राष्ट्रिय किसान आयोगले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय किसान सम्मेलनमा खास किसानको सहभागिता नरहेको उपस्थित किसानहरूले बताए।
किसान सम्मेलनमा सम्मेलित भएका कृष्ण प्रसाद पाठकले किसान सम्मेनलमा खास किसानको सहभागिता नरहेको गुनासो गरे। उनी पाल्पा जिल्ला रम्बा गाउँपालिकाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन्।
‘अन्तर्राष्ट्रिय किसान सम्मेलनमा जुन अपेक्षा राखेर आएको थिएँ, त्यस्तो पाइनँ’, उनले भने, ‘सहकारी मोडलमा पोलिसी पास होला र त्यसबाट हामीलाई केही फाइदा होला भन्ने थियो। यहाँ त नेताहरूको चर्को भाषण मात्र भयो।’
अन्तर्राष्ट्रिय किसान सम्मेलन हुनु त राम्रै हो। तर, खास किसानको सहभागिता हुँदैन भने सम्मेलन गर्नुको कुनै औचित्य नहुने उनले बताए। उनी सम्मेलनमा १/२ प्रतिशत मात्र खास किसानको सहभागिता भएको बताउँछन्।
‘सम्मेलनमा विभिन्न देशबाट आएका किसान र हामीबीच अन्तर्क्रिया कार्यक्रम होला। उनीहरूसँग सिक्ने सिकाउने केही वातावरण होला भन्ने सोचेको थिएँ। तर त्यस्तो पाइँन’, उनले गुनासो गर्दै भने, ‘सम्मेलनमा प्राइमरी वर्कर्स नगन्य मात्रामा देखियो। राजनीति क्षेत्रबाट चुनिएका किसानका नेताहरूको बढी सहभागिता रह्यो।’
गोर्खा, पालुङटार नगरपालिकाका किसान राजनराज पन्त सम्मेलनमा थोरै मात्रामा किसानको सहभागिता भएको बताउँछन्।
‘आयोगले साना र ठूला किसान दुवैलाई समेटेर अघि बढ्ला भन्ने थियो। यहाँ सहकारी आन्दोलन त धेरै भए तर सहकार्यको आन्दोलन भने हुन सकेन’, उनले भने।
किसान सम्मेलनमा रवर उद्योगको विषयमा कुरा भइरहेको भन्दै उनले यहाँ रवर उद्योगको कुरा गर्ने होकि कृषि क्षेत्रको? भनि प्रश्न गरे।
सर्लाहीका बलराम नगरपालिकाका अलक प्रसाद सिन सम्मेलनमा आफूले भाषा नै नबुझेको गुनासो गरे। उनी राष्ट्रिय किसान सङ्घका उपाध्यक्ष हुन्।
‘सम्मेलनमा के के विषयमा कुरा भए मैले उनीहरूको भाषा नै बुझिनँ। सबै विदेशीले अङ्ग्रेजी बोले। हिन्दी, नेपाली भएको भए बुझ्थेँ’, उनले भने, ‘आफ्नो जिल्लाको कृषि क्षेत्रका समस्याबारे मैले आयोगलाई जानकारी गराएँ।’
सम्मेलनमा सहभागी काभ्रे जिल्लास्थित अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रको केन्द्रीय सचिवालयमा कार्यरत निर्मला गौतमले सम्मेलनमा खाद्य सम्प्रभूता, खाद्य अधिकार र किसानका अधिकारका बारेमा छलफल भएको बताइन्।
अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिका उपाध्यक्ष तथा पूर्व कृषि विकास मन्त्री हरी पराजुलीले कार्यपत्रमा किसानका समस्याका समाधानका उपाय भन्दा पनि के के समस्यामा झुलिरहेका छन् तिनलाई केके गर्नुपर्छ भन्ने आधारमा कार्यपत्र प्रस्तुत भएको बताए।
आयोगले निकालेको घोषणा पत्रले वर्तमान सरकार र पोलीसी मेकरहरूले विद्यमान नेपालको कृषि क्षेत्रमा उभिएर बनाउनुपर्ने नीति र त्यसले समग्र किसानको हकहितलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारे मार्गदर्शन दिएको उनले बताए।
खास कृषि उत्पादनको क्षेत्रमा काम गरिरहेका किसान जो छ उ अझै पनि नीति–नियम बनाउने मूल प्रवाहमा आउन नसकेकाले किसानका समस्याहरू अझ बढ्दै गएको उनको भनाई छ।
आयोगका प्रवक्ता रवि केसीले सम्मेलनमा नेपालका ७७ जिल्ला समेट्नेगरी किसान प्रतिनिधी तथा विदेशी किसान प्रतिनिधीको सहभागिता रहेको बताए।
‘सम्मेलनबाट अन्य देशका किसानले लिएको हकअधिकार र उचित नीतिमार्फत हाम्रो मार्ग बनाउन सहयोग पुग्ने देखिन्छ,’ उनले भने।
काठमाडौंमा फागुन २६ गते देखि सुरू भएको अन्तर्राष्ट्रिय किसान सम्मेलन २७ गते सकिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरे भने समापन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरे।
सम्मेलनमा दक्षिण कोरिया, मलेसिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, भारत, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशबाट आएका विदेशी पाहुनालाई आज केही महत्वपूर्ण ठाउँ घुमाएर बेलुका बिदा गरिने आयोगले जानकारी दिएको छ।