भारतको झारखण्ड विधान सभामा कंग्रेस आईसहितको गठबन्धन बहुमत नजिक पुगेको छ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको साँझ ६ बजेसम्मको विवरण अनुसार झारखण्डमा कंग्रेस आई र झारखण्ड मुक्ति मोर्चासहितको गठबन्धनले ३३ सिट जितेको छ। उसले २१ सिटमा अग्रता लिइरहेको छ।
यस आधारमा कंग्रेस आईसहितको गठबन्धन बहुमत नजिक रहेको भनिएको छ। उसले अग्रता लिएको २१ सिटमध्ये ८ सिटमात्रै जितेपनि झारखण्डमा सरकार चलाउन आवश्यक न्यूनतम बहुमत पुग्छ।
भारतीय जनता पार्टीसहितको गठबन्धनले अहिलेसम्म १३ सिट जितेको छ भने १२ सिटमा अग्रता लिएको छ। उसले अधिकतम २५ सिट जित्ने सम्भावना छ।
नतिजासँगै झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन पुनः मुख्यमन्त्रीमा दोहोरिने भएका छन्। जित निश्चित भएसँगै पत्रकारहरूसँगको कुराकानीमा उनले कार्यकर्ताहरूको अथक मेहनत र आफ्नी श्रीमती कल्पना सोरेनको कारण जित सम्भव भएको बताए।
महाराष्ट्रमा भने भाजपासहितको महायुती गठबन्धनले बहुमत ल्याउने करिब निश्चित नै भएको छ।