गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलन मे महिनाको पहिलो साता हुने भएको छ।
गैरआवासीय नेपाली संघको यूरोपका पदाधिकारीको सहभागितामा चेक रिपब्लिकको राजधानी प्रागमा बसेको एक बैठकले सम्मेलन २०२३ मे महिनाको ६ र ७ तारिखमा चेक रिपब्लिकमा गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको छ।
सो सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताइएको छ।
यो बैठकले मुख्यगरि १५ औं यूरोप क्षेत्रीय सम्मेलनमा सामुहिक लगानीको विषयलाई सम्बोधन गर्ने गरि विषयबस्तु तय गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका प्रवक्ता उत्तम कुमार आचार्यले सम्मेलनको तयारीको लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताएका छन्।
गैर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव राम शरण शिंखडाको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा अन्तर्राराष्ट्रिय कमिटीका कोषाध्यक्ष फणिन्द्र पन्त, युरोप संयोजक सन्तोष भट्टराई, चेक रिपब्लिकका अन्तर्राष्ट्रिय कमिटी सदस्य डा चिरन्जीवी खड्का पूर्व अध्यक्ष छत्र अधिकारि, पूर्वअन्तर्राष्ट्रिय कमिटीका सदस्य रविन घिमिरे, पूर्व उपाध्यक्षहरु चित्र रायमाझी, छबी कँडेल र प्रेम खरेललगायत सल्लाहकार तथा कार्यसमिति पदाधिकारीहरूको उपस्थिति थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलन चेक रिपब्लिककमा गर्ने निर्णय भएकोमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले खुशी ब्यक्त गरे।
बैठकमा चेक रिपब्लिकका अन्तर्राष्ट्रिय कमिटी सदस्य डा चिरन्जीवी खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलनको लागि भइरहेको तयारी र उपमहासचिव राम शरण शिंखडाले अन्तर्राष्ट्रिय कमिटिले गर्नुपर्ने तयारी तथा विषयबस्तु बारे एक खाका प्रस्तुत गरेका थिए।
त्यस्तै युरोप क्षेत्रको तयारीबारे युरोप क्षेत्रिय संयोजक सन्तोष भट्टराईले र आर्थिक ब्यवस्थापनबारे अन्तर्राष्ट्रिय कमिटीका कोषाध्यक्ष फणिन्द्र पन्तले प्रष्ट पारेका थिए।
मे महिनाको पहिलो साता चेक रिपब्लिकमा हुने १५ औं यूरोप क्षेत्रीय सम्मेलनलाई बिगतका युरोप क्षेत्रीय सम्मेलनभन्दा फरक र नयाँ तरिकाले, उपलब्धिमुलक रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता आचार्यले बताए।
उनले सम्मेलनमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, र संस्थापकहरुको उपस्थिति रहने जनाएका छन्।