भारतसँगको सीमा क्षेत्र (बोर्डर)मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुँदा उत्पादित कृषिजन्य उपजको निर्यातमा कठिनाई भएको छ।
उत्पादित कृषिजन्य वस्तुको गुणस्तर परीक्षणपछि मात्रै भारततर्फ निकासी हुने गर्छ। तर सीमा क्षेत्रमा प्रयोगशाला नहुँदा निर्यातकर्तालाई उत्पादनको गुणस्तर परीक्षण गर्न कि काठमाडौं आउनुपर्ने अन्यथा भारतमै जानुपर्ने बाध्यता छ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशालालाई भर्खरै भारतीय नेशनल बोर्ड अफ एक्रिडिटेशनले मान्यता दिएको हो। व्यवसायीहरुले यो प्रयोगशालामा उत्पादनको परीक्षण गरी निर्यात गर्न सक्छन्। तर काठमाडौंमा उत्पादन ल्याएर परीक्षण गर्न झन्झट हुने भएकाले बोर्डर एरियामै प्रयोगशाला हुनुपर्नेमा व्यवसायीको जोड छ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिमल्सिनाले काठमाडौंमा उत्पादन लगेर परीक्षण गर्न असहज हुने बताए। ‘पूर्वी क्षेत्र निर्यातजन्य कृषि उत्पादनका लागि अब्बल छ, त्यसकारण यहाँको बोर्डरमा सरकारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला निर्माण गर्नु अपरिहार्य भएको छ’, उनले भने। पूर्वको बोर्डरबाट खासगरी चिया, अलैंची र अदुवाको निर्यात उच्च छ।
सीमा क्षेत्रमा अन्तरर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला बने देशको निर्यात क्षमता बृद्धि भई आर्थिक आर्जन बढ्ने उनको दावी छ। चिया निर्यातकर्ता चण्डी पराजुली गुणस्तर जाँचको लागि कोलकत्ता लैजाने गरेको बताउँछन्।
‘केही नहुनु भन्दा नेपालको एउटा प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु राम्रो कुरा हो’, उनले भने, ‘तर यसलाई मात्र उपलव्धी नमानी बोर्डर एरिमा नै यस्ता प्रयोगशाला बनाउन तिर सरकारले ध्यान दिनुपर्छ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती तत्काल बोर्डर एरियामा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्न नसकिने बताउँछन्।
भर्खर मात्र एउटा प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ’, उनले भने, ‘अब बिराटनगरको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यताको लागि प्रक्रिया अघि बढाएका छौँ। ’
क्रमिक रुपमा भैरहवा, जनकपुर कार्यालयका प्रयोगशालाई अन्तर्राष्ट्रिय मान्यतामा लैजाने योजना रहेको उनले बताए। गुणस्तर जाँचको लागि कोलकत्ता लैजानु भन्दा नमुना लिएर काठमाडौं नै आउन उनले व्यवसायीलाई आग्रह गरे। नेपालमै परीक्षण गरेर लैजाँदा यसले निर्यातमा सहजता पुग्ने उनको भनाइ छ।
अहिले विभागको प्रयोगशालाले २१ वस्तुको १२१ प्यारामिटरमा परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता पाएको छ। धान, गहुँ, मकै, कोदो, फापरजस्ता अन्न, चिया, कफी, मह, अदुवा, अलैंची, बेसार, दूध र दूधजन्य उत्पादन, बच्चाको खाना, फलफूल तथा तरकारीमा विषादीको परीक्षण, जाम, जेली, जुस, अचार, क्यान्डीजस्ता प्रशोधित वस्तु, चाउचाउ, विस्कुट, प्रशोधित पानीको राष्ट्रिय प्रयोगशालाबाट परीक्षण गर्न सकिन्छ।
यी उत्पादनमा भएको परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने वस्तीले जानकारी दिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रमोद कोइरालाले त्यहाँका वस्तुहरू जाँच गर्न काठमाडौं ल्याउने गरेको बताउँछन्।
‘यहाँको प्रयोगशाला अन्तर्राष्ट्रिय मान्यता प्राप्त छैन, आवश्यक पर्दा काठमाडांै जाँच्न लैजान्छौँ’, उनले भने।