अस्पतालमै डाक्टरको बलात्कारपछि हत्या भएको घटनाले आन्दोलित भएको भारतमा १५० केन्द्रीय सांसद र विधायकले महिलाविरूद्ध अपराधको मुद्दा खेपिरहेको स्वीकार गरेका छन्।
पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन्।
परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेपछि कोलकातासहित भारतका विभिन्न सहरहरूमा प्रदर्शन चर्किरहेको छ।
यस्तो समयमा १५ बहालवाला केन्द्रीय सांसद र विभिन्न राज्यका १३५ विधान सभा सदस्य महिलाविरूद्ध अपराधको मुद्दा खेपिरहेको भनेर द हिन्दुले लेखेको छ।
गएको पाँच वर्षमा केन्द्रीय सांसद र विधायकले स्व-घोषणा गरेको शपथ पत्रहरूको अध्ययन गरेर एसोसिएसन अफ डेमोक्र्याटिक रिफर्म्स र नेसनल इलेक्सन वाच संस्थाले तयार पारेको प्रतिवेदनले सो खुलासा गरेको हो।
त्यसमध्ये दुई सांसद र १४ विधायकले त बलात्कारको मुद्दा खेपिरहेका छन्। भारतमा बलात्कार मुद्दामा घटीमा १० वर्ष र बढीमा जन्म कैदसम्मको सजाय हुन सक्छ।
सांसद-विधायकले खेपिरहेको महिलाविरूद्ध अपराधको मुद्दामा बलात्कार बाहेक यौन दुर्व्यवहार, अपहरण र जबरजस्ती विवाह गर्न बाध्य बनाएको लगायत आरोप छन्।
महिलाविरूद्ध अपराधको मुद्दा खेपिरहेको स्वीकार गर्नेमा सबैभन्दा धेरै सांसद-विधायक भर्खरै डाक्टरको बलात्कार पछि हत्या भएको पश्चिम बंगाल राज्यका छन्।
सो प्रतिवेदनका अनुसार पश्चिम बंगालका २५ सांसद-विधायकले त्यस्ता मुद्दा खेपिरहेका छन्। दोस्रोमा रहेको आन्ध्र प्रदेशका २१ र तेस्रोमा रहेको उडिसाका १७ छन्।
त्यस्तै सबैभन्दा ठूलो दल भारतीय जनता पार्टीका ५४ सांसद-विधायकले महिला विरूद्ध अपराधको मुद्दा खेपिरहेको स्वीकार गरेका छन् भने भारतीय कंग्रेसका २३ र तेलुगु देशमका १७ जनाले गरेका छन्।
महिलाविरूद्ध अपराधको मुद्दा खेपिरहेको स्वीकार गर्ने कतिपय सांसद-विधायकले एकै महिलाविरूद्ध पटक-पटक कसूर गरेको पनि सो प्रतिवेदनले जनाएको छ।