किसानले आफ्नो उत्पादनको बजार भाउ नपाउँदा कहिले बारीमा डोजर लगाउनुपर्ने, कहिले गाई-भैंसीलाई खुवाउनुपर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनुपर्ने बाध्यता छ।
नेपाललाई कृषिप्रधान देश भने पनि उब्जनीको कुनै मूल्य नभएपछि कृषकहरूलाई खेती गर्न कसरी मन लाग्छ र?
अब मूल्य नपाएका कारण कृषि उपजहरू खेतमै डोजर लगएर नास्ने, सडकमा फ्याल्नुपर्ने दिन गएका छन्। नेपालबाट पहिलोपटक तरकारी विदेश निर्यात हुन थालेको छ। ‘अलसमन इन्टरनेसनल नेपाल’ कम्पनीले नेपालमा उत्पादन भएका तरकारी कतार निर्यात गर्दै आएको छ।
कम्पनीले १ जनवरी अर्थात् पुस १७ गतेदेखि कतारमा तरकारी निर्यात गर्दै आएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले बताए।
‘हामीले २०१८ देखि नै तरकारी निर्यात गर्न थालेका थियौं, तर २०१९ जनवरी १ देखि चाहिँ निरन्तर पठाउँदै आएका छौँ’, उनले सेतोपाटीसँग भने।
उनका अनुसार कम्पनीले साताको दुईचोटि आइतबार र बुधबार अर्डरबमोजिम तरकारी कतार पठाउँदै आएको छ।
नेपालमा उत्पादन भएका गुन्द्रुक, ऐलोभेरा, तितेकरेला, भिन्डी, गाँजर, लौका, फर्सी, काउली, बन्दा, गोलभेडा लगायत अन्य तरकारी कम्पनीले निर्यात गर्दै आएको छ।
कम्पनीले सुरूका दिनमा रायो, धनियाँ, निउरो लगायत सागसब्जी पनि पठाउने गरेको थियो। यी सागसब्जी पठाउँदा कुहिने समस्या भएकाले पठाउन छाडेको उनी बताउँछन्।
निर्यातका सुरुआती दिनमा कालिमाटी बजारबाट तरकारी किनेर पठाउने गरे पनि त्यहाँको तरकारी महँगो हुनुका साथै बिचौलियाका कारण किसानले मूल्य नपाउने देखेपछि आफैं किसानसम्म पुगेर तरकारी संकलन गर्न थालेको उनको भनाइ छ।
‘पहिला त कालिमाटीबाटै तरकारी किन्थ्यौँ। त्यहाँ धेरै महँगो किनेर पनि किसानले मूल्य नपाएको देखेपछि हामीले प्रत्यक्ष किसानसँगै तरकारी किन्न थाल्यौँ,’ उनले भने।
उनका अनुसार अहिले उनीहरूले पाँचखाल, थानकोट, सिन्धुली र दहचोकबाट तरकारी ल्याइरहेका छन्। त्यसबाहेक नपुगेको अवस्थामा सहकारी र कालिमाटीबाट पनि किन्ने गरेको उनी बताउँछन्।
उनका अनुसार यहाँबाट गएको तरकारी कतारका ‘व्यापारिक मल’ मा बेचिँदै आएको छ। दक्षिण एसियाली मुलुकका नागरिक यसका प्रमुख ग्राहक हुन्। एकचोटिमा ३-४ लाख रूपैयाँ बराबरको १५ सय केजी तरकारी निर्यात हुँदै आएको छ।
उनी यसबाट आफूलाई राम्रै आम्दानी भएको बताउँछन्। किसानले फलाएका तरकारी आफूलाई दिन उनले किसानसँग आग्रह गरेका छन्।
‘बिचौलियाका कारण हामीलाई सिधै किसानसँग तरकारी लिन गाह्रो भइरहेको छ,’ उनले भने ‘हामीलाई तरकारी दिनुहोस्, हामी अरूले भन्दा २ रूपैयाँ बढी दिन्छौं।’ बिचौलियाका कारण तरकारी महँगो भएकाले सिधै किसानसँगै किन्न चाहेको उनको भनाइ छ।
कतारको बजारमा नेपाली तरकारीको माग अत्यन्तै राम्रो छ। सरकारले मद्दत गरे दिनमै ३-४ हजार किलो लैजान सक्ने उनी बताउँछन्।
अहिले तरकारी लान कार्गो महँगो र क्वारेन्टाइन चेक ढिलो हुँदा विमानस्थलमा घन्टौं लाग्छ। यसले तरकारी कुहिने समस्या छ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड स्टोरमा तरकारी राख्ने व्यवस्था र नेपाल एयरलाइन्सको यताबाट जाने खाली कार्गोमा तरकारी लाने व्यवस्था गरिदियो भने निर्यातमा सहयोग पुग्ने उनी बताउँछन्।
उनी एक्लैले तरकारी निर्यात गरेका होइन्। उनका साथमा तीन जना छन्। उनले कतारमा पनि ‘अलसमन ग्लोबल नेपाल’ भन्ने कम्पनी खोलेका छन्।
नेपाली किसानका घरदैलोमा पुगेर तरकारी जम्मा गर्ने काम उनका सहयोगीले गर्छन् भने कतारको कम्पनी उनले सम्हाल्दै आएका छन्।
उनलाई तरकारी निर्यात गर्नमा कम्पनीका सल्लाहकार विष्णु भुसाल, कतारका लागि निवर्तमान नेपाली राजदूत डा. रमेश कोइराला र नेपालका लागि कतारका राजदूत युसुप हेलले सहयोग गरेको उनले बताए।
घिमिरे फिल्म इन्डस्ट्रिबाट तरकारी व्यवसायमा आएका हुन्। उनी फिल्म ‘अशंबन्डा’ का नायक र ‘श्रीमान’ र ‘महशुस’ फिल्मका निर्माता हुन्।
'महशुस' फिल्म चलाउन कतार गएका बेला नेपालमा किसानहरूले तरकारी फ्याँके, डोजर लगाए भन्ने सुनेपछि नेपाली तरकारी कतार ल्याउने सोच आएको उनी बताउँछन्।
‘म फिल्म रिलिज गर्न कतार पुगेको थिएँ। त्यहाँ बस्दा नेपालमा किसानहरूले तरकारी फ्याँके, बारीमा डोजर लगाए रे भन्ने सुनेपछि यहाँ तरकारी ल्याउने सोच आयो,’ उनले भने।
त्यही सोचअनुरूप उनले कतारका सबै व्यापारिक मलमा पुगेर नेपालमा उत्पादन भएका तरकारी किनिदिन आग्रह गरे।
‘सुरूमा नेपालले आफैं त भारतबाट ल्याउँछ, हामीलाई कसरी तरकारी दिन सक्छ भनेर पत्याएका थिएनन्,’ उनले भने, ‘पछि मैले धेरैपटक भनेपछि केही समय परीक्षणका रूपमा ल्याउनू भने।’
परीक्षणकै रूपमा आफूले उनीहरूको अर्डरबमोजिम तरकारी उपलब्ध गराएपछि नेपाली तरकारीको माग बढेको उनी बताउँछन्।
उनीहरूले तरकारी बाकसमा प्याक गरेर निर्यात गर्दै आएका छन्। कतारमा ती तरकारी ‘मेड इन नेपाल’ भनेर बेचिने गरेको देख्दा आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछन्।