डेनमार्कको कार्यक्षेत्र अन्तर्गत पर्ने फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लाट्भिया तथा लिथुआनियामा रहेका नेपालीले विद्युतीय राहदानीका लागि आवेदन दिन पाउने भएका छन्।
लामो समयदेखि विद्युतीय राहदानीको प्रतिक्षामा रहेका विदेशस्थित नेपालीले धमाधाम ई-पासपोर्ट प्राप्त गरिरहेका छन्।
तर विदेशमै जन्मिएका बच्चाको हकमा पासपोर्टको फारम भर्दा निकै अन्योल हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।
फारममा राखिएको प्रावधान जसमा ‘प्लेस अफ बर्थ डिस्ट्रिक, कन्ट्री इफ बर्न अब्रोड’ भन्ने मेनुमा जाँदा जिल्ला मात्र देखिने भएकाले अन्योल छाएको हो।
जिल्लाहरू अंग्रेजी वर्णानुक्रम अनुसार राखिएको छ, जसमा ‘ओ’ अक्षरको ओखलढुंगा पछि अदर कन्ट्री भन्ने राखिएको छ त्यसपछि ‘पी’ बाट आउने जिल्ला राखिएको छ। यसबारे जानकारी नहुँदा सेवाग्राही अन्योलमा परि बारम्बार दूतावासको सम्पर्कमा जान्छन्।
दूताबासबाट पनि ‘अदर कन्ट्रीमा क्लिक गरेपछि हुन्छ’ भन्ने जवाफ भए पनि प्राविधिक समस्या समाधान नभएको दूतावासका कर्मचारीनै बताउँछन्।
‘वेबपेज प्रयोगकर्तामैत्री नभएकै हो?’ भन्ने सेतोपाटीको प्रश्नमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले नेपालमा जन्मनेको लागि खासै अप्ठ्यारो नपरे पनि विदेशबाट भर्दा केही अप्ठ्यारो आएको स्वीकारे।
‘नेपालमा जन्मनेको फारम भर्दा केही समस्या छैन, तर विदेशमै जन्मिएका बालबालिकाको फारममा केही समस्या देखापरेको र त्यसलाई विभागको प्राविधिक टोलीले समाधान गर्दै जानेछ’, उनले भने।
हस्तलिखित पासपोर्टबाट एमआरपीहुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको उनले बताए। उनले १० महिनाको अवधिमै आफूहरूले प्रोजेक्ट सम्पन्न गरेका दाबी गर्दै विश्वका अधिकांश देशले ई-पासपोर्टको लागि तीन वर्षभन्दा बढी समय लगाएको जिकिर गरे।
अब नेपालको राहदानी संसारभर विश्वासयोग्य हुने उल्लेख गर्दै उनले जारी गरिएको पासपोर्ट पोलिकार्बोनेटसहितको ई–पासपोर्ट भएको जानकारी दिए।
‘यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण राखिन्छन्। ती विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैनन्। यो ई–पासपोर्ट निकै विश्वासिलो छ’, उनले भने।
डेनमार्कमा जस्तै विदेशस्थित विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन खुला गरे पनि प्रायः सबै आवेदन भर्ने बेलामा अलमलमा पर्ने गरेका छन्।
यसबारे विभागले निर्देशिकासमेत जारि गरिसकेको छ। सोही अनुसार जाँदा पनि विदेशमा बस्नेलाई फारम भर्न समस्या परिरहेको सेवाग्राही बताउँछन्।
अनलाइन फर्म भर्दा त्यसमा अपोइमेन्ट कन्ट्री अन्तर्गत अदरमा छनोट गर्नुहोस् भनिए पनि फारम भर्न गाह्रो भएपछि सेवाग्राही कम्पुटरनै बोकेर कोपनहेगनस्थित दूतावास आइपुगेको दूतावासका कार्यबाहक राजदूत तिर्थ अर्यालले बताए। ‘समस्या परेपछि सेवाग्राही कम्प्युटरनै बोकेर दूतावास आउनुभएको छ। यो समस्या आएको र यसलाई सम्बधित निकायमा पुर्याउने काम भइसकेको छ’, उनले भने, ‘चाँडै समस्याको समाधान हुन्छ।’
त्यसबाहेक अरू सबै राम्रो र प्रविधिमैत्री भएको बताउँदै उनले यसमा अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने र सम्पूर्ण विवरण भर्ने तरिकासमेत वेवपेजमा राखेको जानकारी दिए।
यस बाहेक विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको हकमा विशेष व्यवस्था गरिएको उनले बताए।
‘नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्रलाई मुख्य आधार मानी दूतावासले कामचलाउ दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्ने गरेको छ’, उनले भने, ‘त्यो नम्बर नागरिकता भएको महलमा भर्नुपर्ने हुन्छ यसका लागि आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि, राहदानीको प्रतिलिपि, विवाह दर्ताको प्रमाणपत्र, नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि र नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति आवश्यक पर्छ।’
वेब पेजमा अर्को अन्योल पार्ने महलमा नाबालकको ई-पासपोर्ट फारम भर्दा नागरिकताको महलमा नागरिकताको फोटो फाइल अपलोड गर्नुपर्ने अनिवार्य गरिएको छ। जसमा धेरै सेवाग्राही अन्योलमा परेका हुन्।
‘त्यो महलमा नेपालमा भएको भए नाबालकको नाबालिग परिचयपत्रको फाइल अपलोड गर्ने हो। तर विदेशको हकमा बाबु वा आमामध्ये एकको नागरिकताको फाइल अपलोड गर्दा स्वीकार गरिन्छ’, राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘कमि कमजोरी छन् सेवाग्राहीको गुनासोबाट अरू पनि सुधार गर्नुपर्ने देखिएको छ। यसको लागि हामीले ४ वटा प्राविधिक टोली गठन गरेका छौ।’
उनले सेतोपाटीले देखाएका समस्यामा २ साता भित्र समाधान दिएर यसलाई विदेशमा बस्नेले समेत बिना अन्योल चलाउनसक्ने बनाइने दाबी गरे।
यस्तै ओभर ट्राफिकिङले फारम स्वीकार नहुने तथा बारम्बार सर्भर डाउन हुने समस्या आइरहेको स्वीकार्दै महानिर्देशक अर्यालले अरू केही साता कुर्न आग्रह गर्दै केही साता भित्र सबै समस्या समाधान गरिने बताए।