किसानले आफ्नो उत्पादनको बजार भाउ नपाउँदा कहिले बारीमा डोजर लगाउनुपर्ने, कहिले गाई–भैंसीलाई खुवाउनुपर्ने त कहिले सडकमा पोखेर विरोध जनाउनुपर्ने बाध्यता छ।
कृषिमा युवाको आकर्षण न्युन छ। उब्जनीको उचित मूल्य नपाउँदा कृषितर्फ आकर्षण नहुनु स्वभाविक हो। अब मूल्य नपाएका कारण कृषि उपजहरू खेतमै डोजर लगाउने, सडकमा फ्याँक्नुपर्ने दिन गएका छन्।
पहिलोपटक तरकारी विदेश निर्यात गरेको ‘अलसमन इन्टरनेसनल नेपाल’ कम्पनीले अब युएईमा पनि तरकारी निर्यात गर्ने भएको छ। सेप्टेम्बर ४ अर्थात भोलि बुधबारदेखि यूएईमा तरकारी निर्यात गर्न लागिएको कम्पनीका प्रोजेक्ट म्यानेजर कल्याण घिमिरेले जानकारी दिए।
‘कतारमा हामीले सन् २०१८ देखि नै तरकारी पठाएका हौं, भोलिदेखि युएईमा पनि नेपाली तरकारी बेचिने भएको छ’, घिमिरेले भने।
युएईको सारजाहमा रहेको सफारी मलसँग दैनिक ३ देखि ४ हजार केजी तरकारी पठाउने गरी सम्झौता भएको प्रोडक्ट म्यानेजर घिमिरेले जानकारी दिएका छन्।
उनका अनुसार कम्पनीले आज नै युएईमा तरकारी पठाइसकेको छ। भोलि सफारी मलको तरकारी डिपार्टमेन्टमा नेपाली तरकारीको स्टल निर्माणको उद्घाटन हुने छ। कम्पनीले आज तामा, गुन्द्रुक, बोडी, काँक्रो, डल्ले खुर्सानी लगायतका तरकारी युएई पठाएको छ।
हाल कम्पनीले साताको दुई पटक आइतबार र बुधबार मागबमोजिमको तरकारी कतार पठाउँदै आएको छ। निर्यातका सुरुआती दिनमा कालिमाटी बजारबाट तरकारी किनेर पठाउने गरे पनि अहिले कम्पनीले प्रत्यक्ष किसानसँगै तरकारी लिँदै आएको छ।
उनका अनुसार अहिले उनीहरूले पाँचखाल, थानकोट, सिन्धुली र दहचोकबाट तरकारी ल्याइरहेका छन्। त्यसबाहेक नपुगेको अवस्थामा सहकारी र कालिमाटीबाट पनि किन्ने गरेको उनले जानकारी दिए।
किसानलाई फलाएका तरकारी दिन उनले आग्रह गरेका छन्। ‘बिचौलियाका कारण हामीलाई सिधै किसानसँग तरकारी लिन गाह्रो भइरहेको छ,’ उनले भने ‘हामीलाई तरकारी दिनुहोस्, हामी अरूले भन्दा २ रूपैयाँ बढी दिन्छौं।’
कतारको बजारमा नेपाली तरकारीको माग अत्यन्तै राम्रो छ। सरकारले मद्दत गरे दिनमै ३/४ हजार किलो तरकारी लैजान सक्ने उनी बताउँछन्।
‘अहिले तरकारी लैजान कार्गो महँगो र क्वारेन्टाइन चेक ढिलो हुँदा विमानस्थलमा घन्टौं लाग्छ, यसले तरकारी कुहिने समस्या छ’ घिमिरेले भने ‘सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड स्टोरमा तरकारी राख्ने व्यवस्था गरी नेपाल एयरलाइन्सको यताबाट जाने खाली कार्गोमा तरकारी लैजाने व्यवस्था गरिदियो भने निर्यातमा सहयोग पुग्थ्यो।’
उनी एक्लैले तरकारी निर्यात गरेका होइन्। उनका साथमा तीन जना छन्। उनले कतारमा पनि ‘अलसमन ग्लोबल नेपाल’ भन्ने कम्पनी खोलेका छन्।
नेपाली किसानका घरदैलोमा पुगेर तरकारी जम्मा गर्ने काम उनका सहयोगीले गर्छन् भने कतारको कम्पनी उनले सम्हाल्दै आएका छन्।
तरकारी निर्यात गर्न कम्पनीका सल्लाहकार विष्णु भुसाल, कतारका लागि निवर्तमान नेपाली राजदूत डा. रमेश कोइराला र नेपालका लागि कतारका राजदूत युसुप हेलले सहयोग गरेको उनले बताए।
घिमिरे फिल्म इन्डष्ट्रीबाट तरकारी व्यवसायमा आएका हुन्। उनी फिल्म ‘अशंबन्डा’ का नायक र ‘श्रीमान’ र ‘महशुस’ फिल्मका निर्माता हुन्। ‘महशुस’ फिल्म चलाउन कतार गएका बेला नेपालमा किसानहरूले तरकारी फ्याँके, डोजर लगाए भन्ने सुनेपछि नेपाली तरकारी कतार ल्याउने सोच आएको उनी बताउँछन्।