ग्लोबल नेपाली
दोलखाका लोकबहादुर मगर रोजगारीका लागि २०६९ सालतिर दक्षिण कोरिया गएका थिए। प्रत्येक वर्ष बिदामा एक पटक घर आउँथे।
घर आएका बेला नेपालमै बसूँ कि फर्कूँ भन्ने दोधारमा पर्थे। फर्किने दिन नजिक आउँदै गर्दा दक्षिण कोरियामा हुने कमाइ सम्झिन्थे र उतैको बाटो लाग्थे।
लोक २०५९ सालमा दोलखाबाट काठमाडौं आएका थिए। प्रारम्भिक दिनमा काठमाडौंमा बाँच्न अनेक कष्ट गरे। होटलमा भाँडा माझे, गाडी चलाए। जे आइपर्छ, त्यही काम गरे।
'पाँच वर्षमा मुस्किलले ६५ हजार रूपैयाँ जम्मा भएको थियो। त्यही वर्ष मैले एक जना साथीसँग संयुक्त लगानीमा एउटा ट्याक्सी किनेँ,' उनले भने।
आफूसँग भएको पैसामा ऋणसमेत थपेर दुई लाख रूपैयाँ पुर्याए। थप दुई लाख रूपैयाँ बैंकबाट ऋण लिए।
काम गर्दै जाँदा २०६७ सालमा ट्याक्सी किनबेचको कारोबार पनि गरे। जेनतेन व्यवहार चल्दै थियो। तर उनी एक पटक विदेश गएर कमाउन चाहन्थे। त्यसै अनुसार कोरिया गए।
'कोरिया गएर जस्तोसुकै काम गर्न पनि तयार छु भन्ने मनस्थिति थियो। काममा कुनै असहजता अनुभव गरिनँ,' लोकले भने।
उनका अनुसार कोरियामा शारीरिक श्रमको कामलाई मानिसहरू 'थ्री–डी' भन्छन्। यसो भनेर उनीहरू श्रमको काम डिफिकल्ट (कठिन), डेन्जर (खतरनाक) र डर्टी (फोहोरी) हुन्छ भन्ने अर्थमा व्याख्या गर्छन्।
कोरियामा कामको पारिश्रमिक सन्तोषजनक थियो। ११ वर्ष त्यहाँ बिताएपछि भने लोकलाई आफ्नै देशमा काम गर्न सके हुन्थ्यो भन्ने लाग्यो।
'एक पटक विदेश जानैपर्छ भन्ने सोचेर गएँ। उतै ११ वर्ष काम गरेँ,' उनले भने, 'कोरियामा कार्टन बनाउने कम्पनीमा सात वर्ष काम गरेँ। त्यसपछि एउटा रेस्टुरेन्टमा गाडीको काम गरेँ।'
दुई वर्षअघि उनी नेपाल फर्के। यहाँ उनका कतिपय साथीहरू व्यवसायमा धेरै अगाडि बढेका थिए भने कोही निकै पछाडि थिए। उनले कसैलाई हेरेनन्। आफ्नो पहलमा, भिनाजु हीरा मगर र साथी हेमन्त राईलाई समेटे र संयुक्त लगानीमा कोटेश्वरको नरेफाँटमा 'लोक अटोमोबाइल्स' सुरू गरे।
लोक सो कम्पनीका अध्यक्ष हुन्।

कम्पनीले पुराना गाडी खरिद–बिक्रीको काम गर्छ।
'हामी मुख्य रूपमा पुराना गाडी किनबेचको काम गर्छौं। गाडी रिकन्डिसनसहित बिक्री गर्छौं,' लोकले भने, 'नयाँ गाडी खोज्नेका लागि पनि व्यवस्था गरिदिन्छौं।'
प्रारम्भमा काम गर्न अलि कठिन भए पनि बिस्तारै सहज हुँदै गएर कारोबार बढेको उनले बताए। हाल कम्पनीमा १२ जना कर्मचारी छन्।
पुराना गाडी खरिद, मर्मत र बिक्रीको काम गर्ने भएकाले केही प्राविधिक अप्ठ्याराहरू भने भोग्नुपर्छ।
'यो व्यवसायमा निकै ठूलो चुनौती पनि अनुभव गरेको छु,' उनले भने, 'यातायात कार्यालयमा कागजपत्र मिलाउन समस्या पर्ने गरेको छ। कर्मचारीले अनावश्यक दुःख दिन खोज्छन्।'
अनेक कठिनाइबीच पनि व्यवसायमा उनी सन्तुष्ट छन्।
'सुरूमा मैले जम्मा गरेको नगद, जिन्सी सबै राखेर लगानी गरेँ। अहिले यसले फिर्ता दिन थालेको छ,' उनले भने, 'कहिलेकाहीँ त कोरिया अलि धेरै बसिएछ कि जस्तो पनि लाग्छ। अलि चाँडो आएको भए अलिक अघि बढिएको हुन्थ्यो होला। तर ढिलै भए पनि आफ्नै देशमा आफ्नै व्यवसाय गरेकामा सन्तुष्ट छु।'