ग्लोबल नेपाली
पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराई पुर्ख्यौली घर भएका दीपक भट्टराई बेलायत बसेको २२ वर्ष भयो। उनी एलएलबी (कानुनमा स्नातक) पढाइका लागि सन् २००२ मा बेलायत गएका थिए। पढाइ पूरा गरेर अधिवक्ता भए। हाल उनी अधिवक्ता (सोलिसेटर) का रूपमा बेलायतमै कार्यरत छन्।
दीपकले सन् २००८ मा 'भट्टराई एन्ड कम्पनी इमिग्रेसन प्राक्टिस' नाममा आफ्नै कम्पनी खोलेका थिए। उनको यो कम्पनीले आप्रवासीहरूका लागि भिसा प्रक्रिया र कानुनी मामिलामा सहजीकरणको काम गर्छ।
'विद्यार्थीहरूका लागि भिसा प्रक्रियामा र आप्रवासी परिवारका समस्या समाधानमा सहजीकरण गर्छौं,' उनले भने, 'शरणार्थी आवेदन रद्द भएको अवस्थामा अदालतमा मुद्दा हाल्छौं। बेलायतको नागरिकता प्राप्तिको आवदेनका लागि पनि सहजीकरण गर्छौं।'
उनका अनुसार नेपालीहरूका लागि बेलायत आकर्षक गन्तव्य मुलुक हो। अध्ययन र रोजगारीका सिलसिलामा धेरै नेपाली बेलायत जान्छन्। विद्यार्थी भिसामा बेलायत जानेको संख्या हरेक वर्ष बढ्दो छ।
बेलायतमा आप्रवासीको चाप बढ्दै गएका कारण रोजगारीका अवसर भने सीमित हुँदै गएको दीपकको भनाइ छ।
'विद्यार्थीहरूलाई पढ्नका लागि मात्रै भिसा दिएको हो, काम गर्न होइन। तर युनिभर्सिटीको शुल्क तिर्नुपर्यो, खानबस्न महँगो छ,' उनले भने, 'आजकाल लन्डन र केही ठूला सहरमा मात्रै रोजगारीको अवसर हुन्छ। साना बस्तीहरूमा रोजगारी नपाउँदा कतिपयलाई अप्ठ्यारो भएको छ।'
मास्टर्स डिग्री (स्नातकोत्तर तह) पूरा गरेपछि आप्रवासी विद्यार्थी थप दुई वर्ष बेलायत बस्न पाउँछ। त्यस अवधिमा रोजगारीका लागि स्पोन्सर भेटियो भने वर्क पर्मिट (काम गर्ने अनुमति) उपलब्ध हुन्छ।
कामको अनुमति नपाएको अवस्थामा बेलायत छाड्नुपर्छ। यस्ता कतिपय व्यक्ति स्वदेश फर्किन नसक्ने कारण देखाउँदै शरणार्थीका रूपमा पनि बस्ने गरेका छन्।
पढ्ने उद्देश्यले बेलायत जाने विद्यार्थीले काम गरेर पैसा कमाउने चाहना नराख्न र पढाइ पूरा गरेपछि मात्र काम गर्न उनको सुझाब छ।
पछिल्लो समय स्पोन्सरमै पनि समस्या देखिन थालेको छ। जागिर दिन्छु भनेर धेरै पैसा लिने तर जागिर नदिने घटना भएका छन्।
उनले हालैको एउटा घटना सुनाए, 'नेपालमै रहेका एक जनालाई बेलायतमा काम दिन्छु भनेर ३५ लाख रूपैयाँ लिएछन् र भिसा पठाइदिएछन्। ती व्यक्ति बेलायत पुगे तर काम पाएनन्। यस्तो समस्या बढ्दै छ।'
यस्तो ठगीबाट बच्न धेरै पक्षमा ध्यान दिनुपर्छ।
दीपकका अनुसार बेलायतमा स्पोन्सर गर्न सरकारी निकायमा कम्पनी दर्ता भएको हुनुपर्छ। स्पोन्सर कहिलेदेखि सक्रिय छ, कति काम गरेको छ भन्ने पनि थाहा पाउनुपर्छ। यसका लागि इन्टरनेटमा खोजी गरेर कम्पनीको प्रोफाइल हेर्न सकिन्छ। बेलायतमा रहेका साथीहरूबाट पनि स्पोन्सर कम्पनीबारे बुझ्न सकिन्छ।
दीपक सन् २०१४ यता सम्पत्ति किनबेच, विवाह र सम्बन्ध विच्छेद जस्ता परिवारिक कानुनमा पनि काम गर्दैछन्।
'घर तथा व्यवसाय किनबेच गर्न कानुनी सहयोग चाहिन्छ। म यसमा काम गर्छु। परिवारिक मुद्दामामिलामा पनि सहजीकरणको काम गर्दैछु,' उनले भने।
आप्रवासीहरूका घर झगडा, घरेलु हिंसा र सम्बन्ध बिच्छेद जस्ता घटना उनीसँग पुग्छन्। बेलायतमा बस्ने नेपालीहरूमा पनि सम्बन्ध विच्छेदका घटना हुने गरेका छन्। यस्ता घटना उनीसमक्ष वर्षमा २५ वटासम्म आउँछन्।
'यहाँ नेपालमा जस्तो मन नमिले पनि समाजका लागि सँगै बस्नुपर्छ भन्ने बाध्यता हुँदैन। यस्तो स्वतन्त्रताका कारणले सम्बन्ध विच्छेदका घटना धेरै हुन्छन्,' उनले भने।
बेलायतमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक नभए पनि कम्तीमा एक लाख रहेको उनको अनुमान छ। बेलायतमा स्थायी बसोबास भएका नेपाली परिवारको संख्या पनि ठूलै छ। बेलायती सेनामा काम गरेका धेरै व्यक्तिका परिवारजन बेलायतमा छन्।
दीपकका अनुसार नेपालीहरू बेलायतमै घर, जग्गाजस्ता भौतिक सम्पत्ति जोडेर बसेका छन्। होटल र रेस्टुरेन्टमा लगानी गर्ने पनि धेरै छन्। किराना पसल र सुपरमार्केट पनि चलाएका छन्।
बेलायतमा चिकित्सक, इन्जिनियर जस्ता दक्ष प्राविधिकको माग छ। त्यहाँका रोजगारीदाताले स्पोन्सरसिप दिएर नेपालबाट उच्च दक्ष जनशक्ति लैजाने गरेका छन्। यस्ता उच्च दक्ष श्रमिकहरूले पाँच वर्षपछि पिआर (स्थायी बसोबास) का लागि आवदेन गर्न पाउँछन्। पिआर पाएको एक वर्षपछि नागरिकताका लागि आवेदन गर्न पाउँछन्।
विकसित मुलुक बेलायतमा पिआर र नागरिकता पाउने भएपछि नेपालबाट बौद्धिक पलायन भइरहेको उनको भनाइ छ।
'म बेलायत बसेको धेरै वर्ष हुँदा पनि नेपाल फर्कन चाहन्थेँ। तर अब फर्किन्छु जस्तो लाग्दैन,' उनले भने, 'बेलायतको नागरिकता लिएपछि नेपाल फर्केर अधिवक्ताका रूपमा काम गर्न पनि नमिल्दो रहेछ। नेपालमा लिएको अधिवक्ताको लाइसेन्स पनि खारेज भइसकेको छ।'
नेपाल बार काउन्सिलले विदेशी नागरिकता लिएको व्यक्तिलाई नेपालमा वकालत गर्ने अधिकार नदिएको उनले बताए। यस्ता आप्रवासी नेपालीले नेपालमा अभ्यास गर्न पाउने हो भने बौद्धिक पलायन रोकिन्छ भन्ने उनलाई लाग्छ।
सरकारले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिन सुरू गरे पनि त्यस्तो नागरिकता दोस्रो दर्जाको रहेको उनको गुनासो छ।
'एनआरएनएको नागरिकता दोस्रो दर्जाको छ। हाम्रा लागि वंशजको नागरिकतालाई निरन्तरता दिँदा केही घाटा हुने देख्दिनँ, राम्रै हुन्छ,' दीपक भन्छन्, 'संविधानप्रदत्त अधिकार अनुसार एनआरएनए नागरिकता दिनुपर्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]