कोपनहेगन, फागुन ९
आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ किताबको विमोचन र परिचर्चा कोपनहेगनमा भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टरले गरेको कार्यक्रममा डेनमार्कका लागि नेपाली कार्यवाहक राजदूत तीर्थराज अर्यालले किताबको विमोचन गरे ।
‘विश्वको आर्थिक इतिहासलाई नेपाली आँखाबाट हेर्ने प्रयास स्वरूप यो बुक जन्मेको हो,’ लेखक पौडेलले भने, ‘परदेशको व्यस्तताका बावजूद समय मिलाएर लेखेको हुँ।’
सुमेर सभ्यताकै शुरुवातदेखि सिलिकन भ्याली सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमाञ्चक आर्थिक परिघटनाहरु किताबमा समावेश गर्ने कोसिस गरेको उनले बताए।
म्याग्दीमा जन्मिएर हाल डेनमार्कमा परिवारसहित बस्दै आएका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविद्यालय स्वीडेनबाट अर्थशास्त्र इतिहासमा स्नातकोत्तर गरेका छन्। बुकहिल प्रकाशन गृहले किताब हालै बजारमा ल्याएको हो ।
किताबको परिचर्चा गर्दै ३ वक्ताहरुले विश्वको अर्थ-राजनीति तथा सामाजिक परिघटनाको दस्तावेज़को रुपमा किताब लेखिएको भन्दै आर्थिक क्षेत्रमा चासो राख्नेहरुले पढ्न छुटाउनै नहुने बताए।
नेपाली समाज डेनमार्कका अगुवा उदयराज गौतमले नेपाली भाषामा लेखिएको विश्वको आर्थिक इतिहास हेर्ने गतिलो किताब भएको बताए। ‘अरु भाषामा त धेरै लेखिएको छ तर नेपालीबाटै आर्थिक इतिहासका महत्वपूर्ण परिघटना जसले संसारलाई यहाँसम्म ल्यायो यो किताबमा समेटिएको छ,’ उनले समिक्षा गर्दै भने ।
गौतमले किताबको नाम आर्थिक भए पनि विश्वको राजनीति तथा समाजिक विकासको आरोह तथा अवरोह मिठो शैलीमा लेखिएकाले चासो हुनेले पढ्दा बेफाइदा नहुने बताए।
डा.लक्ष्मण घिमिरेले किताबमा चरम रुपमा विकाश भैरहेको विश्वको आर्थिक अवस्थाले धनीलाई झन धनी र गरिवलाई झन तल झार्दै लगेको व्याख्या उत्कृष्ट तवरले गरिएको बताए ।
‘पुँजीवादले विकास त तिव्र रुपमा गरेको छ र यसका बेफाइदाहरु पनि यस्ता छन् भनेर कितावमा आएका छन्, सरल भाषामा लेखिएकोले चासो हुनेले पढ्नै पर्ने देख्छु,’ घिमिरेले परिचर्चा गर्दै भने।
उनले विश्वको आर्थिक क्रान्तिले नेपालमा के प्रभाव पार्यो भन्ने पनि अझै महत्वका साथ लेख्नुपर्ने आवश्यकता औंल्याए ।
अनेसास डेनमार्क च्याप्टरका पूर्व अध्यक्ष प्रकाश सापकोटाले आर्थिक जस्तो गहन विषयलाई सरल तरिकाले लेख्नु लेखकको मेहनत र लगाव महत्वपूर्ण रहेको बताए। ‘सरल रुपमा विश्वको आर्थिक इतिहास समेटिएको किताबलाई नेपालका विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा राख्दा उपयुक्त हुने लागेको छ,’ पत्रकार समेत रहेका उनले भने।
परिचर्चा कार्यक्रममा कार्यवाहक राजदूत अर्याल, एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पूर्व अध्यक्ष यमलाल सुवेदी, जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, ओएनएफ डेनमार्कका संस्थापक अध्यक्ष घनश्याम गौतम, अनेसासका सदस्यद्वय दीपक तिवारी र प्रदीप पाण्डे लगायतले किताब सफलताको शुभकामना दिएका थिए।