ग्लोबल नेपाली
अर्घाखाँचीका पुष्प भट्टराईले 'मास्टर्स इन सर्जरी' पढाइ पूरा गरे। त्यसपछि, सन् २००५ मा काठमाडौं मेडिकल कलेजमा जनरल सर्जन र लेक्चररका रूपमा काम थाले।
त्यही बेला उनको दक्षिण अफ्रिकामा हुर्किएकी सरिता पाण्डेसँग बिहे भयो। सरिता नाक–कान–घाँटी रोग विशेषज्ञ हुन्। उनी दक्षिण अफ्रिकामै कार्यरत छिन्।
अन्ततः डा. पुष्प पनि दक्षिण अफ्रिका पुगे।
पुष्पलाई त्यहाँ डाक्टरको रूपमा काम गर्ने प्रक्रिया सक्न ६ महिना लाग्यो।
'त्यो अवधिमा मैले स्वयंसेवक शिक्षक भएर पढाएँ। अस्पतालमा पनि त्यसरी नै काम गरेँ,' उनले भने।
प्रक्रिया पूरा भएयता हालसम्म उनी इस्ट–लन्डन सहरस्थित फ्रेअर हस्पिटलमा कार्यरत छन्। यो ९ सय शय्या क्षमताको सरकारी अस्पताल हो। यहाँ चिकित्साको अन्डर ग्र्याजुएट र पोस्ट ग्र्याजुएट विद्यार्थीका शल्यक्रिया तालिम पनि हुन्छ।
डा. पुष्प अस्पतालमा बिरामीको शल्यक्रिया गर्छन्, विद्यार्थीलाई पढाउँछन् पनि।
'म जिआई (ग्यास्ट्रोइन्टेस्टाइनल) सर्जरीको काम गर्छु। विशेष गरेर प्यान्क्रियाज, आमाशय, पित्तथैली, एपेन्डिसाइटिस, हर्निया, पेटको संक्रमण लगायतको सर्जरी गर्नुपर्छ,' उनले भने, 'पत्थरीका कारण कलेजो अवरूद्ध भयो भने अपरेसन गर्ने डाक्टर यो अस्पतालमा म मात्रै हुँ।'


उनी महिनामा सरदर २० जना बिरामीको शल्यक्रिया गर्छन्।
पुष्पसँगै शल्यक्रिया गर्न खोज्ने बिरामी पनि हुन्छन्। केही समयअघि उनी पारिवारिक बिदामा थिए। त्यो बेला उनैले शल्यक्रिया गर्नुपर्ने चार जना बिरामी आएका थिए। तीन जनाले उनैलाई कुरे।
'एक जनाको अवस्था गम्भीर भएकाले अर्को अस्पतालमा पठाउनुपर्यो,' उनले भने।
पुष्पका अनुसार दक्षिण अफ्रिकाका सरकारी अस्पतालमा पैसा नभएका कारण कुनै पनि बिरामीको उपचार रोकिँदैन। स्वास्थ्य क्षेत्रमा राज्यको लगानी पर्याप्त छ। चिकित्सक र स्वास्थ्यकर्मीले पाउने पारिश्रमिक राम्रो छ। अस्पतालमा उपकरणको अभाव छैन।
स्वास्थ्यमा राज्य र निजी क्षेत्र दुवैको लगानी छ। कम्तीमा ८० प्रतिशत बिरामी सरकारी अस्पताल जान्छन्। निजी अस्पताल धेरै महँगा छन् तर सेवा गुणस्तरीय छ।
हाल दक्षिण अफ्रिकामा २० जना नेपाली चिकित्सक सपरिवार रहेको उनको अनुमान छ। तर नेपालीहरू कति छन् भन्ने यकिन छैन। कोरोना महामारीको समयमा झन्डै पाँच सय नेपाली आपसमा सम्पर्कमा रहेको उनले बताए। उनीहरूमध्ये कसैले रेस्टुरेन्ट, पसल चलाएका छन्। कोही राष्ट्र संघीय निकायमा काम गर्नेहरू, युनिभर्सिटीमा पढाउनेहरू छन्।
एजेन्टको फन्दामा परेर दक्षिण अफ्रिकाबाट युरोप र अमेरिका जान सजिलो हुन्छ भनेर आउनेहरू पनि भेटिन्छन्।
'कतिपय व्यक्ति सेमिनार र पढाइ भनेर पनि दक्षिण अफ्रिका पुगेका हुन्छन्। तर तीमध्ये धेरैको लक्ष्य त्यहाँबाट युरोप र अमेरिका पुग्ने हुन्छ,' उनले भने।
कतिपय नेपाली कयौं दिन जंगलको बाटो हिँडेर दक्षिण अफ्रिका पुग्छन्। दलालले उनीहरूबाट प्रतिव्यक्ति पाँच लाखदेखि १२ लाख रूपैयाँसम्म लिन्छन्। दलालले सुरूमा थोरै पैसा मागेका हुन्छन्। बाटो लागिसकेपछि थप माग्छन्। मागे अनुसार पैसा बुझाउनुपर्ने बाध्यता हुन्छ।
दक्षिण अफ्रिकामा अलपत्र परेका व्यक्तिहरू चिनियाँ र बंगाली नागरिकले चलाएका पसलमा सस्तो पारिश्रमिकमा काम गर्छन्।

'यस्ता गैरकानुनी आप्रवासीलाई प्रहरीले पक्राउ गर्यो भने पनि रोजगारी दिने व्यवसायीले पहुँच पुर्याएर छुटाइदिन्छन्। सस्तो ज्यालामा काम लगाउन पाउने भएकाले छुटाउने गरेका हुन्,' पुष्पले भने।
अर्को मुलुक जान नसकेका कतिपय गैरकानुनी आप्रवासीहरू दक्षिण अफ्रिकामै शरण लिएर बस्छन्। बिस्तारै स्थायी आवास अनुमति (पिआर) लिन्छन्, नागरिकता प्रमाणपत्र लिन्छन्, पासपोर्ट पनि लिन्छन्।
नेपालको तुलनामा दक्षिण अफ्रिकाको पासपोर्ट केही बलियो रहेकाले युरोप र अमेरिका जान सहज हुन्छ भन्ने नेपालीहरूको धारणा छ। बेलायतले दक्षिण अफ्रिकाको पासपोर्ट भएका व्यक्तिलाई आगमन (अन–अराइभल) भिसा दिन्थ्यो तर हालै बन्द भएको छ।
दक्षिण अफ्रिका पाइलटको र मेडिकल क्षेत्रको तालिमका लागि राम्रो मानिन्छ। यसबाहेक अन्यत्र कुनै आकर्षण नरहेको डा. पुष्प बताउँछन्।
करिब दुई दशक लामो बसाइले होला, उनलाई भने दक्षिण अफ्रिका प्यारो लाग्छ।
'दक्षिण अफ्रिकामा आएर पनि मैले धेरै पैसा कमाएँ भन्ने होइन, तर मेरो सबै आवश्यकता पूरा भएको छ,' उनले भने।
पुष्प जुन बेला दक्षिण अफ्रिका गएका थिए, त्यो बेला त्यहाँ विकास निर्माण र शान्ति सुरक्षाको स्थिति निकै राम्रो थियो। तुलनात्मक रूपमा हेर्दा केही वर्षयता खस्किएको छ। हिंसा घटना, लुटपाट, लागुऔषध र रक्सी सेवन गर्ने युवाको संख्या बढ्दो छ।
सुनखानी र कृषि क्षेत्र धेरै राम्रो भए पनि बढ्दो हिंसाले कृषिमा मान्छेको चासो घटेको छ। उद्योगहरूमा पनि समस्या देखिएको छ। बेरोजगारी ४० प्रतिशत छ। सरकारको केही गलत नीतिका कारण अवस्था खराब बन्दै गएको उनको बुझाइ छ।
'राम्रा कृषि फर्म र उद्योग सरकारले किनेर निजी क्षेत्रलाई सस्तोमा बेच्यो। अनुभवहीन सञ्चालकले राम्ररी चलाउन सकेनन्। कुनै बेला श्वेत जातिले अश्वेत जातिलाई हेप्थे, पछि त्यसको ठीक उल्टो भयो। नेल्सन मन्डेलाले लिएको माफीको नीति कार्यान्वयन नहुँदा समस्या भएको छ,' पुष्पले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]