हरेक व्यक्तिको जीवनमा साथीले ठूलो भूमिका निभाएको हुन्छ। साथीसँग हामी रूने, हाँस्ने, रिसाउने, घुम्ने जस्ता बिभिन्न क्रियाकलापहरु गर्छौं। मलाई के लाग्छ भने कुनै कुनै परिस्थितिमा साथी त अभिभावक भन्दा पनि विश्वासयोग्य हुन्छन्।
मेरो जीवनमा पनि त्यस्ता केही साथीहरू छन् जसको कारण मैले जीवनका सुख–दुःख र आनन्दका क्षणको अनुभव गरेकी छु। म जन्मिएदेखि १२ वर्षसम्म सँगै रहेको मेरो साथी प्रभा भक्तपुरको कुनै अर्को विद्यालयमा पढ्न गएर भौतिक रुपमा टाढा भएपछि म असाध्यै एक्लो भएकी थिएँ।
मलाई स्कूलमा पनि कुनै साथीसँग घुलमिल गर्न त्यतिसारो मन लाग्दैनथ्यो । ऐनामा आफैलाई साथी बनाएर भएर गफ गरेर बस्थेँ। म एक्लै रहँदा पनि आफैंसित सम्वाद गरिरहन्थेँ। शिक्षक शिक्षिकाहरुले मलाई अरुसँग घुलमिल गर्न प्रोत्साहित गर्नुहुन्थ्यो । तर पनि म एक्लै हिंडिरहन्थेँ।
केही महिनापछि मेरो जीवनमा साथीको कमी पूरा गर्ने नियुक्ति नामकी एक साथी मेरो खालिपनलाई भर्न आइन्। उनको परिवार केही महिनाको लागि मेरो घरको तल्लो तलामा बस्न आइपुगेको थियो। पहिलो पटक भेट्ता हामी तेतिसारो बोलेनौं।
मैले अंग्रेजीमा बोलेको कारण नियुक्तिले मलाई विदेशी पो भन्ठानीछन्। त्यसपछि, मैले नेपालीमा मात्र नभएर हिन्दीमा पनि बोलेर सुनाएँ। त्यहीँ कारणले उनी आश्चर्यमा परिन्। उनी पनि आफ्नो टोलमा भएका साथीहरुसित टाढा बस्नु परेकोले असाध्यै दुःखी भएर रुने गर्दिरहिछन् ।
प्रथम त्रैमासिक परीक्षा नजिक आइरहेको थियो। हामी दुबै जना चिन्तित थियौं। हामीले आफ्नो परीक्षा समाप्त भएपछि भेट्ने योजना बनायौं र केही समयमै राम्रो साथी बन्यौं।
मलाई एक्लै बजार जान सारै डर लाग्छ र आँट आउँदैन। तर नियुक्ति भएको बेलामा म आफ्नो दशैंमा पाएको दक्षिणा लिएर अभिभावकलाई नसोधेर नै नजिकै रहेको चौरछेउको पसलबाट झुम्का, नेलपोलिस जस्तो सामानहरु किनेर आफ्ना रहरहरु पुरा गर्थेँ। नियुक्ति र म आफ्ना दिनभरीका राम्रा र नराम्रा लागेका घटनाहरु एक आपसमा बाँड्ने गथ्र्यौं।
एक पटक हामीले बिहान ५ बजे व्यायाम गर्ने योजना बनायौं। म चार घण्टा अगाडिदेखिनै नियुक्तिको प्रतिक्षा गरेर ढोका उघारेर कुरेर बसेँ। मलाई निद्रा नपुगेको देखेर मेरा अभिभावक चिन्तित भएर नियुक्तिलाई बिहान नआउन अनुरोध गर्नुभयो।
नियुक्तिसित घुम्न जाँदा मलाई जतिसुकै खान मन नलागे पनि कुल्फी, पानीपुरी, चटपटे अलिकति भए पनि म नियुक्तिको लागि खान्थेंँ। नियुक्तिले मेरा समस्याहरु खोज्न र मेरा इच्छाहरु पुरा गर्न मद्दत गर्थिन्। म कहिललेकाहीं नियुक्तिको अंग्रेजी गृहकार्य र अरु सानोतिनो काममा सहयोग गर्थें।
हामी दुबैजनाको आ–आफ्ना आमासित कुनैकुनै कुरामा ठाकठुक पथ्र्यो। हामी आमाहरुले भन्ने र हामीले जवाफ फर्काउने उत्तरहरुको विषयमा पनि छलफल गथ्र्याैं। नियुक्ति र म अर्थात हामी दुबैलाई गणितमा तेति सारो रुचि लाग्दैनथ्यो। त्यस कारणले हामी गणितको कुरा काट्तै बस्थ्यौं।
अभिभावकसित गुनासो भएको बेलामा हामी चौरमा घुम्न जान्थ्यौं । केही बेर त्यहीं बसेर समय कटाउँथ्यौं। हामीले भन्ने कुरा र हाम्रो रुचि मिल्दोजुल्दो भएको हुनाले हामी कम समयमै अभिन्न साथी भयौं। र, नियुक्तिले मलाई ऋतम्भरा भनेर बोलाउने बित्तिकै म नियुक्ति भएको ठाउँमा पुगिहाल्थेँ।
एकपटक हामी दुबैजना सँधै जस्तै चौरतिर घुम्न गएका थियौं। बाटोमा एक हुल बाँदरसँग जम्काभेट भयो। म डरले काँप्न थालेँ। तर मसँगै नियुक्ति पनि छिन् भन्ने सम्झेर केही आँट बटुलेँ। हामी एक अर्काको हात समातेर केही परेमा मिलेर सामना गर्ने अठोटका साथ अघि बढ्यौँ र घर पुग्यौं।
नियुक्तिको हौसला नपाएको भए म डरले त्यहीँ बेहोस हुन्थेँ होला। कुकुरसँग डराउने मेरो बानी सुधार्न पनि नियुक्तिले धेरै प्रयास गरिन्। शुरुशुरुमा उनको कुकुर लक्किसँग मलाई असाध्यै डर लाग्थ्यो। उनी मलाई लक्किसँग खेल्न प्रोत्साहन दिन्थिन्। त्यसपछि मैले लक्किलाई केही खानेकुरा खुवाउन समेत आँट गर्न थालेँ।
हामीले एकअर्कासँग नाच्ने, गाउने, अभिनय गर्ने गर्दथ्यौं। नियुक्तिको नाच्ने सीप र क्षमता धेरै राम्रो छ। तर अफसोच, केही दिनपछि नियुक्ति फेरि पहिले बसेको पुरानै ठाउँमा आफ्नो आमा, बा र दाजुसँगै बस्न गइन्।
हामीले एकअर्कासँग बढीमा चार महिना जति बिताएका थियौं। तर पनि नियुक्तिले मेरो जीवनमा ठूलो भूमिका निभाएर गइन्। उनीसित बिताएका ती चार महिना मेरो जीवनमा अविस्मरणीय रह्यो। नियुक्ति जस्तो हर क्षणमा साथ दिने र सहयोग गर्न तत्पर हुने साथीको साथ पाएर हरेकले आफ्नो एक्लोपन मेटाउन पाउन् भन्ने म चाहन्छु। तिमीसँग बिताएका हरेक पल म सँधै सम्झिरहने छु, नियुक्ति ।