इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरूद्ध इन्टरनेशनल क्रिमिनल कोर्ट (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ।
बिहीबार युद्ध अपराधमा संलग्न रहेको आरोपमा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनीसँगै पूर्वरक्षामन्त्री याओभ गालान्ट र हमास प्रमुख इब्राहिम अल मस्रीविरूद्ध पुर्जी जारी भएको हो। गजा क्षेत्रमा मानवताविरूद्धको अपराधमा संलग्न भएको र प्यालेस्टाइनका नागरिकको हत्यामा संलग्न रहेको भन्ने आधारहरू प्रशस्त रहेको भन्दै प्रधानमन्त्री र रक्षामन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
हमास नेता अल-मस्रीले भने सन् २०२३ अक्टोबर ७मा इसराइलमाथि आक्रमण गरी युद्ध भड्काएको र मानिसलाई बन्धक बनाएको भन्ने आरोप छ।
आइसिसीले पक्राउ पुर्जी जारी गरेको भएपनि यसले उनीहरूलाई तत्कालै पक्राउ गर्न भने सक्दैन। यसको आफ्नै प्रहरी नभएको हुँदा यसले कसैलाई पक्राउ गर्न भने सक्दैन। तर यसको सदस्य भएका राष्ट्रका प्रहरीले भने पक्राउ गर्न सक्छ। तर इसराइल भने यसको सदस्य छैन।