डेनमार्कको संसदीय चुनावमा सोसियल डेमोक्र्याट पार्टी २७.५ प्रतिशत मतका साथ संसदमा सबैभन्दा ठूलो दल बनेको छ।
मंगलबार साँझ सम्पन्न चुनावको नतिजा बुधबार बिहान घोषणा भएको हो।
यस पार्टीको रेड ब्लक गठबन्धनले १७९ सीटको संसदमा ८७ सीट प्राप्त गरेको छ। गठबन्धन विरूद्ध उभिएको ‘ब्लू ब्लक’ ले ७२ सिट प्राप्त गर्यो।
त्यस्तै पूर्ववर्ती प्रधानमन्त्री लार्स लोक्के रासमुसनको ६ महिना अघि स्थापना गरेको पार्टीले १६ सिट जितेको छ।
यो नतिजासँगै वर्तमान प्रधानमन्त्री मेटे फ्रेडरिकसनलेनै नयाँ सरकार बनाउनेछिन्।
फ्रेडरिकसनले नयाँ सरकार गठन गर्न भर पर्न सक्ने गठबन्धन दलहरूमा सोसलिस्ट पिपुल्स पार्टी, रेड-ग्रीन एलायन्स र सोसल-लिबरल पार्टी समावेश छन्।
८७ सिट प्राप्त गरेको रेड ब्लकलाई फारो आइल्याण्डको १ सिट र ग्रीनल्याण्डबाट प्राप्त गर्ने अपेक्षा गरिएको दुई वटा सिटको समर्थनमा ९० सिटको झिनो बहुमत प्राप्त हुने निश्चित छ।
विपक्षी लिबरल पार्टीका नेता जेकोब एलम्यान-जेन्सनले बुधबार बिहानै हार स्वीकार गरेका छन्। उनको पार्टीले संसदको ४३ सिटमध्ये १९ सिट गुमाएको छ
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले गत महिना नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी थिइन्।
सन् २०१९ को जुनदेखि सत्तामा रहेकी फ्रेडरिक्सनले डेनिस निर्वाचन प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने भए पनि युरोपको इनर्जी क्राइसिस समाधान गर्न नयाँ जनादेशको आवश्यकता रहेको बताउदै समय अगावै चुनावको घोषणा गरेकी थिइन्।
डेनमार्कमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत संसदीय चुनाव हुने गर्छ। त्यसले गर्दा एउटै राजनीतिक दलको पूर्ण बहुमत आउने सम्भावना न्यून हुन्छ।
डेनमार्कमा दलहरूले प्राप्त मतले दुई प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गर्नसके मात्र राष्ट्रिय दलको मान्यता पाउने संवैधानिक व्यवस्था गरिएको छ। त्यसले गर्दा संसदमा प्रतिनिधित्व गर्ने दलको संख्यालाई सीमित गरिदिएको छ।
समानुपातिक निर्वाचन प्रणालीका कारणले डेनमार्कमा सन् १९०६ देखि हालसम्म भएका निर्वाचनमा कुनै पनि राजनीतिक दलले एक्लै सरकार बनाउन सक्नेगरि पूर्ण बहुमत ल्याएको छैनन्।
त्यसैले यहाँ चुनावभन्दा अगाडिनै एउटै घोषणा पत्र बनेर नीति मिल्ने दलबीच रेड ब्लक र ब्लु ब्लक बनाएर चुनाब लड्ने चलन छ।