नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ। धेरै कृषक कफी खेतीमा संलग्न छन्। नेपालमा मुख्यतः अरेविका जातको कफी उत्पादन हुँदै आएको छ। नेपालको कफी अन्य देशहरुमा निर्यात समेत हुने गरेको छ।
चालु आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा ७३ हजार ८ सय केजी कफी जापान, अमेरिका लगायत बाहिरी मुलुकहरूमा निर्यात भएको छ। त्यसबाट ८ करोड ६३ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्क छ।
नेपालमा ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ। विभागले गरेको ‘नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण, २०७५÷०७६’ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ।
ती जिल्लामा ६ हजार ३ सय ४६ कृषक, व्यवसायीले ९ सय ७३ हेक्टर जमिनमा कफी खेती गर्दै आएका छन्। त्यसबाट वार्षिक १५ सय ७३ मेट्रिक टन कफी उत्पादन भएको सर्वेक्षणले देखाएको छ।
कुन प्रदेशमा कति?
सर्वेक्षण अनुसार प्रदेश १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ। ती मध्ये प्रदेश ३ मा सबैभन्दा बढी वार्षिक ७ सय ५७ मेट्रिक टन कफी उत्पादन भएको छ।
प्रदेश ३ का १० जिल्लामा व्यवसायिक रूपमा कफी खेती हुने गरेको सर्वेक्षणले देखाएको छ। ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकका ३४.२ प्रतिशत र सबैभन्दा कम मकवानपुर जिल्लामा ०.५ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्।
गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सो प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै आएका छन्।
प्रदेश ५ मा वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सो प्रदेशका ४ जिल्लामा कफीको व्यवसायिक खेती हुने गरेको सर्वेक्षणले देखाएको छ। गुल्मीका ४९.७ प्रतिशत र सबै भन्दा कम प्युठान जिल्लाका १.१ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा संलग्न छन्।
प्रदेश १ मा सबैभन्दा कम वार्षिक १ सय ३ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। सर्वेक्षण अनुसार प्रदेश १ का १० जिल्लामा कफीको व्यावसायिक खेती हने गरेको छ। ती मध्ये सबै भन्दा बढी इलामका ४१.५ प्रतिशत र सबैभन्दा कम धनकुटा जिल्लाका १.८ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्।
व्यवसायी कफी खेती गर्ने कृषकमध्ये १ रोपनीभन्दा कममा १६ प्रतिशत, १ रोपनी भन्दा बढी तर ५ रोपनी भन्दा कममा ७१ प्रतिशत किसान संलग्न छन्।
४९ वर्ष भन्दा माथि उमेर समूहलाई कफीको मोह
सबै भन्दा धेरै ४९ वर्ष भन्दा माथि उमेर समूहका मानिस कफीको व्यावसायिक खेतीमा संलग्न भएको सर्वेक्षणले देखाएको छ। सो समूहका ५१ प्रतिशत मानिस कफीको व्यवसायिक उत्पादनमा लागेका छन्।
त्यस्तै, ४० देखि ४९ वर्ष उमेर समूहका ३० प्रतिशत, ३० देखि ३९ वर्ष उमेर समूहका १५ प्रतिशत र ३० वर्ष भन्दा कम उमेर समूहका ४ प्रतिशत किसान कफी खेतीमा संलग्न छन्।
यसबाट के निश्कर्ष निकाल्न सकिन्छ भने अझै पनि युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएको छैन। नेपालमा कफीको प्रचुर संभावना रहेको विभागका कृषि तथा पशुपंक्षी गणना तथा सर्वेक्षण शाखाका निर्देशक बद्री कार्कीले बताए।
‘हामीले सर्वेक्षण गर्दा ६५ प्रतिशत किसानले कफी खेतीलाई विस्तार गर्ने बताएका छन्’, उनले भने, ‘यसले पनि नेपालमा व्यावसायिक कफीको प्रचुर संभावना देखाउँछ।’
किसानलाई गुणस्तरीय कफी खेती गर्न प्राविधिक सेवा, सिँचाइको सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण र मल, विउ पुर्याउने हो भने कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने उनले बताए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख दीपक खनाल कफी उत्पादन हुने क्षेत्र पहिल्याउन सके अझ कफीको उत्पादन बढ्ने बताए।
उनका अनुसार नेपालमा १२ लाख हेक्टर जमिनमा कफीको खेती गर्न सकिन्छ। हाल २ हजार हेक्टरमा कफीको खेती हुँदै आएको छ।
जलवायु परिवर्तनले ८० प्रतिशत कफी उत्पादनमा ह्रास आएको सर्भेले बताएको छ। कृषकलाई बीमाको व्यवस्था गरिदिने हो भने उत्पादन थप बढ्ने उनको भनाइ छ।
नेपालमा कफीको बिरूवा उत्पादन गर्ने ५५ वटा नर्सरी छन्। ती नर्सरीबाट कुल ७ लाख २० हजार १ सय १० विरूवा उत्पादन हुँदै आएको छ।