ग्लोबल नेपाली
सिरहाका शिव अधिकारी २६ वर्षअघि जर्मनी गएका थिए। पूर्वाधार विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट) विषयम स्नातकोत्तर पढ्न गएका उनी दुई वर्ष त्यहाँ बसे। पढाइ सकेर सन् २००१ मा नेपाल फर्किए।
शिव उता जानुअघि पुरातत्व विभागमा अधिकृत थिए। फर्किएपछि उनको जागिरमा निरन्तरता भएन। त्यसैले उनले फेरि जर्मनी जाने निधो गरे।
सन् २००२ मा दोस्रो पटक जर्मनी गएका उनी त्यहीँ जमे। गएपछि प्रशासन विषयमा पनि स्नातकोत्तर गरे। पढ्दै गर्दा फ्रापोर्ट कम्पनी मार्फत फ्र्यांकफर्ट विमानस्थलमा काम पनि सुरू गरे।
त्यसयता, अर्थात् २२ वर्षदेखि उनी फ्र्यांकफर्ट विमानस्थलमै काम गरिरहेका छन्। अहिले उनी विमानस्थलमा वरिष्ठ व्यवस्थापक भएका छन्।
'म हाल कार्गो डेभलपमेन्टमा काम गर्छु। कार्गोलाई चाहिने पूर्वाधार हेर्छु,' शिवले भने, 'अनुसन्धान प्रोजेक्टमा पनि छु। दैनिक रूपमा मैले गर्ने काम भनेको प्रोजेक्ट म्यानेजमेन्ट हो।'
शिवका अनुसार फ्रापोर्ट कम्पनीले चीन, ब्राजिल, पेरू, ग्रिस लगायत देशमा पनि विमानस्थल व्यवस्थापन गर्छ। यस मातहत बीस हजारभन्दा धेरै कर्मचारी कार्यरत छन्।
शिव जर्मनीमा नेपाली समुदायसँग जोडिएर पनि काम गरिरहेका छन्। उनी नेपाली समाज, जर्मनीका अध्यक्ष हुन्। जर्मनीमा रहेका नेपाली र त्यहाँ हुर्किँदै गरेको नयाँ पुस्तालाई नेपालसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए।
उनी जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका सल्लाहकार समेत छन्। यस अन्तर्गत उनी आप्रवासनको क्षेत्रमा काम गर्छन्।
आफ्नो कार्यानुभवका आधारमा उनले विदेशमा जमेकाहरू फेरि आफ्नो देश फर्किने सभ्भावना कम हुने देखेका छन्।
'अब माइग्रेसन रोक्न सकिँदैन। यो विश्वव्यापी हो। त्यसैले अब चाहिँ यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने महत्वपूर्ण हुन्छ,' उनले भने, 'बिदेसिएका नेपालीलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर राज्यले योजना बनाउनुपर्छ। सम्बन्धित देशमा रहेका दूतावासले नेपाली भाषा, संस्कृति प्रचार प्रसारमा सहयोग गर्न सक्छन्।'
विदेशमा हुर्किएको दोस्रो पुस्ताले समेत बिस्तारै आफ्नो 'जरा' खोज्न थालेको उनले बताए।
'दोस्रो पुस्ता आर्थिक र शैक्षिक रूपमा सुरक्षित छ तर भावनात्मक रूपमा द्वन्द्वमा छन्,' शिवले भने, 'मेरै बच्चाहरूको कुरा गर्ने हो भने म जर्मनीको हो कि नेपालको भन्ने उनीहरूको मनमा खेलिरहेको हुन्छ। मेरा बच्चाहरूले अहिले आफै नेपाली भाषा सिक्न खोजिरहेका छन्।'
उनी आवद्ध संस्था नेपाली समाज, जर्मनीले हरेक वर्ष 'नेपाल फेस्टिभल' का साथै नेपाल सम्बन्धी विभिन्न प्रचारात्मक कार्यक्रम गर्छ। हरेक महिनाको पहिलो आइतबार चौतारी कार्यक्रम पनि गर्ने उनले बताए। त्यस्तै दिगो विकासका लागि सिरहामा विभिन्न सामाजिक काम गर्दै आएको उनले बताए।
'नेपालले डायस्पोरामा रहेकाहरूका लागि स्वयंसेवक अभियान चलाउन सक्छ। यसले गर्दा उनीहरू आफ्नो मातृभूमिसँग जोडिन सक्छन्,' उनले भने, 'त्यसका लागि हामीले नीति निर्माणको तहमै काम गर्नुपर्छ। स्कुल, नगरपालिका, केन्द्र जुन तहसँग साझेदारी गर्न सकिन्छ, त्यो गर्नुपर्छ। अहिलेको ग्लोबल युगमा एउटै देशमा बस्नैपर्छ भन्ने छैन।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]