सरकारले भारत र चीनका सबै नाकामा फलफूल/तरकारीमा विषादी परीक्षण गर्नको लागि उपकरण राख्ने भएको छ।
सरकारले विषादी परीक्षणको लागि १२ नाकामा उपकरण राख्ने तयारी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनाएको छ।
विभागको खाद्य आयात, निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा उक्त उपकरण राखिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
भारत र नेपालको नाकामा ९ वटा उपकरण राखिने छ भने चीन र नेपालको नाकामा २ वटा उपकरण राखिने उनको भनाइ छ।
उनका अनुसार भारत र नेपालको सीमा काकडभिट्टा, विराटनगर रानी भन्सार, जलेश्वर, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर गरी ९ वटा उपकरण राखिने छ।
त्यसैगरी, चीन र नेपालको रसुवा र तातोपानी गरी २ वटा नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ वटा उपकरण राखिने प्रवक्ता महर्जनले जानकरी दिए।
‘उपकरण राख्न टेण्डरका लागि प्रक्रिया अघि बढिसक्यो’, प्रवक्ता महर्जनले भने, ‘केही दिनभित्रै टेण्डर आह्वान गर्छौं।’
भन्सार बिन्दुमा विषादी परीक्षण केन्द्र राखे व्यवसायीलाई नमूना लिएर टाढा जान नपर्ने महर्जन बताउँछन्।
‘अहिले व्यवसायीलाई नाकामा तरकारी छाडेर जाँच्न काठमाडौं धाउनु परेको छ। यो व्यवस्थाले टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्छ’, उनले भने, ‘योसँगै उपभोक्ताले ताजा तरकारी तथा फलफूल खान पाउँछन्।
उक्त उपकरणले हाल सञ्चालनमा भएका ल्याबले जस्तै अर्ग्यानोफस्फेट र कार्बोनेटमा रहेको अवशेषको मात्रा जाँच गर्छ।
उनका अनुसार विभागले राखेको उपकरणले आयात निर्यात गर्ने वस्तुको विषादी जाँच गर्छ भने हाल केन्द्रीय कृषि प्रयोगशालाले सञ्चालन गरेको ल्याबले आन्तरिक, बाह्य र तरकारीको पकेट क्षेत्रका वस्तुको विषादी जाँच गर्छ।
हाल भन्सारहरूमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आइ नमूना परीक्षण गराई लैजानुपर्ने बाध्यता छ।
केही समयअघि सरकारले विषादी परीक्षण पास नभएका तरकारी भारतबाट आयात गर्न नपाउने नीति बनाएको थियो।
सोहीअनुरूप केही दिन काम पनि भयो। तर भारतीय पक्षको दबाब र आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले सरकार पछि हटेको थियो।
हाल तरकारी र फलफूलमा विषादी परीक्षण गर्न अहिले विर्तामोड, सर्लाही (नवलपुर), काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरियामा विषादी जाँच्ने प्रयोगशाला छन्।
तीमध्ये पाँच वटा प्रयोगशाला सीमा जोडिएका जिल्लामै छन्।
यी प्रयोगशाला भर्खरै स्थापना भएका भने होइनन्। २०७१ सालदेखि यी प्रयोगशालाबाट तरकारी र फलफूलको विषादी परीक्षण भइरहेको थियो।
तर, कर्मचारीको अभावले धेरै प्रयोगशाला बन्द हुन पुगे।