यस वर्ष बजारमा आँपको मूल्य बढ्ने सम्भावना देखिएको छ। गत साता बारा र पर्सामा आएको हावाहुरीबाट सबैभन्दा बढी आँपमा क्षति भएकोले यस वर्ष आँपको मूल्य बढ्ने सम्भावना देखिएको कृषि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रभावित क्षेत्रको अवलोकन गरि तयार पारेको प्रतिवेदनले सबैभन्दा बढी आँपमा क्षति भएको देखाएको छ।
हावाहुरीबाट बारा र पर्साका कृषि बालीमा भएको ५० करोडको क्षति मध्ये २९ करोड ७३ लाख ६० हजार मूल्य बराबरको आँपमा क्षति भएको छ।
त्यसैगरी १० करोड ९० लाख ६६ हजार १ सय रूपैयाँ बराबरको गहुँ बालीमा क्षति भएको छ। २ करोड ६६ लाख ७६ हजार मूल्य बराबरको तरकारी र ७० लाख ६२ हजार ३ सय ३६ रूपैयाँ बराबरको दालको क्षति भएको प्रतिवेदनले देखाएको छ।
प्रतिवेदन अनुसार, बारामा ४ करोड ८८ लाख १ हजार २ सय मूल्य बराबरको मकै बालीको क्षति भएको छ।
बारामा मात्रै ३८ करोड २४ लाख रूपैयाँको कृषि उपजको क्षति भएको छ । पर्सामा ११ करोड ७९ लाख रुपैयाँको क्षति छ ।
हावाहुरी पश्चात अनुगमन गर्न गएका मन्त्रालयका कृषि अर्थ विज्ञ अर्जुन बरालले हावाहुरीले कोपिला मात्र नझारी आँपको रूख नै ढलेको हुनाले आँपको मूल्यमा प्रभाव पर्ने बताए।
‘हावाहुरीले कोपिला मात्र नझरी आँपको रूख नै ढलेको हुनाले हामीले आँपको मूल्य बढ्ने अनुमान लगाएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘अन्य जिल्लामा आँप बढी फले मात्रै हो। होइन भने आँप सप्लाईमा कमी आउँछ।’
हावाहुरीले मालदह, बम्बै, कृष्णभोगलगायतका आँपका बोट बिरूवा नष्ट गरेको उनले जानकारी दिए।
उनका अनुसार क्षति भएको ठाउँको पुनरूत्थानको लागि केन्द्रमा भएको २ करोड ५० लाख मध्ये केही रकम बिऊ बिजनको लागि सहयोग गरिने छ। त्यसका लागि मन्त्रालयले कार्यविधि बनाएर अघि बढ्ने भएको छ।
प्रतिवेदन अनुसार क्षेत्रफलका आधारमा ४ हजार ५ सय ५२ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ। जसमध्ये १ हजार ४ सय ३५ हेक्टरमा पूर्ण रूपमा क्षति भएको छ भने ३ हजार १ सय १६ हेक्टरमा आंशिक रूपमा क्षति भएको छ ।
बारामा १ हजार ९६ हेक्टर पूर्ण रूपमा क्षति पुगेको छ। पर्सामा ३३९ हेक्टरमा पूर्ण रूपमा क्षति भएको प्रतिवेदनले देखाएको छ। गत आइतबार आएको हावाहुरीले २९ जनाको मृत्यु भएको थियो। भने करिब दुई हजार घर परिवार प्रभावित भएका थिए।