गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका तृष्णा गुरूङले आउने शनिबार डेनमार्कको राजधानी कोपन्हेगन नजिकको हर्लेभ सहरमा बृहत प्रस्तुति दिने भएका छन्।
माल्टा र नर्बेको प्रस्तुतिपछि डेनमार्कमा यस्तो सांगीतिक कार्यक्रम हुन लागेको हो।
हरेक वर्ष कोपन्हेगन टु काठमाडौँ भन्दै कोपन्हेगन र काठमाडौंमा सांगीतिक कार्यक्रम गर्दै आएको नेपाल म्युजिक फेस्टिबलले यस वर्ष शान्ति र एकताको लागि सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) सहयोगार्थ नेपाली सांगीतिक कार्यक्रम गरेको हो।
सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली सांगीतिक कार्यक्रममा गर्दै आएको र यस वर्ष पनि यूरोपका विभिन्न सहरमा उक्त कार्यक्रम हुने जानकारी कार्यक्रम व्यवथापक सन्तोष घिमिरले दिए।
यसपटक ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०२२ ’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रम डेनमार्क पछि फ्रान्स र पोर्चुगलमा आयोजना हुने नेपाल म्युजिक फेस्टिबलका मनोज खड्काले बताए। उनले विदेशमा रहेर पनि नेपाली गीत, संगीत, कला र संस्कृतिलाई जोगाइराख्न यस्ता कार्यक्रमले थोरै भए पनि योगदान दिने बताए।
गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले आफ्नो बेजोड् सांगीतिक प्रस्तुतिसँगै आफ्ना ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’ देखि ‘पुरानो डुंगाको ‘निर जहिले रिसाउने’ सम्मका चर्तित गीतहरु गाएर डेनमार्कका सबै उमेर समूहका नेपालीलाई मनोरञ्जन दिने बताए।
पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयरसँग जोडिएर अनाथ बालबालिकाको सहयोगार्थ आफूले विगतदेखि यस्तो नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुँदै आइरहेको गायीका तृष्णा गुरूङले बताइन्। उनले कोपनहेगनमा आफूले न्यानो सहयोग पाएको र यो आफ्नो डेनमार्कमा दोस्रो प्रस्तुति भएको बताइन्।