उमेश न्यौपानेको नेतृत्वमा नेपाल भलिवल संघ सम्पर्क समिति डेनमार्कको नयाँ कार्यसमिति चयन भएको छ।
हालै सम्पन्न चौंथो अधिवेशनबाट आगामी २ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो।
न्यौपाने यसअघि कृष्ण केसी अध्यक्ष रहेको कार्यकालमा उपाध्यक्षको रूपमा काम गरेका थिए।
भक्तपुर स्थायी घर भएका न्यौपाने स-परिवार लामो समयदेखि डेनमार्क बस्दै आएका छन्।
डेनमार्कको नेपाली समुदायबीच एक कुशल भलिबल खेलाडी हुन्। प्रवासमा भलिवललाई ब्यवस्थित ढंगले अगाडि बढाउन उनले उल्लेख्य योगदान पुर्याएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा विशाल गुरूङ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, लेखा परीक्षकमा मिलन खत्री र सदस्यद्वयमा गोकुल केसी र राम खत्री चयन भएका छन्।
डेनमार्कमा सामाजिक रूपमा सकृय एवं नेपाल भलिवल संघ सम्पर्क समिति डेनमार्कका जितेन्द्र कार्की, खेम बहादुर अधिकारी र कमल राज शर्मा सल्लाहकार चुनिएका छन्।
अध्यक्ष न्यौपानेले डेनमार्कमा रहेका भलिवल खेलाडीहरुलाई निरन्तर अभ्यास गराउने, आन्तरिक लिग खेल खेलाउने, डेनमार्क र छिमेकी युरोपियन देशका नेपालीबीच मैत्रिपूर्ण प्रतियोगिता गराउने र वार्षिक २ वटा डेनमार्क स्तरीय खुल्ला भलिबल प्रतियोगिता गर्नेलगायतका योजना नयाँ कार्यसमितिसँग रहेको बताए।
नेपाल भलिवल संघ सम्पर्क समिति डेनमार्कले स्थापनादेखि नै निरन्तर अभ्यास गराउनुका साथै विभिन्न प्रतियोगिता गर्दै आएको छ।
खेलाडीको क्षमता बढाउनुका साथै नेपाली समुदायबीच मनोरञ्जन प्रदान गर्ने र आपसी सामाजिक सद्भाब र भाईचारा स्थापित गराउने काम संघले गर्दै आएको छ।