भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधन भएको छ।
७२ वर्षीय यचुरीको बिहीबार नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
‘हाम्रो प्रिय कमरेड महासचिव सिताराम यचुरीको आज एम्स अस्पतालमा निधन भएको छ। लाल सलाम कमरेड सिताराम यचुरी!,’ पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
महासचिव यचुरीलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। उनको स्वासप्रस्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो।
उनी सन् १९५२, अगष्ट १२ मा चेन्नाइमा जन्मिएका थिए। उनी सन् २०१५ देखि कम्युनिष्ट पार्टीको महासचिव थिए।
यचुरी भारतको राज्य सभामा १२ वर्षसम्म अर्थात् सन् २००५ देखि २०१७ सम्म सांसदको रूपमा कार्यरत रहेका थिए।
उनी बेलाबेलामा नेपाल आइराख्ने नेताहरूमध्ये पर्छन्।