सातौं सविधान दिवस कोपनहेगनमा पनि मनाइएको छ। नेपाली राजदूतावास डेनमार्कले एक कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।
विगतका वर्षमा अन्य देशका कुटनीतिक क्षेत्र, डेनमार्क सरकारका प्रतिनिधी, डेनिस नागरिक र अन्य नेपालीको बाक्लो सहभागीमा भब्य कार्यक्रम गरी संविधान दिवस मनाइने गरिन्थ्यो ।
यसपालि भने सामान्य तवरले मनाएको छ। कार्यबाहक राजदूत तिर्थ अर्यालले जनताको लामो संघर्षले संविधान बनेको बताउँदै संविधान दिवसको शुभकामना दिए ।
‘नेपाली जनताको लामो संघर्षले संविधान बनेको हो, यस दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु,’ अर्यालले भने ।
सो कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीको शुभकामना सन्देश सुनाइएको थियो ।
डेनमार्कमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई उत्कृष्ट संविधानकारुपमा कतिपयले ब्याख्या र विश्लेषण गर्ने गर्छन । भने मधेसवादी राजनीतिक पार्टी तथा कतिपय नागरिक समाजले भने संसोधन हुनुपर्ने माग गर्दै आएका छन् ।
यहि संविधानले गैर आवासीय नेपालीलाई ‘गैर आवासीय नेपाली नागरिकता’ दिने परिकल्पना समेत गरेको छ । तर, शुरुवात भने अझै भएको छैन ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको बताइन्छ ।
लोकतन्त्र प्राप्ति भएपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो । ४ वर्षसम्म संविधान बन्न नसकेपछि दोश्रो पटक फेरी संविधान सभाको निर्वाचन गरि २०७२ सालमा संविधान जारी गरिएको थियो । त्यसपछि मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र शुरु भएको हो ।