प्युठान ‘स्वर्गद्वारी’ मन्दिरका कारण प्रसिद्ध छ। अब यही मन्दिरमा गाईको गहुँतको माग समेत बढेको छ।
मन्दिर व्यवस्थापन समितिले आधुनिक प्रविधिबाट गाईको गहुँतलाई औषधिका रुपमा बनाउँदै आएको छ। करिब एक महिनादेखि यो क्रम सुरु भएको हो। खेर जाने गाईको गहुँतलाई प्रशोधन गरी बेच्ने गरेको मन्दिर व्यस्थापक बाबुराम न्यौपानेले बताए।
‘खेर जाने गाईको गहुँतलाई सङ्कलन गरी ७/८ दिन राख्छौँ र प्रशोधन गरेर बेच्ने गरेका छौं,’ न्यौपानेले भने। गाईको गहुँतलाई आधुनिक मेसिनबाट प्रशोधन गरिन्छ। त्यसरी प्रशोधन गरिएको गहुँतलाई ‘गोअर्ग’ भनिन्छ।
उनका अनुसार गोअर्ग उत्पादनका लागि भारतबाट करिब २ लाख रुपैयाँको मेसिन ल्याइएको छ। ‘मेसिनमा एक पटकमा ६०/७० लिटर जति गहुँत राखिन्छ। साथमा जडिबुटी पनि हालिन्छ। त्यो तात्दै गएपछि बाफ निस्कन्छ। त्यसबाटै गोअर्ग उत्पादन हुन्छ’, उनले भने।
उनका अनुसार ७० लिटर गहुँतबाट ४० लिटर जति गोअर्ग उत्पादन हुन्छ। त्यो गोअर्ग व्यवस्थापनले १ लिटरको १ सय ५० रुपैयाँमा बेच्दै आएको छ।
गहुँत प्रशोधन गरी उत्पादन गरिएको गोअर्गले क्यान्सर, अल्सर र ग्याष्ट्रिक लगायतका रोग निको हुने उनी दावी गर्छन्। ‘गहुँतमा हामी अन्य हर्रो, बर्रो अमलाजस्ता जडिबुटी पनि मिसाउने गर्छौँ, यसले विभिन्न किसिमका ग्याष्ट्रिक, अल्सर, क्यान्सर निको हुन्छ’, उनले भने।
उनका अनुसार एक पटक गोअर्ग लैजानेले पुनः दोहोर्याएर पनि लैजाने गरेका छन्। त्यहाँ उत्पादित गोअर्गले राम्रो बजार पाइरहेको छ। ‘अहिले हामीले गोअर्ग उत्पादन गर्न थालेको करिब एक महिना भयो, राम्रो बजार पाइरहेको छ।
यसैगरी ग्राहकको माग बढ्दै जाने हो भने हामीलाई पु¥याउन गाह्रो हुन्छ’, उनले भने। नेपालमा रामदेव, बुटवलका सोमनाथले पनि गहुँतको व्यापार गर्दै आएका छन्। उनीहरुकै सिको गर्दै आफूले पनि गहुँत व्यापार सुरू गरेको उनी बताउँछन्।
आफूले उत्पादन गरेको गोअर्ग लेकका जडिबुटी खाएका गाईको गहुँतबाट तयार पारिएकाले रामदेवको भन्दा राम्रो हुने उनको दाबी छ।
अहिले मन्दिरमा साना लोकल जातिका करिब साढे तीन सय गाई छन्। गाईको रेखदेखका लागि ३०/३५ जना कामदार छन्। जसमध्ये १० जना गोबर सोर्ने छन् भने २५÷२६ जना जति घाँस काट्ने छन्।
आश्रमको २६ हजार रोपनी जङ्गलमा गाईलाई चर्ने व्यवस्था छ। अझै पनि गाईलाई खुवाउने घाँसको निकै समस्या भएकाले दाङबाट पराल, दाना किनेर खुवाउने गरेको उनले बताए।
मन्दिरले गहुँतको मात्र व्यवस्थापन नगरी गोबरको पनि व्यवस्थापन गर्ने गरेको छ। मन्दिरमा सय घनमिटरकोे गोबर ग्यास प्लान्ट छ।