाढ बढाउँदै आपसी सहयोग आदान–प्रदानमा योगदान दिने हो। जसअन्तर्गत ती देशका सरकार प्रमुखबीच भेटघाट हुनु अर्थपूर्ण हुन्छ। त्यस अर्थमा मेरो कार्यकाल उपलव्धिपूर्ण रह्यो, किनकी २४ सेप्टेम्बर २०१८ मा न्यूयोर्कमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी ओली र क्यानडाका सम्माननीय प्रधानमन्त्री जष्टिन ट्रुडोबीच उच्चस्तरीय भेटवार्ता भयो।
नेपाल–क्यानडाबीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्चात प्रधानमन्त्रीस्तरमा भएको यो महत्वपूर्ण द्विपक्षीय भेटवार्ता थियो। भेटमा प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयहरुमा कुराकानी भएको थियो। भेटका अवसरमा दुबै देशका प्रधानमन्त्रीले नेपाल तथा क्यानडाका परराष्ट्र मन्त्रालयहरुबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो।
यसबाहेक, सानातिना थुपै्र काम भएका छन्। अन्टारियोको सड्बरी शहरको एउटा बहुसांस्कृतिक पुलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ, जहाँ संसारका सबैजसो राष्ट्रका झण्डा राखिएको थियो। नेपालको उच्चशिक्षामा डायस्पोराको भूमिका के कस्तो हुने भन्नेबारे राजदूतावासको सहयोगमा एउटा बृहत कार्यक्रम गरियो, जसमा नेपालीमूलका विद्धानदेखि सरोकारवाला थुप्रै संघ संस्थाको सहभागिता थियो।
सरकार प्रमुखहरुबीचको समझदारीपछि गठन भएको परामर्श संयन्त्रले क्यानडा–नेपाल सम्बन्धबारे के–के काम गर्यो?
संयन्त्रको पहिलो बैठक पोहोर अक्टोवरमै भयो। अटोवास्थित क्यानडाको परराष्ट्र मन्त्रालयमा त्यो बैठक भएको थियो। जसमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले र क्यानेडियन पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहायक उपमन्त्री डा. डोनाल्ड बोविसले गर्नुभएको थियो। त्यो बैठकमा नेपाल– क्यानडा सम्बन्ध पुनरावलोकन गर्नुका साथै आपसी हितका विषयमा छलफल भयो।
व्यापार, लगानी, पर्यटन, कृषि, इमिग्रेशन, शिक्षा, जलवायु परिवर्तन, प्रविधि हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य अघि बढाई नेपाल तथा क्यानडाबीचको सम्बन्धलाई थप सबल बनाउने सहमति भएको थियो। दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ता स्मरण गर्दै त्यस बैठकले भविष्यमा पनि त्यस्तै उच्चस्तरीय भ्रमणहरुको चाँजोपाँजो मिलाउने छलफल गरेको थियो। साथै, संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तराष्ट्रिय मन्चहरुमा सहकार्य गर्नेबारे पनि विचार साटिएको थियो।
द्विपक्षीय सम्बन्ध बलियो पार्न भनेरै दुई देशका सांसदवीच सहकार्य गर्न थालिएको थियो, अहिले के हुँदैछ?
क्यानडाका ५ दजर्नभन्दा धेरै संघीय सांसदहरुलाई भेटेर आग्रह गरेपछि क्यानडा–नेपाल संसदीय समूह सन् २०१६ अक्टोबरमा स्थापना भएको थियो। यसका लागि मैले एक बर्षभन्दा धेरै मेहनत गरेको थिएँ। यो संसदीय मैत्री समूह द्विपक्षीय सम्बन्ध सुमधुर बनाउने कार्यहरुमा केन्द्रित छ।
उच्चस्तरीय भ्रमणका अवसरमा भेटघाट तथा बैठकका माध्यमबाट नेपाल–क्यानडाबीच व्यापार, पर्यटन, लगानी आदि बिषयका सम्भावनाबारे छलफल हुने गरेको छ। यो समूहमा क्यानडाका २२ जना हाउस अफ् कमन्स र तीन सिनेट सदस्य गरी २५ सांसद छन्। नेपाली सांसदको टोली यता ल्याउने र क्यानेडियन सांसदको टोली नेपाल पठाउने विषयमा प्रयास भइरहेको छ।
उच्च शिक्षा अध्ययन गर्न क्यानडा आउन चाहने नेपाली विद्यार्थी धेरै छन्, उनीहरुका हितमा राजदूतावासले केही प्रयास गरेको छ छैन?
हो, झण्डै पाँच सय नेपाली विद्यार्थी क्यानडामा अध्ययनरत रहेको एउटा तथ्यांकले देखाएको छ। यो क्रम बर्षेनी बढिरहेको छ। टोरन्टो आसपासका कलेज र विश्वविद्यालयमा बढी र अरु प्रोभिन्सहरुमा पनि नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि आइरहेका छन्।
करिब डेढ बर्षअघि म यहाँको ‘प्रिन्स एड्वार्ड आइस्लैंड’ भन्ने प्रोभिन्स गएको थिएँ। त्यहाँ युनिभर्सिटी अफ् प्रिन्स एडवार्ड आइस्लैंडका पदाधिकारीसँग भेटघाट भयो। त्यसपछि नेपाली विश्वविद्यालयहरुसँग समन्वय गर्नेबारे पटक पटक कुरा भयो।
फलस्वरुप, गत डिसेम्बरमा युनिभर्सिटी अफ् प्रिन्स एडवार्ड आइस्लैंड र नेपालको त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं इन्जिनियरिङ कलेजवीच आपसी सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। यसको मतलब सुरुवात भइसकेको छ, अब अरु युनिभर्सिटीहरुलाई पनि नेपाली शैक्षिक संस्थाहरुसँग यसैगरी समन्वय गराएर शिक्षक विद्यार्थी आदान प्रदान गर्न, गोष्ठी, सेमिनारहरुमा सहभागी गराउन सकिन्छ।
नेपालमा हिमाल र पर्वतै पर्वतै छन्, क्यानडामा चाहिँ पर्वतारोहणमा मरिमेट्ने थुप्रै आरोही, उनीहरुमार्फत नेपालको पर्यटनमा सहयोग गर्नेबारे राजदूतावासले सोचेन?
सही हो, ८० जनाजति क्यानेडियनहरुले सगरमाथा आरोहण गरिसकेका छन्, कैयौंले अरु नेपाली हिमालको। त्यसैले यसबारे सोच्ने मात्रै होइन, थुप्रै कामहरु भइसकेका छन्। नेपालमा पर्यटनको प्रचुर संभावनाबारे क्यानेडियनलाई जानकारी दिने काम भइरहेको छ। राजदूतावास खुलेयता पर्यटन सम्बन्धी थुपै्र मेला, प्रदर्शनी, भेला, अन्तरक्रिया र गोष्ठी भइसकेका छन्।
सन् २०१७ देखि राजदूतावास क्यानडाका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाका यात्रा र पर्यटन स्तम्भकार एवम् फोटो पत्रकारहरुलाई १०-१२ दिनको नेपाल भ्रमण गराउन थालेको छ। भ्रमण सकेर फर्किएपछि उनीहरुले आफू कार्यरत सञ्चारमाध्यममा आफू घुमेको नेपाली गन्तव्यबारे लामो लेख प्रकाशित गरेका छन्। यसपल्ट पनि दुई पत्रकारले त्यसरी नेपाल भ्रमण गरेका थिए। परिणामस्वरुप क्यानडाबाट नेपाल जाने पर्यटकको संख्यामा वृछि हुँदैछ। सन् २०१७ को अन्त्यसम्ममा नेपाल घुम्ने कुल क्यानेडिन पर्यटकको संख्या १५ हजार नाघेको छ।
आइकाओले नेपाली उड्डयन क्षेत्रलाई नकारात्मक मानेको अवस्थामा त्यसलाई हटाएर अवार्ड दिलाउन योगदान दिनुभएको चर्चा चल्यो,कसरी?
क्यानडाको मन्ट्रियल भन्ने शहरमा आइकाओको प्रधान कार्यालय छ। यसैले संसारभरका हवाई क्षेत्रको अध्ययन र निगरानी गर्छ। त्यसक्रममा नेपाली उडृडयन क्षेत्र असुरक्षित भन्दै नकारात्मक सूचीमा राखिएको थियो। राजदूत नै आइकाओको स्थायी प्रतिनिधि हुने भएकाले त्यसलाई हटाई नेपाली उड्डयन क्षेत्र सुरक्षित भएको सन्देश दिन मैले सुरुबाटै प्रयास गरें। नेपालमा नागरिक उड्डयन प्राधिकरणले पनि सुधारका धेरै काम गर्यो। अन्ततः प्रयास सार्थक भयो र आइकाओले नेपाली उड्डयन क्षेत्रलाई सुरक्षित मान्दै ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ दियो। जुन अवार्ड लिन तत्कालीन पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारी स्वयं क्यानडा आएनुभएको थियो।
क्यानडामा बस्ने नेपालीको अवस्था कस्तो पाइयो, उनीहरुका पक्षमा राजदूतावासले के कस्ता काम गर्दैछ?
क्यानडामा ४० देखि ५० हजारको हाराहारीमा नेपाली रहेको पाइन्छ। त्यसबाहेक नेपालीभाषी भुटानी शरणार्थी पनि ७ हजार जति छन्। प्रायः सबै प्रान्त र शहरमा नेपाली फैलिइसकेका छन्। विभिन्न पेशा व्यवसायमा आबद्ध नेपालीहरु गैर आवासिय नेपाली संघ (एनआरएनए) लगायत अन्य नेपाली सामाजिक संघ संस्थासँग आवद्ध भएको पाइन्छ। नेपाली राजदूतावासले अभिभावकीय संस्थाको रुपमा नजिक रहेर उनीहरुस“ग काम गरिरहेको छ।
नेपाली समुदाय तथा संघ–संस्थाहरुलाई एकताबद्ध गर्ने तथा ती संस्थाका कार्यक्रमलाई एकीकृत तवरले सञ्चालन गर्न अभिप्रेरित गर्ने काम भइरहेको छ। क्यानडामा नेपाली समुदायको बलियो उपस्थिति रहेको सन्देश दिने सन्दर्भमा राजदूतावासले गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ–संस्थासँग आवश्यक सहकार्य गर्दै आइरहेको छ।
क्यानडामा नेपालको भाषा, संस्कृति, कला, गीत, संगीत, नृत्यको प्रवद्र्धन गर्न मात्र नभई गैरआवासीय नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र प्रविधि मार्फत नेपालको आर्थिक समाजिक विकासमा योगदान पुर्याउन राजदूतावासले भूमिका निर्वाह गरेको छ। यहा“ सक्रिय नेपाली संघ संस्थावीच विगतमा जस्तासुकै तीता मिठा सम्बन्ध रहेको सुनिए पनि अहिले त्यो सुमधुर बन्दै गएको छ। मेरै बिदाइमा पनि टोरन्टो र अटोवाका थुपै्र संघ संस्थाहरुले सामुहिक कार्यक्रम गरेर त्यसको नमुना देखाए। यो खुसीको कुरा हो।
नेपाल सरकारले काठमाडौंमा यसै साता अन्तराष्ट्रिय लगानी सम्मेलन गर्दैछ, राजदूतावासले यसमा क्यानडाको प्रतिनिधित्व गराउन के गर्यो?
यही मार्च २९–३० मा हुने लगानी सम्मेलनमा क्यानडाबाट पनि प्रतिनिधित्व हुने छ। हामीले सरोकारवाला व्यक्ति, निकाय, उद्योगी, व्यापारी र प्रतिष्ठानलाई बेलैमा अनुरोध गरेका थियौं। कतिपय क्यानेडियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्। उनीहरुले नेपाली बजारको बस्तुस्थिति बुझ्ने र जनसम्पर्क बढाउने काम गरिरहेका छन्।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पछिल्लो तथ्यांकअनुसार क्यानडा–नेपाल बीचको द्विपक्षीय व्यापार १ सय २५ मिलियन डलर बराबरको छ। क्यानडाबाट हवाइजहाज, यसका पाटपूर्जा, केमिकल्स, मेशिनरी र केही कृषि सामाग्री नेपाल निर्यात हुन्छन्। उताबाट गलैंचा, तयारी पोशाक, पश्मिना, हस्तकला सामग्री, चिया, कफि तथा हर्वल तेल आदि क्यानडा ल्याइन्छन्।
दुई देशबीच व्यापारको आयतन थोरै देखिन्छ। अल्पविकसित मुलुकको हैसियतले नेपाली वस्तुहरु क्यानडाको बजारमा भन्सारबिनै निर्यात हुन सक्ने भए पनि नेपाली वस्तुको निर्यातमा बढेको छैन। यसलाई बढाउन राजदूतावासले क्यानडाको ट्रेड फेसिलिएसन कार्यालय र टोरन्टो, मन्ट्रियल, क्याल्गरी र भ्यान्कुभरमा रहेका नेपाली अवैतनिक महावाणिज्यदूत र वाणिज्यदूतहरुस“ग समन्वय गर्दै आइरहेको छ।