व्यावसायिक घराना गोल्यान ग्रुप अब कृषि उत्पादन बढाउन अग्रसर भएको छ। टेक्सटायल तथा बैंकिङ व्यवसायमा सक्रिय ग्रुपले अब कृषि क्षेत्रमा काम गर्ने भएको ग्रुपकी निर्देशक लतिका गोल्यानले जानकारी दिइन्।
केही आफैंले त केही किसानसँग मिलेर ग्रुपले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादन देशभर फैलाउने योजना बनाएको उनले बताइन्।लतिकाका अनुसार ग्रुपले झापाको चकचके, घेराबारी, गैरीगाउँ लगायत विभिन्न ठाउँमा तीन सय बिघा जग्गा किनेको छ।
त्यहाँका पाँच सय किसानसँग सहकार्य गरी अर्गानिक फलफूल तथा तरकारी उत्पादन गरेको छ। उत्पादित वस्तुलाई ‘माटो’ ब्राण्ड अन्तर्गत बजारमा पठाइसकिएको छ।
भिन्डी, गाँजर, बन्दा, काउली, फर्सी, खरबुजा, स्ट्रबेरी लगायतको अर्गानिक खेतीका लागि भारतीय र नेपाली गरी १३ जनाको कृषि प्राविधिक टोली समेत निरन्तर खटिरहेको लतिकाले बताइन्।
विदेसिएका युवालाई देशभित्रै रोजगारीमा आकर्षित गर्न यो क्षेत्रमा काम थालेको उनको भनाइ छ। 'एकातिर युवाहरू विदेसिइरहने, अर्कोतिर उपभोक्ताले अर्गानिक उत्पादन नपाउने अवस्था छ। त्यो घटाउन हामीले कृषि काम थालेका हौं,' उनले भनिन्।
कृषि उत्पादनमा विषादी प्रयोगले रोग बढ्दै गएकाले आफूहरूले अर्गानिक खेती गरी तिनै उत्पादन बजारमा ल्याउने उनको दावी छ। देशभरको कृषि उत्पादनलाई १० वर्षपछि अर्गानिक बनाउने लक्ष्य लिइएको उनले बताइन्। गाउँगाउँमा गएर किसानसँग समन्यव गर्न उनीहरूले ‘जयन्त गोल्यान फाउन्डेसन’ स्थापना गरेका छन्।
यो फाउन्डेसनमा विभिन्न गाउँहरू जोडेर त्यहाँका किसानलाई अर्गानिक खेती सिकाइने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने उनले जानकारी दिइन्।
झापाबाहेक बर्दिवासका किसानसँग पनि यस्तै काम गर्ने योजना रहेको उनले सुनाइन्। विस्तारै अरू विभिन्न ठाउँका किसानलाई पनि अर्गानिक खेतीका लागि प्रोत्साहन गर्दै माटो ब्राण्ड विस्तार गर्ने योजना ग्रुपको छ।
'किसानले कुनै विषादी नहाली गरेको उत्पादन ग्रुपले नै लिने गरी सम्झौता हुन्छ,' उनले भनिन्, 'यसरी उत्पादित वस्तु हामीले आफ्नो ब्राण्डमा सुपरमार्केटमा वा व्यवसायीसम्म पुर्याउँछौं। केही उत्पादन अनलाइनबाट पनि बिक्री हुन्छ।'
फलफूल तथा तरकारी भण्डारका लागि झापामा कोल्ड स्टोर बनाउने ग्रुपको तयारी छ। यसनिम्ति २ सय विघा जग्गा समेत किनिसकेको लतिकाले बताइन्।
अहिले फलफूल(तरकारीको बीउ बाहिरबाट ल्याइन्छ। केही वर्षपछि भने आफ्नै बीउ तयार गर्ने योजना ग्रुपको छ।
'हामीले सुरू गरेको व्यावसायिक खेती अन्तर्गत मौरी पाल्ने योजना पनि छ,' उनले भनिन्, 'त्यसका उत्पादन क्लिनिकहरूमा राख्ने योजना हो। त्यहाँ डाक्टरहरूले महबाट नियन्त्रण गर्न सकिने रोग र प्रयोग गर्नेबारे जानकारी दिनुहुन्छ।'