नजिकिँदै गइरहेको तीज मनाउन अहिले क्यानडामा महिलाहरुलाई भ्याइनभ्याइ छ । तीजको रन्कोले छपक्कै छोपेपछि गएको हप्तान्तमा नेपाली बस्ति भएका क्यानडाका कतिपय सडक समेत राताम्य देखिए। रातो साडी, चुरा, पोते, जन्तर तथा नौगेडिमा सजिएर हौसिँदै हिँडिरहेका नेपाली चेलिहरुलाई देख्दा कतिपयलाई लाग्थ्यो क्यानडामै “मिनि नेपाल” छ ।
गत शनिबार प्रित प्यालेस बैँकट हल, मिसिसागा वरपरको दृष्यले यस्तै बताइरहेको थियो ।
नेपलिज क्यानेडियन हेरिटेज सेन्टर (एनसिएचसी) ले सँधै झै यस वर्ष पनि गत शनिबार तीज कार्यक्रम आयोजना गर्यो । क्यानडाका तीज पार्टीहरूमा हेरिटेजले गर्ने तीज पार्टी सबैभन्दा ठूलो मानिन्छ । संस्थाका अध्यक्ष राम पौडेलका अनुसार पार्टीमा ५ सय भन्दा बढीको सहभागीता थियो। उनी थप्छन् ‘कार्यक्रम हल बरपरको दृष्यले मिनि नेपालकै झल्को दियो।’
त्यसो त क्यानडामा गएको हप्तान्त नेपाली महिलाहरुका लागि निकै ब्यस्त रह्यो । मिसिसागामा मात्र होइन टोरोण्टो, अटोवा जस्ता नेपालीहरुको बस्ती रहेका शहरहरुमा पनि नेपालीहरुलाई तीज पार्टीमा सहभागी हुने चटारो थियो ।
ब्राम्टन निवासी देवी न्युरेलाई शनिबार २ बटा पार्टी भ्याउनु थियो । बिहान ११ बजे नै रातो पोशाकमा सजिएकी उनी २ बजे मिसिसागाको तीज पार्टीमा जानु थियो । मिसिसागामा आफन्तसँग तीज मनाएपछि उनलाई नेपलिज क्यानेडियन हेरिटेज सेन्टरले आयोजना गरेको पार्टीमा सहभागी हुने हतारो थियो। ‘नेपालमा हुँदा यति धेरै तीज मनाइएको थिएन तर क्यानडामा १० दिन भैसक्यो नजिकका संगीहरु मिलेर संगै खाने र नाच्ने क्रम जारी छ,’ उनले भनिन्।
क्यानडाको तीजमा रमाइरहँदा नेपालका बाढीपीडितहरुलाई भने उनीहरुले भुल्न सकेनन् । एकातिर तीज पार्टीमा छमछमी नाच्दै पनि थिए भने अर्को तर्फ बाढीपीडितको सहयोग संकलनमा व्यस्त देखिन्थे।
एन आर एन क्यानडाले गत शुक्रबार साँझ क्यानडाको राजधानी अटोवामा आयोजना गरेको तीज कार्यक्रममा यस्तै देखियो । कम खर्चमा पार्टी सम्पन्न गरि बचेको रकम बाढीपीडितलाई राहत स्वरुप पठाउने उद्धेश्यले अटोवाका महिलाहरुले घरबाटै विभिन्न परिकार बनाएर ल्याएका थिए। नेपाली परिकार संगै तिजको दर खाए अनि नाच गान पनि गरे।
१ सय ७० जनाको सहभागिता रहेको पार्टीमा ५ सय ५० क्यानेडियन डलर संकलन गरे। उक्त रकम एन आर एन क्यानडाको बाढीपीडित कोषमा जम्मा गरेको एन आर एन क्यानडाका उपाध्याक्ष रमेश बानियाँले जानकारी दिए। “उद्धेश्यका लागि सेलिब्रेसन’ नाम दिइएको पार्टीका लागी सरस्वती सुवेदी, चिजु गौतम, रत्ना शर्मा लोहनी, संगीता राउत तथा सूचीता दवाडीको बिशेष सक्रियतामा सेल रोटी, खिर, अचार तथा अन्य परिकारहरु बनाइएको थियो।
क्यानडामा हामीले तिज मनाए पनि नेपालमा बाढीपीडितको पीडा भुल्न नसकेका कारण सहयोग संकलनमा जुट्नु परेको सहभागीको भनाई थियो।
यता गत शनिबार साँझ नेपलिज क्यानेडियन वुमन एसोसिएसन (एनसिडब्लुए) ले टोरोण्टोमा गरेको तिज पार्टीमा पनि बाढीपीडितका लागि सहयोग संकलन गरियो। नेपालीहरुको बाक्लो बस्ती रहेको टोरोण्टोको स्कारब्रो डाउटाउन लगायतका क्षेत्रबाट ठूलो संख्यामा महिलाहरुको उपस्थिति रहेको सो पार्टीमा सहयोगका लागि बक्स राखिएको थियो। नेपालीहरूको पीडामा हामी केही नगरी बस्न सक्दैनो संस्थाका सल्लाहाकार गोपाल भण्डारी भन्छन् ‘कुनै न कुनै रूपमा सहयोग संकलन कार्य जारी छ।’
क्यानडामा विशेष गरी पार्टीहरू हप्तान्तमै हुने गर्दछन्। हप्ताभरि काम गर्नुपर्ने भएकाले नेपाली चाडपर्वहरू मनाउन हप्तान्त नै रोज्ने चलन छ। नेपालमा चाड पर्वको तिथिमिति जहिले भए पनि यहाँ भने कि त नेपाली पर्वको अघिल्लो हप्तान्त या त पछिल्लो हप्तान्त रोज्ने गरिन्छ। यस वर्ष पनि नेपालमा आउँदो बिहिबार तीज परे पनि क्यानडामा भने गएको हप्तान्तमै मुख्य शहरमा तीज पार्टी गरियो।