मकै नेपालको दोस्रो प्रमुख खाद्यान्न बाली हो। पछिल्लो समय नेपालमा मकैको खपत बढ्दै गएको छ। तर त्यहीअनुसार उत्पादन भने बढेको छैन।
आवस्यकताअनुसार उत्पादन नभएपनि थोरै बृद्धिदर भने कायम छ। आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख ५५ हजार मेट्रिक टन मकै उत्पादन भएको छ।
कृषि प्रधान देश नेपालमा मकैको आयात पनि उल्लेख्य रूपमा भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष २०७५÷०७६ को ११ महिनामा मकैका विभिन्न रूप आयात गर्दा ११ अर्ब ६२ करोड ३२ लाख ४८ हजार रूपैयाँ बाहिरिएको छ।
मकै, बिऊ, पिठो, ढुटो लगायतका मकैका रूप साउन देखि जेठ सम्ममा ३८ करोड १५ लाख ५ हजार १८ सय किलो आयात भएको छ। नेपालमा मकैको उत्पादन राम्रो हुने विज्ञहरू बताउँछन्। नेपालका जस्तो माटोमा पनि मकै उत्पादन हुन सक्ने मकै प्रजननकर्तासमेत रहेका वैज्ञानिक रमेश आचार्ययले बताए।
नेपाल कृषि अनुसन्धान परिषद्ले अनुसन्धान गरेर ७ वटा मकैको हाइब्रिड जात निकालेको छ। तर यसको बिऊ भने उत्पादन हुन सकेको छैन। यसले भारतीय हाइब्रिड जातका बिऊले जत्तिकै उत्पादन दिने गरेको मकै विज्ञहरू बताउँछन्। ्
नेपाली उन्नत जातका मकैका बिऊँ किसान समक्ष पुग्न नसक्नाले पनि मकैको उत्पादन कम भएको उनी बताउँछन्।
‘उन्नत जातका बिऊ ठूलो परिमाणमा उत्पादन हुन सकेको छैन, उत्पादित थोरै बिऊ किसान समक्ष पर्याप्त मात्रामा पुगेको छैन’, उनले भने।
सरकारी क्षेत्रमा बिऊ उत्पादन गर्ने जिम्मा राष्ट्रिय बिऊ–विजन कम्पनीले पाएको छ। यसले विशेषगरि उन्नत जातका बिऊ उत्पादन गर्दै आएको उनले जानकारी दिए।
‘यसले पनि ठूलो परिमाणमा उन्नत बिऊ उत्पादन गर्न सकेको छैन’, उनले भने, ‘हाइब्रिड जातका बिऊकोे टेस्टिङ मात्र गरेको छ, उत्पादन भएको छैन।’
उनका अनुसार पश्चितिरका लुम्बिनी शिट, पञ्चशक्तिशिट, युनिक शिट लगायतका निजी कम्पनीहरूले भने भर्खरै रामपुर हाइब्रिडिका बिऊ उत्पादन सुरू गर्न थालेका छन्।
तराईमा २०÷२२ प्रतिशत व्यावसायिक रूपमा मकै उत्पादन हुने गर्दछ। त्यहाँ उत्पादन हुने हाइब्रिड ५० जातका बिऊ भारतीय भएकाले पनि आयात बढेको उनी बताउँछन्।
हरियाली र सियन शिट कम्पनीले मध्ये पूर्वी र पश्चिम भेगका लागि खुमल हाइब्रिड–२ वार्षिक ३ देखि ४ टन उत्पादन गर्दै आएको छ। बिऊ–बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा हाइब्रिड जातका बिऊ उत्पादन नभएको स्वीकार छन्।
‘बिऊ उत्पादन गर्न झन्झिटिलो छ। यो वर्ष देखि चाहिँ हामीले निजी क्षेत्र सँग साझेदारी गरेर हाइब्रिड खुमल र रामपुर जातका बिऊ उत्पादन सुरू गर्न लागेका छौँ’, उनले भने।
मकै सुपर जोनका प्रमुख महेश रेग्मीले नेपालका हाइब्रिड जातका मकैका बिऊ किसानसमक्ष पुग्न नसकेको बताए। ‘नेपाली हाइब्रिड जातका मकैका बिऊ पाइन्छ भन्ने कुरा किसानलाई थाहै छैन’, उनले भने।
नेपालमा ८८ वटा जातका मकै उत्पादन हुने गरेको छ। त्यस मध्ये ३८ वटा नेपाली जात मध्येका ७ वटा हाइब्रिड जातका छन्। ३१ जातका मकैका बिऊ खुल्ला सेचित जातका हुन्। यस्ता जातका बिऊ कृषक आफैले पनि लगाउन सक्छन्। बाँकी ५० वटा हाइब्रिड जातका मकैका बिऊ बाहिरबाट आउने गरेको उनले जानकारी दिए। उत्पादन गर्न झण्झटिलो भएका कारण पनि बाहिरबाट आयात हुने गरेको उनको भनाई छ।
५.५ देखि ७.५ पिएच भएको माटो मकै उत्पादनका लागि उपयुक्त मानिन्छ।
नेपालमा मध्ये पहाडमा ७० प्रतिशत र उच्च पहागमा ६÷७ प्रतिशत मकै उत्पादन हुँदै आएको छ। उच्च पहाडमा गणेश–१(सेतो) र गणेश–२(पहेलो) जातका मकै उत्पादन हुन्छ।
मध्ये पहाडमा मनकामना–३ (सेतो), मनकामना–४ (पहेलो), मनकामना–५ (सेतो), मनकामना–६ (पहेलो) र मनकामना–७ (सेतो) जातका मकै उत्पादन हुने गरेको पाइन्छ। त्यस्तै शितला (सेतो), देउती (सेतो), रामपुर कम्पोजिट, पोसिलो मकै–१ र पोसिलो मकै–२ पनि यही उत्पादन हुँदै आएको छ।
९० दिन भित्र पाक्ने अरूण सिरिजका २, ३ ४ र ६ जातका मकै पहाडी र तराई भेग दुवै क्षेत्रमा उत्पादन हुने मकै वैज्ञानिक आर्चायले बताए। तराई क्षेत्रमा रामपुर कम्पोजिट र रामपुर ४ जातका मकै उत्पादन हुन्छ।
पहाडमा खुमल हाइब्रिड–२, तराईमा रामपुर हाइब्रिड–२, ४ र ६, मल्टी नेशलन कम्पनीका नार्कले रजिष्टर गरेका ५० वटा जातका मकै पनि यही भुृभागमा उत्पादन हुँदै आएको छ।
उच्च पहाडमा उन्नत जातका मकै उत्पादन हुँदैन। मध्ये पहाड र उच्च पहाडमा खाद्यान्नको रूपमा मकै लगाइन्छ। भने तराईमा व्यावसायिक रूपमा लगाइँदै आएको छ।
नेपालमा २५ सय मिटर उचाइ सम्ममा मकै उत्पादन हुँदै आएको छ।
उन्नत जातका बिऊ किसान सम्म पुगेको छैन। नेपाली जातलाई प्रोत्साहन गरि उन्नत जातका बिऊ किसान सम्म पु¥याउन सके नेपालमा मकै उत्पादनको राम्रो संभावना रहेको उनको भनाई छ।