काठमाडौंको डिल्लीबजारमा एउटा सानो पसल छ — पानीपुरी अड्डा।
यो सानो अड्डाको प्रख्यात पानीपुरी भने भव्य नै छ।
पानीपुरी पनि के भव्य भन्ने सोच्नुहोला, तर यहाँ 'बाहुबली पानीपुरी' पाइन्छ।
बाहुबली यस्तो पानीपुरी हो जुन देख्दा सामान्य लाग्दैन, पुरीमाथि आलुको उरूङ लागेको कोन आकारको छ।
भारतीय फिल्म 'बाहुबली' बाट प्रेरित भएर यो नाम राखिएको पानीपुरी अड्डाका सञ्चालक सुशील साहले बताए।
'यसको नाम त बाहुबली पानीपुरी हो। तर धेरै जनाले भल्लालदेव (फिल्म बाहुबलीका अर्का मुख्य पात्र) पानीपुरी पनि भन्छन्,' उनले भने।
पछिल्लो समय भारतसँगै नेपालमा पनि ठूलो वा धेरै परिकारको सेटलाई 'बाहुबली' भनेर प्रचार गर्ने चलन बढेको छ। विभिन्न रेस्टुरेन्टहरूमा थरीथरी परिकारको बाहुबली थाली सेटदेखि ठूलो बाहुबली मःम/बर्गर लगायत पाइन थालेका छन्।
सुशीलले भने सानो पानीपुरीलाई बाहुबली बनाइदिएका हुन्।
यो पानीपुरी अरू जस्तो प्लेटमा यति, उति संख्यामा दिइँदैन। पचास रूपैयाँको एउटा आउँछ।
‘एक पिस मात्र भए पनि यो तीन वटा आलु मुछेर बनाइएको हुन्छ। त्यसबाट साधारण पानीपुरी करिब दुई प्लेट बनाउन पुग्छ,’ सुशीलले भने।
बाहुबली/भल्लालदेव पानीपुरी। तस्बिर स्रोतः मिठोमिठोमिठोको टिकटक
बाहुबली पानीपुरी साधारण पुरीमै बनेको हुन्छ। तर मुछिएको मसालेदार आलु कोन आकारमा बनाइन्छ पुरीभित्र राखेर अड्याइन्छ।
यसरी लामो आलुको माथि थप दही, सस, मसला राखिन्छ। ग्राहकले पहिले आलु खाँदै अन्तिममा पुरी खान्छन्।
सुशीलले यस्तो पानीपुरी बेच्न थालेको तीन वर्ष भयो। त्यसअघि उनी साधारण पानीपुरी, चटपटे, पापडी चाटजस्ता खाजा मात्र बेच्थे।
उनी यो व्यवसायमा लागेको १५ वर्ष भइसकेको छ। पहिले उनको पसल अहिलेको ठाउँको ठिक अगाडि थियो। त्यो सानो पसल सुशील आफ्ना दाइ र भाइसँग मिलेर चलाउँथे।
तीन वर्षअघि करिब डेढ लाख रूपैयाँ लगानी गरेर हालको ठाउँमा पसल विस्तार गरेका हुन्।
'बाहुबली पानीपुरी त्यही बेला सुरू गरेका हौं,' उनले भने।
अहिले पनि सुशील, उनका दाइ दिलीप र भाइ सुनील पालैपालो पसलमा बस्छन्।
भारतको पहाडगन्ज घर भएका सुशीलले सानैदेखि संघर्षपूर्ण जीवन बाँचे। आठ वर्षको उमेरमै दिल्लीको होटलमा काम गर्न पुगे। दुई वर्ष काम गरिसकेपछि दस वर्षको उमेरमा आठ सय रूपैयाँ बोकेर उनी एक्लै काठमाडौं आए।


'नेपाल आएर सुरूमा न्युरोडको आँगन मिठाइमा काम गरेँ। त्यहाँ विभिन्न परिकार पकाउन सिकेँ,' उनले सुनाए।
आँगनमा उनले करिब १५ वर्ष काम गरे।
आफ्नी आमाको निधनपछि उनी भारत गएका थिए। काठमाडौं फर्केर भने उनले अब आफ्नै केही काम गर्ने सोचे। त्यही सोच अनुसार केही समय उनले चिया पसल चलाए।
सुशील काठमाडौंमा भिजिसकेपछि आफ्ना दाइ दिलीप र भाइ सुनीललाई पनि बोलाए। उनीहरू बागबजारमा एक कोठा डेरा लिएर बस्न थाले। अहिले पनि उनीहरू त्यहीँ बस्छन्।
दाइभाइ आएपछि उनीहरूले डिल्लीबजारमा पानीपुरी, चटपटे, पापडी चाट पसल खोले। तीन जना मिलेर काम गर्दा राम्रै आम्दानी भयो।
तीन वर्षअगाडि अहिलेको ठाउँमा सर्दा उनीहरूले नयाँ चिज ल्याउने सोचे। उनीहरूले पुरीमा अडिने गरी आलुको लामो कोन आकार बनाएर हेरे। ठूलो पानीपुरी रमाइलो देखिने सोचेका थिए।
त्यो बनेपछि तीन दाजुभाइ आपसमा 'बाहुबली पानीपुरी' भन्दै मजाक गर्न थाले। ग्राकहकलाई पनि रमाइलै होला भन्ने सोचेर त्यही नाम राखे।
‘यो पानीपुरी स्वादसँगै रमाइलोका लागि खानेहरू धेरै छन्। ग्राहकहरू साथी–साथीबीच कसले एकैचोटि खान सक्छ भनेर प्रतिस्पर्धा पनि गर्छन्। यसले पसलमा रमाइलो बढाएको छ,' ४१ वर्षीय सुशीलले भने।


पानीपुरी अड्डामा प्रायः कलेज पढ्ने विद्यार्थी र आसपासका कार्यालयमा काम गर्ने कर्मचारीहरू आउँछन्। तीमध्ये कतिपय जना बाहुबली पानीपुरी नै खान आउने उनले बताए।
बाहुबली पानीपुरीका भिडिओहरू टिकटक र रिल्समा पनि भाइरल भएका छन्। त्यसले ग्राहक झनै बढाएको उनले बताए।
'बाहुबली पानीपुरी खोज्दै टाढा टाढाबाट पनि आउँछन्,' उनले भने, 'दिनमा करिब पचास वटा बिक्छ। अहिले जाडोयाममा चाहिँ अरू खाजा पनि धेरै बिक्छ।'
पानीपुरी अड्डा बिहान दस बजे खुल्छ। बिहान दसदेखि एघार, दिउँसो दुईदेखि तीन र साँझ पाँचदेखि छ बजेसम्म यहाँ ग्राहकको भिड नै हुन्छ।
‘पानीपुरी बेचेरै हामी तीन दाजुभाइको जीवन राम्रै बितिरहेको छ,’ सुशीलले भने, 'अब यसैलाई अझै राम्रो बनाउँदै लैजाने सोचेका छौं।'

