ग्लोबल नेपाली
सन् २०१८ देखि २०२१ सम्म माल्टा आउनको लागि नेपालीहरूलाई फाट्टफुट्ट भिसा दिएको भए पनि पछिल्लो समय कडाइ गरिएको छ।
६ लाख जनसंख्या भएको माल्टामा वार्षिक ३० लाखभन्दा धेरै पर्यटक आउँछन्। त्यसैले हस्पिटालिटी क्षेत्रमा यहाँ धेरै रोजगारीको अवसर छ। हस्पिटालिटी बाहेक कन्स्ट्रक्सन र ट्रेड वर्कमा समेत माल्टामा रोजगारीको अवसर छ।
म सन् २०१७ मा माल्टा आएँ। त्योभन्दा पहिला १ वर्ष साउदी अरबमा थिएँ।
सुरूमा म वेटर भिसामा आएको भए पनि ९ महिना जति हाउस किपिङमा काम गरेँ। त्यसपछि केएफसीमा काम गरेँ अनि केही समय हस्पिटलमा काम गरेँ। ३ वर्ष आफैले रेस्टुरेन्ट चलाएँ। अहिले मेरो ट्याक्सी व्यवसाय छ। मसँग २ वटा ट्याक्सी छन्।
पछिल्लो समय माल्टाले हस्पिटालिटीमा भन्दा कन्स्ट्रक्सन वर्कर र ट्रेड वर्करमा धेरै भिसा दिएको छ। माल्टा आउनको लागि भिसा शुल्क लगायत गरेर ४ सय युरो सुरूमा लाग्छ। जुन रकम भिसा नलागे पनि फिर्ता हुँदैन। कम्पनीले लिने शुल्क १ हजार देखि २५ सय युरोसम्म लाग्छ।
माल्टा आउनेहरू कतिले यहाँबाट अन्य देशमा जान सोच बनाएका हुन्छन्। यहाँ ५ वर्ष बसेर भाषा परीक्षा दिएपछि लामो समय बस्ने भिसा पाइन्छ। तर स्थायी बस्ने अनुमति पाइँदैन। त्यसैले यहाँ आउने अनि अन्य युरोपियन देश जाने धेरैले योजना बनाएका हुन्छन्।
विभिन्न तरिकाले ३० हजारको हाराहारीमा नेपालीहरू माल्टा आइसकेको भए पनि अहिले १० हजार मात्रै यहाँ बस्छन्। यसले पनि के देखाउँछ भने ठूलो संख्यामा नेपालीहरू अन्य देशमा स्थानान्तरण हुन्छन्।
केही समय अघिसम्म पोर्चुगल जाने धेरै हुन्थे तर अहिले पोर्चुगल जानलाई कडाइ गरेकाले स्पेन जान थालेका छन्। माल्टा गएर अन्य देशमा जान्छु भन्ने सोच बनाएकै कारणलाई कतिलाई अप्ठ्यारो परेको हुनसक्छ। यहाँ नै काम गर्छु भनेर आउनेहरूलाई खासै अप्ठ्यारो पर्दैन।
माल्टा आउनुभन्दा पहिला विभिन्न तयारी गर्न जरूरी छ। म कुन देशमा जान लागेको हो, त्यो देशको भाषा के हो, काम कस्तो छ? भन्ने जस्ता विषयमा सचेतना जरूरी छ। माल्टा जाँदा कस्तो सीप सिकेर जाने भन्नेमा समेत ध्यान दिन जरूरी छ। आफू आउने भनेको कम्पनीमै पनि धेरै कुरा बुझ्न सकिन्छ। नेपालबाट माल्टा आउँदा मेनपावरमार्फत् आइयो भने भोलिका दिनमा अप्ठ्यारो पर्दा सरकारले पहल गर्न सक्छ।
अलि पहिला माल्टाबारे बुझ्न गाह्रो थियो होला तर अहिले आफूले बुझ्नुपर्ने धेरै कुरा इन्टरेनटमै पाउन सकिन्छ।
जस्तो, वारिष्टामा आउने हो भने नेपालबाट यसको ट्रेनिङ लिएर आउनुपर्छ। यहाँ कस्तो भाषा चल्छ भन्ने बुझ्न जरूरी छ। यहाँ ९० प्रतिशत अंग्रेजी भाषा चल्छ। त्यसैले आधारभूत रूपमा अंग्रेजी जानिएको छैन भने सिकेर आउन जरूरी छ।
माल्टामा नेपाली दूतावास नभएका कारण नेपालीले धेरै समस्या भोग्नु परेको छ। पासपोर्ट नविकरणका लागि, जन्म दर्ता, बिहे दर्ता अनि छोडपत्र लगायतका थुप्रै कामका लागि यहाँ समस्या छ।
यहाँ त दूतावास भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तै बनेको छ। म आफू एनआरएनए माल्टाको अध्यक्ष भएकाले धेरै खालका समस्या मसँग ठोक्किन आउँछन्। थुप्रै प्रक्रियागत काम गरिसकेकाले मलाई नै नेपाल सरकारको अधिकृतको जति अनुभव भइसकेको जस्तो लाग्छ।
माल्टामा नेपालीको उपस्थितिलाई हेर्ने हो भने यहाँ दूतावास नै चाहिन्छ। तर दूतावास स्थापनाको लागि कूटनीतिक सम्बन्ध कस्तो छ भन्नेले अर्थ राख्ने रहेछ। अनि सरकारले पनि कति खर्च गर्न सक्छ भन्ने हो।
कुनै पनि कागजपत्र बनाउन पर्यो भने स्पेन जानुपर्छ। पहिला त बेलायत जानुपर्ने बाध्यता थियो। स्पेनमा भएपछि केही सहज भएको छ।
सरकारले तत्काल दूतावास राख्न नसके पनि श्रम सहचारी खटाए हामीलाई केही सहज हुन्थ्यो। श्रम सहचारीको माध्यमबाट यहाँ जरूरी पर्ने प्रक्रिया पूरा गर्न पाए हुन्थ्यो भन्ने हो।
(एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल(रेम्स)सँग सेतोपाटीका लागि सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]