नेपालमा १८ हजार ९ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको प्रचुर संभावना देखिएको छ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले बनाएको रबरबाली अध्ययन कार्यदलको प्रतिवेदनले सो कुरा औंल्याएको हो।प्रतिवेदन अनुसार झापामा ८ हजार, मोरङमा ४ हजार ९ सय, सुनसरीमा २ हजार, इलाममा १५ सय र सप्तरीमा ५ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको उपर्युक्त संभावना देखिएको छ।
सामुदायिक, सहकारी वन र सरकारी खाली जग्गामा रबर खेती हुने सम्भावना देखिएको कार्यदल प्रमुख सवनम शिवाकोटीले जानकारी दिइन्।
उनका अनुसार रबर खेतीमा गैर आवासीय नेपाली (एनआरएन) संघले इच्छा देखाएको छ।‘रबर खेतीले दीर्घकालीन फाइदा दिने देखेर गैह्र आवासीय नेपालीले इच्छा राखेका छन्’, उनले भनिन्, ‘तर सरकारको रबर खेतीमा वैदेशिक लगानी नीति नभएकाले नीतिमा समेट्न माग गरेका छन्।’
निजी, सरकारी र साझेदारी तीनै तहबाट पर्याप्त मात्रामा रबर खेती हुन सके अर्थतन्त्रमा ठूलो मद्दत पुग्ने कार्यदल प्रमुख शिवाकोटी बताउँछिन्।
नेपालको रबर खेतीमा सरकारले धेरै लगानी नगरेकाले यसको अन्य नयाँ जातको लागि नेपाल कृषि तथा अनुसन्धान परिषदले अनुसन्धान गर्नुपर्ने प्रतिवेदनको सुझाब छ।
हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा करिब ५ सय ५ हेक्टर क्षेत्रफलमा रबर खेती हुँदै आएको छ।आर्थिक बर्ष २०७४÷०७५ मा नेपालमा करिब ११ अर्ब रूपैयाँ बराबरको रबरजन्य ८४ उत्पादनहरु आयात भएकोे भन्सार विभागको तथ्याङ्क छ।
रबर खेतीको १५ वर्ष अवधिको लाभ लागत विश्लेषण गर्दा लाभ लागत अनुपात १.९८ देखिएकाले कृषकलाई फाइदा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
‘रबरबालीको पात तथा जराले सुक्ष्म वातावरणलाई नियमन गर्ने, अन्य बाली विरुवाहरुको वृद्धिमा सहयोग पु¥याउने, घना वर्षातको समयमा माटोलाई बचाउने, रबरको भूईमा झरेका पातहरुले माटोमा चिस्यानको मात्रा कायम गर्ने भएकोले रबर खेतीले वातावरणमा असर गर्दैन’, प्रतिवेदनमा उल्लेख छ।
२०७५ पौष २४ गतेको नेपाल सरकार (सचिवस्तर) को निर्णय बमोजिम कृषि तथा पशुपंक्षी मन्त्रालय तथा मन्त्रालय मातहतका निकाय, वन तथा भू–संरक्षण विभाग र नेपाली गैर आवासीय संघको प्रतिनिधि राखेर कार्यदल गठन भएको थियो।
किसानहरुको आकर्षण बढ्दै गए पछि हाल हेभिया जातको रबर झापा, मोरङ्ग, सुनसरी तथा इलामको दक्षिणी भुभागमा फैलिदै गएको छ।घरायसी प्रयोगदेखि यातायात, हवाइजहाज, औद्योगिक उत्पादन, विद्युतीय सामग्री, लगायत हजारौं किसिमका उत्पादन रबर तथा प्लास्टिकबाट बन्ने गरेका छन्।
नेपालमा गोरखकाली रबर उद्योगको सक्रियतामा ‘सुधाफलरस प्रालि’, शनिश्चरे, झापासँग सम्झौता भई पहिलो पाईलट प्रोजेक्टको रूपमा ५ हेक्टरमा रबर खेती शुरु भएको हो।
झापा, मोरङ्ग, सुनसरी र इलामको तल्लो भूभागमा रबर खेती गरिएको पाईन्छ।नेपालमा प्राकृतिक रबर र कृत्रिम रबरको अनुपात ६०ः४० रहेको तथ्याङ्कले देखाउँछ।
संसारमा ठूलो परिमाणमा रबरको उत्पादन गर्ने मुलुकहरुमा थाइल्याण्ड, इन्डोनेसिया, भियतनाम, भारत लगायत देशहरु पर्छन्। विश्वमा वार्षिक १ करोड ३१ लाख मेट्रिक टन प्राकृतिक रबर उत्पादन भएको पाइन्छ ।
संसारमा करिब ४५ लाख हेक्टर क्षेत्रफलमा रबर खेती भइरहेको पाइन्छ। रबर बालीले ढाकेको क्षेत्रफल सबैभन्दा बढी थाइल्याण्डमा नै रहेको छ।