ग्लोबल नेपाली
सुभाष सुन्दास अध्ययनको सिलसिलामा स्विट्जरल्यान्ड पुगेका थिए। अहिले उनी त्यहीँ सूचना प्रविधि (आइटी) र नेपाली गीत–संगीतमा जमेका छन्।
सोलुखुम्बू, लुक्लाका सुभाष सन् २०१३ मा स्विट्जरल्यान्ड गएका हुन्। नेपालमा बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक सकेपछि बिजनेस एडमिनिस्ट्रेसनमै स्नातकोत्तरका लागि उनी त्यहाँ गएका थिए।
'पहिल्यैदेखि मेरो रूचि आइटीमा थियो। साथीहरूसँग सल्लाह गर्दा स्विट्जरल्यान्डमा आइटीमा राम्रो सम्भावना रहेछ भन्ने थाहा पाएँ। त्यसपछि मैले डेभअप्स इन्जिनियरिङ पढेँ,' उनले सुनाए।
डेभअप्स इन्जिनियरिङ सूचना प्रविधिसँग सम्बन्धित विषय हो। उनी सर्भरलाई क्लाउडसँग जोड्ने काम गर्छन्।
'म माइक्रोसफ्ट–३६५ सँग सम्बन्धित सबै काम गर्छु,' उनले भने।
नेपालमा हुँदा पनि उनी सूचना प्रविधिसँग सम्बन्धित काममा चासो राख्थे। छिमेकीको इन्टरनेट बिग्रियो भने पनि हेर्थे। बनाइदिन्थे। प्रोग्रामिङमा पनि निकै रूचि थियो।
स्विट्जरल्यान्डमा उनले डेभअप्स इन्जिनियरिङ उत्साहका साथ पढे र सन् २०१७ मा पढाइ सके।
सूचना प्रविधिमा नयाँ–नयाँ कुराहरू आइरहन्छन्। त्यसैले पढाइ सकिए पनि समय–समयमा आफू अद्यावधिक भइराख्नुपर्ने उनी बताउँछन्।
सुरूमा स्विट्जरल्यान्डको जीवनस्तरसँग बानी पर्न कठिन भए पनि सुभास बिस्तारै अभ्यस्त भए। अहिले उनी त्यहाँको जीवनशैलीसँग पूर्ण रूपमा घुलमिल भएका छन्।

'सुरूमा गाह्रो भए पनि म पढ्न र कमाउनकै लागि आएको थिएँ। मेहनत गर्नुपर्छ भन्ने सोच बनाएँ, जसले बिस्तारै सजिलो बनायो,' उनले भने।
उनका अनुसार स्विट्जरल्यान्डमा आइटी क्षेत्रमा दक्ष जनशक्तिको कमाइ निकै राम्रो हुन्छ। तर त्यहाँ जीवनशैली पनि उत्तिकै खर्चिलो छ।
'हाई–स्किल्ड (दक्ष/सीपयुक्त जनशक्ति) को आइटी क्षेत्रमा निकै अवसर कमाइ राम्रो छ। महिनामा २० देखि २१ लाख रूपैयाँसम्म कमाइ गर्न सकिन्छ। तर खर्च पनि उत्तिकै हुन्छ,' उनले भने।
कर, बीमा, खाने, बस्ने, यातायात सबै जोड्दा उनको कमाइको आधा जति खर्च हुन्छ।
फ्ल्याट भाडामा मात्र महिनाको नेपाली ४ देखि ६ लाख रूपैयाँ खर्च हुने उनले बताए। त्यस्तै बीमामा महिनाको करिब लाख रूपैयाँ तिर्नुपर्छ। इन्टरनेट, बिजुली, पानी, यातायात, फिटनेस लगायत सबै जोड्दा खर्चिलो छ। तैपनि त्यहाँ जीवन सन्तुलित भएको उनले बताए।
'खर्च गरे अनुसार सेवा सुविधा पाइन्छ,' सुभाषले भने।
सुभाष इन्जिनियरिङसँगै गीत–संगीतमा पनि सक्रिय छन्। नेपालमै रहँदा संगीतमा रुचि राख्ने उनी अहिले पनि त्यही उत्साहका साथ यस क्षेत्रमा लागेका छन्।
उनका करिब १५ वटा गीत रिलिज भएका छन्।
स्विट्जरल्यान्डमा उनले 'सुभास एन्ड द फ्यामिली' नामको सांगीतिक ब्यान्ड कम्पनी बनाएका छन्। यसमा सुभाषसँगै रामु परियार र प्रभात नेपाली आबद्ध छन्। तीन सदस्यीय उक्त ब्यान्डमा आवश्यकता अनुसार मौसमी कलाकारहरू सहभागी हुने सुभाषले बताए।
उनीहरू यो ब्यान्डमार्फत युरोपका विभिन्न मुलुकमा कन्सर्ट पनि गर्छन्। जर्मनी, बेलायत, फ्रान्स, नर्वे, डेनमार्क, इटाली, अस्ट्रिया, बेल्जियम लगायत देशमा उनीहरूको प्रस्तुति हुन्छ।
विभिन्न चाडपर्वका अवसरमा कार्यक्रम भइरहने र धेरै नेपाली बसोबास भएका मुलुकमा कन्सर्टको माग बढी हुने उनले बताए। यसबाट पनि राम्रै आम्दानी हुन्छ।
संगीतसँगै सुभास नृत्यमा पनि सक्रिय छन्।

उनी त्यहाँ 'सालसाबचाता' नामक कपल (जोडी) डान्स सिकाउँछन्। यो ल्याटिन नृत्य स्विट्जरल्यान्डमा निकै लोकप्रिय छ।
'म यहाँ आएको चार वर्षपछि सालसाबचाता सिकेँ। सिकाउन थालेको पनि साढे तीन वर्ष भयो,' उनले भने।
सुभाष साताको एक दिन नृत्य सिकाउँछन्, हरेक बुधबार। एउटा कक्षामा १० देखि १४ जना विद्यार्थी हुन्छन्। यो नाच स्वीस नागरिक र आप्रवासी दुवैले सिक्छन्।
'रमाइलो हुन्छ। महिनामा करिब दुई लाख रूपैयाँजति कमाइ यसबाटै हुन्छ,' सुभाषले भने।
उनका अनुसार स्विट्जरल्यान्ड मेहनत गर्नेका लागि राम्रो अवसर भएको देश हो।
'आइटी त छँदैछ, यो देश नै आइटी हब हो। तर अरू क्षेत्रमा पनि राम्रो अवसर छ। अहिले यहाँ रेस्टुरेन्टमा राम्रो सम्भावना छ। अझ नेपाली खाना पाउने रेस्टुरेन्टहरू झन् लोकप्रिय हुन सक्छन्। यहाँ केवल नेपाली खाना मात्रै पाइने रेस्टुरेन्ट भने छैन,' उनले भने।
पढ्न आउने विद्यार्थीलाई सचेत हुन पनि उनी सुझाव दिन्छन्।
'सुरूमा ६ महिनासम्म काम गर्न पाइँदैन। त्यसपछि हप्तामा १५ घण्टा काम गर्न पाइन्छ। काम र पढाइ सँगसँगै गर्न सकिने वातावरण छ,' सुभाषले भने, 'सबै कुरा बुझेर मात्र आउनुहोला।'