ग्लोबल नेपाली
बुटवलका शंकर पाण्डे सन् १९९८ मा विद्यार्थी भिसामा बेलायत गए। बेलायत गएको ६ वर्षमा उनले आफ्नो सक्रियतामा संयुक्त लगानी जुटाएर एउटा रेस्टुरेन्ट खोले।
अहिले उनीहरू चार वटा रेस्टुरेन्ट चलाउँदै छन्— बेलायतमा तीन वटा र स्कटल्यान्डमा एउटा।
यी रेस्टुरेन्टमा परिवारका सदस्य र निकट नातेदारहरूको संयुक्त लगानी छ। व्यवसाय सञ्चालनको मुख्य जिम्मेवारी र नेतृत्व भने शंकरकै हो।
'हाम्री धेरै आफन्तहरू बेलायतमा छौं। यहाँ एक्लै लगानी गर्न निकै गाह्रो हुन्छ। हामीले साझेदारीमा काम गरेका छौं,' उनले भने।
शंकरले चलाएका सबै रेस्टुरेन्टमा विशेष गरी नेपाली र भारतीय परिकार पाइन्छ। नेपाली र भारतीय खानाका परिकार इटालियन शैलीमा पस्किनु उनको रेस्टुरेन्टको मुख्य विशेषता हो।
शंकरलाई सानैदेखि खानाका परिकार बनाउनमा रूचि थियो।
उनी भारतीय टिभी च्यानल दूरदर्शन (डिडी–१) मा आउने भारतीय सेलेब्रेटी सेफ सञ्जीव कपुरको 'खाना खजाना' भन्ने कार्यक्रम हेर्थे। त्यही कार्यक्रमले उनलाई पाककलामा रूचि जगायो।
शंकर घरमा आमा र हजुरआमालाई खाना बनाउन सघाउँथे। कहिलेकाहीँ उनीहरूलाई सिकाइ मागेर खाना पकाउने जिम्मा पनि लिन्थे।
'टिभीमा कार्यक्रम हेर्नु र भान्सामा बसेर पकाउनु फरक कुरा हो। तर म कार्यक्रम हेरेकै भरमा प्रयास गर्थेँ,' उनले भने, 'हजुरआमा छेउमा बसेर सिकाउनु हुन्थ्यो।'

घरको खाना पकाउन जान्ने भएपछि उनलाई 'म सक्छु' भन्ने आत्मविश्वास पलायो। भविष्यमा सेफ बन्ने परिकल्पना गर्न थाले।
२०५० सालमा शंकर नेपालगञ्जबाट हालको १२ कक्षा सरहको परीक्षा दिएर काठमाडौं आए। उनका एक जना दाइ पहिल्यैदेखि काठमाडौंमा थिए। उनी दाइसँगै बसे। व्यवस्थापन संकायमा स्नातक तह पढ्न भर्ना भए।
पढाइबाहेक अर्को काम थिएन। फुर्सदमा पत्रपत्रिका र विभिन्न किताब पढ्थे।
त्यही सिलसिलामा एक दिन उनले पत्रिकामा कुकिङ सम्बन्धी तालिमको विज्ञापन देखे। उनी निकै उत्साहित भए, तालिम लिने विचार गरे।
'बिहान कलेज जान्थेँ। दिउँसो फुर्सद थियो। फुर्सदको समय सदुपयोग गर्ने र काम सिक्ने विचारले पढाइको तेस्रो वर्ष कुकिङ तालिम सुरू गरेँ,' उनले भने, तालिममा भारतीय, रसियन तथा इटालियन परिकार बनाउन सिकेँ।'
तालिम जम्मा ९ महिनाको थियो। त्यसमध्ये ६ महिना इन्स्टिच्युटमा सिकाइन्थ्यो, तीन महिना तारे होटलमा 'इन्टर्न' गर्नुपर्थ्यो। तर आफ्नै कारणले उनी इन्टर्न गर्न जान पाएनन्।
शंकरका एक जना दाइ बेलायतमा सूचना–प्रविधि क्षेत्रमा काम गर्थे। तेस्रो वर्षको परीक्षा दिएपछि दाइकै सल्लाहमा उनले पनि बेलायतस्थित म्यारेडियन कलेजमा आवेदन गरे। उनको आवेदन स्वीकृत भयो। विद्यार्थी भिसा पाए।
उनले बेलायतमा कम्प्युटर विषयमा दुईवर्षे स्नातक तह पढे। पढाइसँगै एउटा इटालियन रेस्टुरेन्टमा काम गरे। पढाइ पूरा भएपछि उनले होटल म्यानेजमेन्ट सम्बन्धी तालिम लिए। प्रोफेसनल कुलिनरी विषयमा डिप्लोमा तहको पढाइ पनि गरे।

पाककलामा पढाइ र कामको अनुभव पनि भएपछि उनको आत्मविश्वास बढ्यो। त्यसै अनुसार सन् २००४ मा आफन्तहरूकै साझेदारीमा लन्डनमा 'एभरेस्ट इन रेस्टुरेन्ट' सुरू गरे। विदेशमा नेपालको परिचय दिन रेस्टुरेन्टको नाममा 'एभरेस्ट' जोडेको उनले बताए।
'नेपालको माउन्ट एभरेस्टबारे धेरै विदेशीलाई थाहा छ। नेपालीले चलाएको हो भनेर चिनाउन एभरेस्ट जोड्यौं,' उनले भने।
प्रारम्भिक दिनमा शंकरको काममा सानातिना समस्या आए। तर उनी दृढतापूर्वक अघि बढे। कामप्रतिको लगनशीलता र अठोटले उनलाई सफलताको बाटोमा डोहोर्यायो। तीन वर्षमा लन्डनमै अर्को रेस्टुरेन्ट खोले।
'लन्डनपछि तेस्रो रेस्टुरेन्ट अक्सफोर्डमा खोल्यौं, चौथो स्टकल्यान्डमा,' उनले भने।
लन्डनका उनका तीन वटा रेस्टुरेन्ट आसपासममै छन्। एउटाबाट सबभन्दा टाढाको रेन्टुरेन्ट ४५ मिनेटको ड्राइभमा पुगिन्छ। स्कटल्याडमा रहेको रेस्टुरेन्ट पुग्न लन्डनबाट रेलमा करिब ६ घन्टा लाग्छ।
शंकरका अनुसार हाल चार वटा रेस्टुरेन्टमा कुल ६० जना कामदार छन्। तीमध्ये धेरैजसो नेपाली छन्।
रेस्टुरेन्टमा सबभन्दा बढी जमघट भने क्रिसमसको समयमा हुन्छ।
व्यवस्थापनको मुख्य नेतृत्व शंकरको भए पनि साझेदारहरू मिलेर काम गर्छन्। खानाको मेनु र रेसिपी तयार गर्ने जिम्मेवारी शंकरले लिएका छन्।
बजारीकरण, सामाजिक सञ्जाल, आर्थिक पक्ष लगायत व्यवस्थापनका काम साझेदारहरूले बाँडफाँट गरेका छन्। सामान्यतया सबै जना बिहान ११ देखि राति ११ सम्म रेस्टुरेन्टकै काममा व्यस्त हुन्छन्।

यहाँका मुख्य ग्राहक स्थानीय वासिन्दा हुन्छन्। दोस्रोमा दक्षिण एसियाली मुलुकका मान्छे हुन्छन्।
रेस्टुरेन्ट व्यवसायमा सफल हुन नयाँ परिकारको 'ट्रेन्ड' आत्मसात गर्न सक्नुपर्ने शंकरको अनुभव छ।
'खानामा नयाँ परिकार दिन सक्नुपर्छ। यसमा पनि गुणस्तर मुख्य कुरा हुन्छ,' उनले भने।
आगामी दिनमा उनीहरू थप रेस्टुरेन्ट विस्तार गर्ने योजनामा छन्।
शंकर हाल व्यवसायमा मात्रै सीमित छैनन्, सामाजिक काममा पनि सक्रिय छन्। फुर्सदको समयमा स्कुलहरूमा गएर विद्यार्थीलाई खानाका परिकार बनाउन सिकाउँछन्।
'म कहिलेकाहीँ बेलायती प्रधानमन्त्रीको निवासमा पनि खानाका परिकार बनाउँछु,' उनले भने, 'प्रधानमन्त्री निवासमा पकाउने म पहिलो नेपाली सेफ हुँ।'
