विभिन्न खाले प्रविधिमा आफ्नो खुबी देखाउन खोज्ने युवालाई प्लेटफर्म दिएर सहयोग गर्ने महावीर पुन आप्रवासी नेपालीको निमन्त्रणामा युरोपका विभिन्न देशको भ्रमणमा आउने भएका छन्।
उनको यात्रा हाललाई २०२२ अप्रिल १ देखि मे २० सम्म तय भएको छ। उनको भ्रमणको उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको विभिन्न आविष्कार र अनुसन्धानका सन्दर्भका छलफल गर्नु, अहिलेसम्म केन्द्रमा भएका कामको बारेमा जानकारी दिनु र केन्द्रको अवधारणाबारे व्याख्या गर्नु हो।
अझ कोभिडका बेला गरिएका विभिन्न अनुसन्धान र निर्माणबारे सबैलाई जानकारी दिनु पनि उनको यस भ्रमणको उद्धेश्य रहेको छ।
उनलाई भेटेर राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म गरिरहेको कामको बारेमा जान्न बुझ्न र अन्य जिज्ञासा राख्न चाहने इच्छुक नेपालीले स्वेच्छाले आ–आफ्नो ठाउँमा कार्यक्रम राख्नसक्ने उनले बताएका छन्। यद्यपी कार्यक्रम आयोजना गरिदिनू भन्दै आफूले कसैलाई पनि अनुरोध नगर्ने उनले बताए।
अत्यन्त सरल, साधारण जीवन जिउने महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा चिनिन्छन्। अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन देशलाई विकासको गतितिर अग्रसर गराउन विभिन्न वैज्ञानिक अनुसन्धानमा संलग्न छन्।
उनी अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले रोबट बनाउनेदेखि ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ ।
यो केन्द्रबाट उनले नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन्।
हाल उनको यस केन्द्रमा करिब ५० जना भन्दा बढीले विभिन्न क्षेत्रमा अनुसन्धान गरिरहेका छन्।
आफ्नो केन्द्रले गरेका अध्ययन र अनुसन्धानको बारेमा जानकारी दिन र आफ्नो अनुसन्धान केन्द्रमा युरोपमा काम गरिरहेका अनुसन्धानदातालाई अनुसन्धान गराउने र युरोपका नेपाली र नेपाली अनुसन्धानदातासँग अन्तरक्रिया गर्ने भन्दै उनी युरोप आउन लागेका हुन्।
अहिलेसम्म बेलायत, इटाली, बेल्जियम, फ्रान्स , स्पेन, जर्मनी, अस्ट्रियाजस्ता देशमा बस्ने नेपालीहरुले उनको कार्यक्रम आयोजना गर्ने भइसकेका छन्। डेनमार्कले पनि कार्यक्रमको आयोजना गर्न सम्पर्क गरिरहेको जानकारी उनले दिए।
आफू आर्थिक सहयोग माग्ने नाममा घुम्ने उद्देश्य राखेर युरोप जान लागेको होइन’, उनले भने, ‘तर कसैले स्वेच्छाले दिएको सहयोग भने सहर्ष स्वीकार गर्छु। यस्तो सहयोग आर्थिक मात्र नभएर प्रविधिगत पनि हुनसक्छ।’
उनी राष्ट्रिय आविष्कार केन्द्रको पैसा खर्च गरेर युरोप जान लागेका होइन्। उनीसँग भेटघाट र अन्तरक्रिया गर्न चाहने युरोपबासी नेपालीले सबै बन्दोबस्त मिलाइदिएका हुन्। सामान्य दालभात र सुत्नको लागि सामान्य व्यवस्था भए पुग्ने बताउँदै उनले आयोजकलाई आफू होटलमा बस्न नचाहने विचार ब्यक्त गरेका छन्।
‘आफ्ना लागि कुनै विशेष सुविधाको व्यवस्था नगर्न, कार्यक्रमलाई औपचारिकताको आवरण नदिन भनेको छु’, उनले भने, ‘यसलाई समयमैत्री बनाउन र आफ्ना लागि घुमघामको व्यवस्थासमेत नगर्न नेपाली समुदायलाई अनुरोध गरेको छु।’
आफूसँग अन्तरक्रिया गर्न चाहनेलाई नेपाली पाराको औपचारिकतामा नअल्मलिई नितान्त अनौपचारिक र छोटोमिठो अनि ठोस कार्यक्रम राख्नुपर्ने उनले बताए।
यसका लागि पैसा तिरेर कुनै हलमा व्यवस्थापन गर्न जरुरी नभएको तथा व्यक्तिको घर, पार्क, रेस्टुराजस्ता ठाउँमा कार्यक्रमको व्यवस्थापन गर्दा उत्तम हुने कुरा उनले सेतोपाटीसँग भने।
युरोपमा उनीसँग भेटघाट गर्न चाहने ब्यक्ति अथवा समूहले उनको फेसबुकमा रहेको मोबाइल, भाइबर, ह्वाट्सएप तथा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।