कालिमाटी फलफूल तथा तरकारी बजारमा नियम विपरित ३१ वटा स्टल सञ्चालनमा रहेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हट्नको लागि सूचना दिँदा पनि व्यापारीले अटेर गरी स्टल सञ्चालनमा ल्याएका हुन्।
समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ वटा स्टल नियम विपरित सञ्चालन भइरहेको बताए। ‘हामीले बारम्बार हट्नको लागि सूचना निकालेका छौँ, तै पनि उनीहरू अटेर गरेर बसिरहेका छन्’, निर्देशक पौडेलले भने।
उनका अनुसार समितिले १५ दिनको, ७/७ दिनको गरेर ३/४ पटक नै व्यापारीलाई हट्न सूचना निकालेको हो। सूचनालाई वेवास्ता गर्दै व्यापारीले स्टल हटाएका छैनन्।
‘व्यापारीलाई स्टल हटाउन निर्देशन दिएपछि हामीले भाडा लिएका छैनौँ’ निर्देशक पौडेलले भने, ‘व्यापारीले अटेर गरिदिँदा हामीलाई महिनाको करिब साढे दुई लाख घाटा लागेको छ।’
उनका अनुसार एउटा स्टलको भाडा ८ देखि १० हजार रुपैयाँसम्म लिइने गरेको छ। ती स्टलले असोज २ गते देखि भाडा तिरेका छैनन्। यी स्टलहरूलाई हटाउन मन्त्रालयमा स्टल वितरणको कार्यविधि बनिरहेको पौडेललले जानकारी दिए।
‘स्टल वितरणको कार्यविधि बनिरहेको छ, सोही अनुसार अब छिट्टै यी स्टल हट्ने छन्’, निर्देशक पौडेलले भने। सरकारले कालिमाटी बजारको अनियमिततालाई मध्यनजर गर्दै गत भदौ महिनामा बजारको अनुगमन गरेको थियो।
अनुगमनमा कालिमाटीमा सञ्चालन भएका १ सय ७ स्टलमध्ये ५८ वटा स्टल सञ्चालन सम्झौता विपरित भएपछि हटाउन निर्देशन दिइएको थियो।
ती ५८ स्टलमध्ये २७ ले अदालतमा मुद्दा दायर गरे।
अदालतले अहिले निर्णय कार्यान्वयन नगर्नु भनेर समितिलाई स्टे अर्डर दियो। सोही स्टे अर्डरको आधारमा २७ वटा स्टल सञ्चालनमा छन्। ति स्टलले भने भाडा बुझाउने गरेका छन्। तिबाहेक ३१ वटा स्टल नियम विपरित सञ्चालनमा छन्।