डेनमार्कले पनि कोभिडको लागि तेस्रो अर्थात् बुस्टर डोज दिने तयारी गरिरहेको छ।
डेनमार्क सरकारद्वारा स्थापित एक विशेषज्ञ समूहले हालै कोभिड १९ को स्थितिबारेमा आकस्मिक रणनीतिको घोषणा गरेको छ।
जस अनुसार डेनमार्कले कोविडलाई माहामारी रोगबाट सामान्य रोगको श्रेणीमा राखेको छ र १० सेप्टेम्बरदेखि लगभग सबै प्रतिबन्ध हटाइसकेको छ। यसबाहेक, डेनमार्कको विशेषज्ञ समूहले कोभिड १९ को बिरूद्ध लामो अवधिको रणनीतिले महामारी नियन्त्रण, अर्थव्यवस्था र सार्वजनिक स्वास्थ्यको बीच बच्नको लागि सन्तुलन कायम गर्ने नीति सिफारिस गरेको छ।
डेनमार्कमा सबै किसिमका प्रतिबन्ध हटाएपछि नयाँ र सम्भावित रूपले धेरै चिन्ताजनक भाइरस भेरियन्टहरू देखापर्नसक्ने हुनाले आउँदो जाडो महिनामा विशेष सतर्कता अपनाउनसमेत भनेको छ।
अक्सफोर्ड विश्वविद्यालयका भाइरोलोजीका प्राध्यापक समूहका सदस्य एस्ट्रिड इभर्सनलेका अनुसार डेनमार्कले पनि चिन्ता लिनुपर्ने कारण छन्। किनकि, नयाँ रूपहरू डेनमार्क बाहिर धेरै हुनसक्छ, जसले डेनमार्कमा पनि सार्वजनिक स्वास्थ्य चुनौती खडा गर्न सक्छ।
डेनमार्कको स्वास्थ्य मन्त्रालयले गत मंगलबार एक विज्ञप्ति जारि गर्दै भनेको छ, ‘अब छिट्टैनै सरकारले चार विशिष्ट समूहलाई बुस्टर डोज प्रदान गर्नेछ। जसमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक, स्वास्थ्य सेवा कर्मचारी, उच्च जोखिम समूहमा रहेका मानिस र एउटा मात्र खोप लिएका जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाईएका मानिस पर्छन्।
हुनत, डेनमार्कले यो बुस्टर डोजको प्रक्रिया यस अघिनै सुरु गरिसकेको छ। केयर होममा बस्ने व्यक्तिका साथै विशेष गरी कमजोर प्रतिरक्षा प्रणालीसँग जुधिरहेका मानिसलाई पहिले नै यो डोज दिइँदै आइएको छ। डेनमार्कले आफ्ना लगभग ८० प्रतिशत कोभिडको पूर्ण मात्रा खोप दिएसकेको छ।
अमेरिकाले मोर्डेना वा फाइजरको दोस्रो खोप लगाएको आठ महिना पुगेका जुनसुकै उमेर र स्वास्थ्यस्थितिका मानिसलाई बूस्टर डोज लगाउन भनिसकेको छ भने यूएईको दुबईमा उच्च जोखिम समूहका ब्यक्तिलाई दोस्रो मात्रा लगाएको तीन महिना र अरू मानिसलाई ६ महिनापछि बूस्टर डोज लगाउन अनुरोध गरेको छ।
इजराइलले दोस्रो खोप लगाएको पाँच महिना पुगेका ४० वर्षमाथिका सबै नागरिकलाई बूस्टर डोज दिँदै आएको छ।
यूरोपमा फ्रान्स र जर्मनीलगाएत अधिकांश देशले सेप्टेम्बरबाट बूस्टर डोज दिइरहेका छन् भने बेलायतले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।
डब्ल्यूएचओले विकसित देशका सरकारलाई कोभिड-१९ विरूद्धको बुस्टर डोज सुरु नगर्न वा रोक्न अनुरोध गरिरहेको छ। उसले विश्वको जनसङ्ख्याको ठूलो संख्याले खोप नपाउँदासम्म बूस्टर डोज दिनु नैतिकता नहुने भन्दै आइरहेको छ।
त्यसो त, बूस्टर डोजका पक्ष र बिपक्षमा वैज्ञानिक प्रमाण र तर्कहरू प्रस्तुत गरिरहेका छन्। यो आवश्यक छ वा छैन उपयुक्त प्रमाण अहिलेसम्म पाइएको छैन । कतिपय स्वाथ्य वैज्ञानिक बुस्टर डोज आवश्यक भए पनि दिने समय आइनसकेको धारणा ब्यक्त गर्छन्।
विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक तथा महामारीविज्ञ माइक रायन रायनले बुस्टर डोजको बिरोध गर्दै भनेका छन्, ‘केही मानिस डुब्ने निश्चित भइसकेका छन्। तर तिनीहरूको विचार नगरी यसअघिनै लाइफ ज्याकेट पाइसकेका मानिसलाई पुनः दिने योजना बनाउनु राम्रो होइन। यसले सबैलाई डुबाउनेछ।’
उनले दिनप्रतिदिन परिवर्तन भइरहेका कोरोना भाइरसका डेल्टा, बीटा, गामा र अल्फा जस्ता भेरिअन्टको बारे कुरा गर्दै यस्तो बताएका हुन्।
अविकसित तथा निम्न आय भएका विश्वका धेरै मानिसले कोभिड खोपको एक मात्रा पनि नपाएको अवस्थामा दुई खोप पाइसकेका व्यक्तिलाई बूस्टर डोज दिनू ‘अनैतिक’ हुने स्पस्ट धारणा विश्व स्वास्थ्य सङ्गठनले व्यक्त गरिसकेको छ।
किन आवश्यक मानियो त बुस्टर डोज
दोस्रो कोरोनाको खोप लगाइसकेपछि पनि फेब्रुअरीदेखि जून बीचमा इन्डोनेशियामा कम्तीमा २० जना डाक्टर र १० नर्सको मृत्यु भयो। यो समाचार आएपछि विभिन्न देशका स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षित भयो। विश्वको अन्य देशमा पनि यस्ता केही घटना देखिए।
हाल आएर सबै जस्तो देशले आ-आफ्ना देशमा लगाइएको प्रतिबन्ध खुल्ला गरिसकेका छन्। विश्वभरिनै लगभग यात्राको प्रतिबन्ध हटिसकेको छ जसबाट कोरोनाका नयाँ भेरिअन्ट डेल्टा, बीटा, गामा, अल्फाजस्ता विश्वभरिनै फैलेने क्रम बढ्दो छ।
यो सँगै ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा अग्र भागमा रहेर काम गर्ने कर्मचारी उच्च जोखिम रहेको देखिएकोले विश्वभरिनै बुस्टरडोजको आवश्कता महसुश गरिएको हो।
गत सोमबार अमेरिकी राष्ट्रपति जो बाइडनले पनि राष्ट्रपति निवास ह्वाइट हाउसमा कोभिड खोपको बूस्टर डोज लगाएर ६५ वर्षमाथिका अमेरिकी नागरिकको लागि बुस्टर डोजको सुरूवात गरेका थिए।