ग्लोबल नेपाली
हेटौंडाका शोषित दवाडी अस्ट्रेलिया छँदा पनि उनको मन नेपालमै थियो। सधैंजसो मन हेटौंडा वरिपरि नै घुमिरहन्थ्यो।
उनी सन् २००८ मा अकाउन्टेन्ट विषय अध्ययनका सिलसिलामा अस्ट्रेलिया गएका थिए।
'मलाई विदेश जानै मन थिएन। आमाबुबाले आखिर बाहिरी संसार भनेको बाहिरी संसारै हो, जानुपर्छ भनेर जबरजस्ती गरेपछि गएको थिएँ,' उनले सुनाए।
सन् २०११ मा बिदामा उनी नेपाल आए। बिहे गरेर फेरि अस्ट्रेलिया फर्किए। सन् २०१२ मा श्रीमती पनि साथै लगे। सन् २०१३ मा पढाइ सकिएपछि पनि उनी फर्किन खोजेका थिए। तर घरबाट अहिले नफर्क भने। उनी केही वर्ष उतै रोकिए।
पढाइ सकेपछि लगभग तीन वर्षजति अकाउन्टेन्टका रूपमा काम गरे। सुरूमा काम सजिलै लाग्यो। तर जति काम गर्दै गए, उति गाह्रो हुन थाल्यो।
'नयाँ नयाँमा ठीकै लागेको थियो। पुरानो हुँदै गएपछि उति नै धेरै चाप र तनाव भयो। अनि कामै छाडेँ,' शोषितले भने।
उनी जसोतसो केही वर्ष अस्ट्रेलियामा टिके। सन् २०१९ मा श्रीमतीसहित नेपाल फर्किए।
उनले अस्ट्रेलिया छँदै नेपाल गएर कृषिमा केही काम गर्छु भन्ने सोचिसकेका थिए। हेटौंडामा बाख्रापालन गर्ने खेस्रा योजना थियो। अस्ट्रेलियामा केही कृषि फर्महरू हेर्न पनि गएका थिए।
नेपालमा उनी विभिन्न ठाउँ पुगेर कृषि फर्महरू घुमे। बजार बुझे।
'कालिज पालनको राम्रो सम्भावना देखियो,' शोषितले भने, 'त्यसपछि चिनजानका दुई जना साथीसँग मिलेर कालिज फर्म र सँगै रिसोर्ट पनि खोलेँ। तीन जनाले दुई करोड ३८ लाख रूपैयाँ लगानी गर्यौं।'
उनीहरूले हेटौंडा–११ सहिद स्मारक नजिकै डाङडुङेमा दुई बिघा जग्गा भाडामा लिए। एक बिघामा कालिज पालन सुरू गरे। छेवैमा 'कालिज गार्डेन इको रिसोर्ट' खोले। रिसोर्टमा 'जाइन्ट स्विङ' (ठूलो पिङ) र अन्य केही आकर्षक संरचना बनाए।
कालिज फार्म नजिकै भएकाले रिसोर्टको नाम नै कालिज गार्डेन राखेका थिए।
शोषितका अनुसार रिसोर्ट सुरूदेखि नै लोकप्रिय भयो। त्यहाँको विशेष परिकार कालिज नै थियो। हेटौंडा हुँदै देशका विभिन्न ठाउँमा आवतजावत गर्नेहरू कालिजको स्वाद लिन त्यहाँ पुग्न थाले।
रिसोर्टले कालिजसँगै लोकल कुखुरा, खसी र अन्य स्थानीय परिकारहरू पस्किन्थ्यो। सेवाग्राहीको निकै भिड लाग्यो। एक साता अगाडिदेखि नै बुकिङ गर्नुपर्ने अवस्था भयो।
रिसोर्ट र फर्ममा १४ जनाले काम गर्थे।
उनीहरूलाई कालिज फर्मबाट चाहिँ सोचे अनुसार फाइदा भएन।


शोषितहरूले व्यवसाय थाल्दा कालिजको एउटा चल्लालाई १५ सय रूपैयाँ पर्थ्यो। उनीहरूले भने अण्डा नै मगाएर चल्ला तयार गरे। यसो गर्दा पनि एउटा चल्लाको ११ सय रूपैयाँजस्तो पर्यो।
सुरूको वर्ष उनीहरूले १३ हजार हाराहारी चल्ला बेचे। त्यति बेलासम्म चल्लाको मूल्य घटेकाले प्रतिगोटा ३ सयदेखि ५ सय रूपैयाँसम्म बेच्नुपर्यो। दोस्रो वर्ष ९ हजार हाराहारी चल्ला बेचे। त्यस बेला मूल्य अझै घटेको थियो। साढे दुई सय रूपैयाँ गोटा हाराहारीमा बेचे।
'मान्छेहरूले घरमै पाँच–दस वटा कालिज पाल्न थाले। कालिजले एक पटकमा ३० देखि ५० वटा अण्डा दिन्छ। उनीहरूको व्यावसायिक पालन नभएकाले धेरै अण्डा/चल्ला राख्ने ठाउँ भएन। अनि सस्तोमा बेच्न थाले। यस्तो अस्वस्थ प्रतिस्पर्धाले कालिजको चल्लाको मूल्य सस्तियो,' उनले सुनाए।
रिसोर्टमा पकाएर खुवाउने र खानयोग्य भइसकेका कालिज पनि बेचिने हुँदा व्यवसाय भने राम्रै थियो। दुई वर्षमा लगानी उठिसकेर उनीहरू नाफामा थिए।
तेस्रो वर्षबाट यो अवस्था फेरियो।
देशमा आर्थिक मन्दी सुरू भएसँगै उनीहरूको व्यापार ओरालो लाग्न थाल्यो। त्यति बेलै फर्ममा न्याउरी मुसा पसेर एक सातामा ९५ प्रतिशत कालिज खाइदियो।
'त्यसपछि त ठप्पै भयो नि। ठूलो घाटा भयो,' शोषितले सुनाए, 'रिसोर्टमा चाहिने कालिज अन्तबाट मगाउनुपर्यो। एउटाको तीन हजार देखि ३५ सय रूपैयाँसम्म पर्थ्यो।'
रिसोर्टको माग अनुसार उनीहरू एक पटकमा बीसदेखि सय वटासम्म कालिज ल्याउँदै चलाउन थाले। तर कहिले पाइन्थ्यो, कहिले पाइन्थेन। रिसोर्टको मुख्य आकर्षण नै अस्थिर भएपछि व्यापार घट्दै गयो। नियमित ग्राहक पनि रिसोर्ट आउन छाडे।
'व्यापार राम्रो हुन्जेल पार्टनरहरूसँग सम्बन्ध राम्रो थियो। पछि कुरा मिल्न छाड्यो। अनि रिसोर्ट, फर्म यतिकै बन्द गरियो,' शोषितले भने।
डेढ वर्षजति बन्द भएको फर्म र रिसोर्ट गत साल असार १ गतेदेखि शोषितले फेरि सुरू गरेका छन्। यसपटक उनले साझेदार राखेनन्, एक्लै चलाइरहेका छन्।
साथीहरूले रिसोर्ट र फार्म बेच्ने निधो गरेपछि आफैले लिएको उनले बताए।
'अरू नै मानिसलाई बेच्ने कुरा थियो। मैले जतिमा बेच्ने हो, त्यतिमा मै किन्छु भनेर लिएँ,' उनले सुनाए।

फर्म र रिसोर्टमा ४० प्रतिशत सेयर शोषितको थियो। बन्द व्यवसायको मूल्य कम भइसकेकाले सबै हिसाब गरेर शोषितले एक करोड रूपैयाँ दिए।
अनि दुई सय रूपैयाँ गोटाका पाँच सय वटा कालिजका चल्ला राखेर फेरि काम सुरू गरे। केही समयअघि दिनभर लगातार पानी पर्दा र हावाहुरी चल्दा बिजुली काटियो। केही चल्ला मरे। अहिले ४२० वटा जति छन्।
'कालिजका चल्लालाई तीन हप्तासम्म ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। राति चिसो हुनाले तापक्रम मिलाउपर्छ। बिजुली जान्छ भन्ने भएन, जेनेरेटर पनि राखेको थिइनँ। बत्ती गएपछि तातोका लागि चल्ला एकै ठाउँ गुजुल्टिए। तल थिचिएकाहरू निसास्सिएर मरे,' उनले सुनाए।
अहिले चल्ला हुर्किरहेकाले अर्को वर्षदेखि राम्रो हुने उनले बताए।
शोषितले एकल लगानीमा चलाउन थालेपछि रिसोर्टको नाम पनि फेरेका छन्।
नयाँ नाम हो — मकवानपुर ग्रीन भ्यू।
अहिले पनि रिसोर्टले कालिजसँगै लोकल कुखुरा, खसीको मासु, मेवा साँधेको, केराको मःम लगायत विभिन्न परिकार पस्किन्छ। कालिज उनले बाहिरबाट ल्याइरहेका छन्। लोकल कुखुरा स्थानीय किसानसँग किन्छन्। बीस वटा जति खसी उनले पालेका छन्।
रिसोर्टमा ६५ जना बस्ने क्षमता छ। देशका कुनाकुनाबाट कालिज खान आउने ग्राहक संख्या राम्रै छ।
'यहाँ आउनेहरू समय निकालेर खबर गरेरै आउँछन्। हामी यति जना आउँदैछौं, हाम्रो लागि यो बनाइदिनू भनेपछि तयार गर्छौं। कतिपयले आइसकेपछि तयार गर्न लगाउँछन्,' उनले भने।
रिसोर्टमा अहिले मासिक ३० देखि ५० वटासम्म कालिज खपत भइरहेको छ। यहाँ शोषित, उनकी श्रीमती र अन्य चार जनाले काम गर्छन्।
लामो समय थलिएपछि भर्खर सुरूआत गरेको कामले बिस्तारै लय लिँदै गरेको उनले बताए।
'औसतमा महिनाको ५ लाख रूपैयाँसम्म कारोबार भएको छ। ठूलो घाटा भए पनि फेरि उठ्ने हिम्मत गरेको छु,' शोषितले भने, 'अब मलाई यहाँ एग्रो–टुरिजम विकास गर्नुछ। यसका लागि सोचिरहेको छु। जग्गा पनि प्रशस्त छ। यसको सदुपयोग गरौं भनेर लागेको छु।'
