५५ हजार टन क्षमताको आधुनिक खाद्यान्न भण्डार (ग्रेन स्टोरेज) बन्ने भएको छ। निम्बस, शिखर इन्स्योरेन्स, एनएमबी, टीएनए र नगर एग्रो फार्म गरि ५ कम्पनीको लगानीमा खाद्यान्न भण्डार बन्ने भएको हो।
निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाका पर्साको जितपुरमा २५ हजार, कपिलवस्तुको चनौटा र पूर्वको औरावनीमा १५/१५ हजार टन क्षमतामा भण्डार बन्ने भएको छ। यसका लागि करिब २ अर्ब लगानी हुने छ।
उत्पादनले बजार पाउने निश्चित भएपछिमात्र किसानहरु खेतीमा आकर्षित हुने भएकाले भण्डार परियोजना अघि बढाउन खोजिएको बगरियाको भनाइ छ। व्यवस्थित भण्डार नहुँदा नेपालका किसानहरुले मौसमी उत्पादन तत्काल बेच्नुपर्ने बाध्यता रहेको छ। यही कारणले उनीहरुले चाहेको मूल्यमा बिक्री गर्न पाउँदैनन्।
कुखुराको दाना उत्पादनमा अग्रणी रहेको निम्बसले पछिल्लो समय दाल, तेल उत्पादन हात हालेको छ। समग्र खाद्यन्न उत्पादन तथा वितरण गर्ने योजना बनाएको निम्बसकै अग्रसरतामा यो परियोजना अघि बढ्ने भएको हो।
यसरी बन्ने भण्डार अन्य भन्दा फरक हुने छ। भण्डारण गर्दा किसानले भाडा तिर्नुका साथै सामान बेचेपछि १ प्रतिशत कमिसन पनि दिनुपर्नेछ। यसमा लोड, अनलोड सबै काम मेशिनबाट हुने छ।
शुरूमा मकै, गहुँ र भटमास मात्र भण्डार गर्न सकिने छ। पछि अन्य खाद्यान्नको लागि पनि भण्डार थप्दै जाने बगारियाले जानकारी दिए।
भण्डारणमा किसानले सामान ल्याएर छोडेपछि रसिद पाउँछन्। किसानले रसिद धितो राखेर बैङ्कबाट ऋण पनि लिन सक्नेछन्।
सामान राखिसकेपछि किसानलाई सामानको पूर्ण सुरक्षाको जिम्मा सञ्चालकको हुने छ। यतिमात्र होइन कुन उत्पादनको बिक्री कहिले र कुन मूल्यमा गर्ने भन्ने किसानको स्वीकृतिमा सञ्चालकले नै गरिदिने छ।
बगरियाकाअनुसार त्यसका लागि भण्डारमा बोलकबोल/मन्डीकोसमेत व्यवस्था हुने छ।
‘खाद्यान्न भण्डारमा किसानले एउटा मूल्य निर्धारण गरेका हुन्छन्। कसैले म यति दिन्छु, म यति दिन्छु भनेर बेच्नुलाई मन्डि भनिन्छ। यस्तो व्यवस्था भारत, अमेरिका, अष्ट्रेलिया लगायत अन्य विकसित देशमा छ’, उनले भने।
उनका अनुसार त्यसमा किसानले निर्धारण गरेको मूल्यभन्दा बढीमा बेचिन्छ। त्यो पैसा किसानले नै पाउनेछन्। तर कमिशन भने दिनुपर्ने हुन्छ।
त्यस बाहेक भण्डारण गरिएको सामानको बिमा पनि गरिने छ। अप्रत्यासित रूपमा केही घटना घट्दा सामानको क्षती भयो भने सामानको मूल्य किसानले पाउने छन्। भण्डारण कमोडिटी एक्सचेन्जमा जोडिन्छ।
‘नेप्सेमा जस्तै कृषि सामाग्रीको अधिकतम मूल्य, न्यूनतम मूल्य, औषत मूल्य तथा कारोबारको मात्रा समेत वेवसाइटबाट थाहा पाउन सकिन्छ’, उनले भने, ‘वेवसाइट छिटै डिजाइन गछौं। यो खाद्यान्न सामाग्रीलाई एकिकृत गर्ने ठाउँ हो। यसबाट कृषि प्रशोधन उद्योग पनि फस्टाउनेछन्। अहिले एउटा उद्योगीलाई १० हजार टन मकै चाहियो भने गाउँगाउँमा जानु पर्छ। यसरी एकै ठाउँमा पाउन सकियो भने कृषि प्रशोधन उद्योग पनि फस्टाउँछन्।’
भण्डारण निर्माण अहिले भइरहेको बगरियाले जानकारी दिए।