मेरो सामाजिक सञ्जालको सक्रियताको उपज होला सायद नेपालबाट प्लसटु पास गरेका र अमेरिका, अस्ट्रेलिया जाने निवेदन दिएर थाकेकाको मेरो म्यासेन्जरमा प्रायः अपरिचित भाइ-बहिनीको यो प्रश्न झुल्कने गर्छ।
यसको उत्तर म के दिऊ? डेनमार्क आएर राम्रो गर्ने पनि धेरै छन्, अनि अत्ति बिग्रेर खराब भएको उदाहरण पनि म सँग छन्।
म प्रायः यी प्रश्नमा अनुत्तरित नै बसिदिन्छु। अंग्रेजीमाभन्दा इग्नोर।
त्यसो त धेरै नेपाली डेनमार्क भित्रिने सजिलो माध्यम विद्यार्थी भिसा नै हो।
अहिलेसम्म त डेनमार्क आउँदा ठिकै थियो। मिहेनत र भाग्य दुवैले साथ दिए यहाँ राम्रै थियो। तर अब मिहेनत र भाग्यले पनि करिब करिब हात खुट्टानै छाडेको आभास हुँदैछ।
यस्तो कसरी भयो त? वर्षेनी परिवर्तन हुने अध्यागमन सम्बधि यहाँको कानून। गएको डिसेम्बर १०, २०१५ देखि लागू हुनेगरि भएको परिवर्तनमा सबैभन्दा महत्वपूर्ण परिवर्तन विद्यार्थीलाई ५ वर्षे अध्ययन र भाषा सम्बन्धि सामान्य परीक्षा पास गरेपछि दिइने पर्मानेन्ट रेसिडेन्सी कार्ड सदाको लागि अन्त्य गरिएको छ।
त्यतिबेला देखिनै विद्यार्थीले कुनै पनि हालतमा पर्मानेन्ट रेसिडेन्सी (पिएआर) पाउने थिएनन् ता पनि आफ्नो सिमित कामको आम्दानी र डिपेनडेन्टको आम्दानीले जसोतसो राम्रो नै छ भन्ने स्थिति थियो।
यो त पुरानो नियम हो यसमा निकै परिवर्तन गरेर यहाँको सरकारले विदेशीका निम्ति केही गिने चुनेका कोर्षबाहेक अंग्रेजी माध्यमबाट पढाइने सम्पूर्ण पाठ्यक्रम हटाएको छ।
सन् २०२२ जनवरीदेखि लागू हुनेगरि केही डेनिस युनिभर्सिटीबाहेक धेरै विदेशी विद्यार्थी लिने ब्यापारिक कलेजमा पढ्न आउने विद्यार्थीले अबदेखि न काम गर्ने अनुमति पाउँछन् न त डिपेन्डेन्टमा आफ्नो सहयात्री नै ल्याउन पाउँछन्।
यो विधयेक संसदमा पेश भएको छ। र पास हुने क्रममा छ। यदि पास भयो भने नयाँ विद्यार्थी आउने क्रम लगभग रोकिनेछ। र यहाँका विद्यार्थीलाईसमेत निकै ठूलो दबाब हुने छ।
त्यसैले भिसा प्राप्त भइसकेका र प्राप्त हुने लाइनमा बसेकाले पहिलेनै मन दह्रो पारेर म चुनौतीको चाङ्गमा जाँदैछु र सबैभन्दा ठूलो चुनौती आर्थिक नै हो भन्ने बुझेर सो को ब्याकअपसहित आउनु राम्रो हुन्छ।
त्यसो त नबुझिकन यता आउने, जसरी भए पनि बिदेस जान्छु भन्ने र कन्सल्टेन्सीको चिप्लो कुरामा फसेर यता आउन लाखौ खर्च गर्ने नेपालीहरू यहाँको पढाई बीचमै छोड्न बाध्य छन्।
एकातिर महँगो डेनमार्क बसाई र अर्कोतिर अध्ययन पछि हात लाग्यो शून्य हुने परिस्थितिले डेनमार्क बसाइ, खै के? खै के? जस्तो भएको छ।
वर्षेनी परिवर्तन हुने अध्यागमन सम्बधि यहाँको कानूनलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ डेनमार्कले परिवर्तित अध्यागमन तथा कानुनी समस्याका बारेमा परामर्श तथा अन्तरक्रिया वर्षेनी गर्दै आएको छ।
सन् २०११ देखि सुरू कार्यक्रममा गत शनिबार डेनमार्कमा बसिरहेका नेपाली विद्यार्थी, ग्रीनकार्ड र अन्य भिसामा बसिरहेका नेपालीले भोग्नुपरेका अड्चन तथा समस्याका बारेमा अधिवक्तासँग निशुल्क: परामर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कानुनी परामर्श डेनिस अध्यागमन सम्बधी अधिवक्ता एजक्राम्पले दिएका थिए |
कार्यक्रममा परिवार पुनर्मिलनको प्रक्रिया, ग्रीनकार्ड नविकरण तथा डेनमार्कमा प्रचलित स्नाकोत्तर पास गरेपछि दिइने रेसिडेन्सी कार्ड र डेनिस पासपोर्टका लागि आवेदन दिँदा परिवर्तन भएका प्रकियाको बारेमा अधिवक्ता एज् ले सहभागीलाई जानकारी गराएका थिए।
डेनमार्क आउने नेपाली विद्यार्थीको ट्रेन्ड
पहिलो कुरा त कन्सल्टेन्सीले डेनमार्कको भिसा अरू भिसा जस्तो होइन यो सेन्जेन भिसा हो। जुन भिसाले सेन्जेन २६ देशमा जान आउन मिल्छ, यदि डेनमार्कमा अप्ठ्यारो परे अन्यत्र जाँदा हुन्छ। अहिले छिर्नुस फेरि पछि यो अवसर पनि आउँदैन भनेर फकाउने गरेको पाइन्छ। यो बिल्कुल गलत हो।
ठिकै छ २६ देश त जान पाइन्छ तर गएर गर्ने के? अन्त गएर पनि केही हुँदैन झन अन्यौल, दुःख पीडा र अन्त्यमा डिप्रेसन नै पाइने हो।
यो त लासामा सुन छ मेरो कान बुच्चै भने बराबर हो। कुरो घुमाएर गरौं या सिधा - यता आएपछि अति धैर्य भएका, नेपालमा दह्रो आर्थिक अवस्था भएका, पढाईमा पनि तेज र जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्ने केही विद्यार्थी मात्र हुन् डेनमार्कमा टिक्ने। अरू सबैको गन्तब्य पोर्चुगल नै हो।
रमाइलो गर्न पाइन्छ र हुन्छ भन्ने नसोच्दा नै ठिक होला। ठूला ठूला बिल्डिङ, बगैचा र समुद्रकोको किनार वरीपरी उभिएर कालो चस्मा लगाएर फोटो खिच्न, सेल्फी हान्न र फेसबुक लाइभ गर्दै नेपाल बस्नेलाई लोभ्याउन चाही कसैले रोक्दैन।
डेनमार्क मात्र किन युरोप छिरेका कोही पनि चाहे ती विद्यार्थी भिसामा हुन् वा भ्रमण भिसामा, सभा समारोहको भिसा होस् वा नेताको पछि लागेर आएका तथा दलाललाई मोटो रकम बुझाएर युरोपका विभिन्न देशमा आएका अधिकांशको अन्तिम निर्णय पोर्चुगल जानेनै हो। सबैतिरको असफलताको गन्तब्य पोर्चुगल नै हो।
पोर्चुगलनै किन?
युरोपका अन्य देशमा विद्यार्थी भिसा र कामदार भिसाबाहेक अन्य भिसा प्रायः तीन महिनापछि गैर कानुनी हुन्छन् र त्यसपछि हिँडडुल गर्न नै असम्भव भइदिन्छ। तर पोर्चुगल छिरेपछि त्यहाँका केही कानुनी प्रावधान पुरा गरेपछि सरकारले बस्ने र काम गर्ने अनुमति दिन्छ।
यूरोपमा सबैभन्दा कम ज्यालादर भएको मुलुक हो पोर्चुगल। पोर्चुगल सरकारले प्रकाशित गरेको एक अध्ययन रिपोर्ट अनुसार वार्षिक सत्तरी हजारभन्दा बढी आप्रवासीलाई स्थायी बसोवासको व्यबस्था गर्न नसके सन् २०६० सम्ममा जनसंख्याको वृद्धिदर माइनसमा जाने देखायो। त्यसैले उसले आप्रवासीको बसोबासलाई सहज बनाउने नीति एक पछि अर्को गर्दै सार्वजनिक गर्यो।
यहाँका केही कानुनी प्रक्रिया पुरा गरेर वैधानिक भएको ५ वर्षमा पोर्चुगलको नागरिकनै हुन् पाइन्छ अर्थात् यहाँको पासपोर्टको लागि नै योग्य भइन्छ। पोर्चुगल पासपोर्ट पाएपछि यहाँबाट अधिकांश आप्रवासी सेन्जेन मुलुक तिर फेरि नयाँ जिन्दगी सुरू गर्न पलायन हुन्छन्।
युरोपको हरेक देशको आ-आफ्नो भाषा छ। नयाँ मुलुक, नयाँ भाषा फेरि सुरू हुन्छ। अनि फेरि सुरू हुन्छ दुर्गतिका दिनहरू।
जता गए पनि काम उही थ्रिडी मजदुरी नै हो पैसा मात्र अलि बढी हो। अनि पढाई, भविश्यमा यो बन्छु र ऊ बन्छु भनेर देखेको सपना - मान्छे टुट्न केही बेर लाग्दैन दुखै दुःख कहिलेसम्म? मान्छे एक पछि अर्को दुःखमा फस्दै जान्छ। जवानी रितिन्न्छ दुःखले यतिसम्म पेल्छ कि, मज्जाले निन्द्रा पुग्ने गरि कहिले सुत्न पाउछु होला भन्ने एक मात्र सपना हुन्छ। अब मेरा भाइ बहिनी तपाई आफैं आफ्नो निर्णय गर्नुहोस् डेनमार्क पढ्न आऊ कि नआऊ?
पोर्चुगल पनि अब सहज र सुरक्षित छैन। आप्रवासीको संख्या बढेर अपराधका घटना दैनिक घटिरहेका छन्। आफ्नै समाजमा ठगी, लुटपाट धोकाजस्ता घटनाले नेपाली समाजमा नै हत्या जस्तो जघन्य अपराधमा समेत मुछिँदैं गइरहेको पछिल्लो तथ्यांकले देखाउँछ।