साउदी अरबमा ब्लडमनी तिर्न नसकेर जेल परेर पनि स्वदेश फर्कन नपाएका झापाका प्रशान्त लिम्बुलाई घर फर्काउन अभियान चलाइने भएको छ।
प्रशान्तले २ लाख ४० हजार रियाल अर्थात ७० लाख रूपैयाँ ब्लडमनी तिरे मात्र नेपाल फर्कन पाउने साउदी अदालतले फैसला गरे पछि उनी रकम अभावमा साउदी मै छन्।
सन् २०१७ को अप्रिलमा प्रशान्तले चलाएको गाडीको ठक्करबाट एक साउदी नागरिकको ज्यान गए पछि थियो। सोही अभियोगमा उनी जेल परेका थिए।
आवश्यक २ लाख ४० हजारमध्ये उनी कार्यरत कम्पनीले १ लाख रियाल दिए पछि जेल मुक्त भएका उनी बाँकी रकम अभावमा साउदीमै साथीहरुको सहयोगमा बसिरहेका छन्।
यसैबीच आवश्यक रकम जुटाउन प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ब्लडमनी सकंलनको घोषणा गरेको छ।
यसअघि पिएनसीसीकै पहलमा साउदीबाटै नवलपरासीका थानेश्वर भुसालको उद्धार गरिएको थियो। उनले तिर्नु पर्ने ब्लडमनि वापतको झण्डै ४५ लाख रुपैयाँ जुटाउन पिएनसीसी, एनआरएन लगायत देश विदेमा रहेका विभिन्न संघसंस्था मार्फत नेपालीले सहयोग गरेपछि भुसाल नेपाल फर्किसकेका छन् ।
भुसालको उद्धारपछि पिएनसिसीले प्रशान्तको उद्धारका लागि आवश्यक ब्लडमनि जुटाउन अभियान चलाउने भएको हो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न लागिएको संस्थाले जनाएको छ।
झापाको बुद्धशाान्ति गाउँपालिका–४ का प्रशान्त जुलाई २०१६ मा ड्राइभर भिसामा साउदीको कारम अल खालिज कम्पनीमा गएका थिए।
साउदी पुगेको आठ महिनामै उनी दुर्घटनामा परेका हुन्।