तारकेश्वर नगरपालिका काभ्रेस्थली २ का नरबहादुर गुरूङ डेढ वर्षदेखि कुखुरा पाल्दै आएका छन्। तर यो कामबाट उनले नाफा कमाउन भने सकेका छैनन्।
‘कुखुरा पालेको डेढ वर्ष जति भयो, अहिलेसम्म घाटा मात्र भएको छ,’ उनले दुःख पोखे, ‘एक पटक खोर नै रित्तिने गरी चल्ला मर्यो, कहिले मूल्य नै पाइएन।’
उनको खोरमा २५ सयको हाराहारीमा कुखुरा राखिएको छ। कुखुरा ३०/३५ दिनका भए। सामान्यतया ४५ दिन भए पछि बजारमा पठाइन्छ।
पछिल्लो समय बजारमा कुखुराको मासुको भाउ बढेको छ।
मैले उनलाई सोधें, खुसी हुनुहुन्छ होला नि महँगोमा बिक्ने भयो भनेर?
‘के खुसी के दु:खी भन्नु। २५ सय चल्ला हालेको ३ सय ५० जति त मरिसके, त्यही नि हामीलाई कसले धरै भाउ दिन्छ र?’, उनले भने।
उनी कुखुराको मासुको मूल्य बढे पनि नाफा हुनेमा आशावादी छैनन्।
‘अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रूपैयाँ छ। डिलरको कमिसन र गाडी भाडा कटाउँदा २ सय ६० रुपैयाँजति आउँछ। त्यसमा पनि बेच्ने बेलासम्ममा त मूल्य नै घट्न सक्छ,’ उनले भने।
कुखुराको भाउ बढेअनुसार उद्योगीले चल्ला र दानाको पनि भाउ बढाउनाले लागत बढ्ने उनी बताउँछन्।
‘१०/१२ लाख खर्चेर लगानी गरिहालें। लगानी फसिसक्यो। एक दुई लट चल्ला पनि हालिहाल्यो। अब नहालौं यसको ऋण तिर्न घर खेत नै बेच्नु पर्छ। हालौं फाइदै छैन,’ उनले गुनासो गरे।
कुखुरा उत्पादकले चल्ला ल्याउने र स्याहार गर्नेमात्र काम भएको काभ्रेस्थलीकै कुखुरापालक प्रकाश अधिकारी बताउँछन्।
‘कुखुरा उत्पादक डिलरको भरमा पर्नुपर्छ। बजारको ट्रेन्ड नै त्यस्तो छ। कुनै पनि किसानले बोइलर कुखुरा क्यासमा कारोबार गर्न सक्दैनन्। उधारोमा ल्याउने हो। उधारोमा लगानी गर्दिएर बेचिदिएबापत कमिशन दिनुपर्छ,’ उनले भने।
उनका अनुसार डिलरले केही पैसा डिपोजिट गरेर उधारोमा किसानको खोरमा लगेर चल्ला हाल्दिन्छ। र बेच्ने बेला भएपछि पनि आफैंले बेचिदिन्छ। त्यस बीचमा किसानले चल्लालाई आवश्यक दाना, औषधी डिलरबाटै लग्ने गर्छ। पछि चल्ला, दाना, औषधीको मूल्य कटाएर पैसा पाउँछन्।
‘अहिले बजारमा चल्ला प्रतिगोटा ७० रूपैयाँ छ। कुखुराको एउटा साधारण औषधीलाई २२ सय देखि २५ सयसम्म पर्छ। दाना प्रतिकेजी झन्डै ७० रूपैयाँ पर्छ,’ उनले भने, ‘एउटा चल्लाले बजारमा जाने होउन्जेल ५ केजी दाना खान्छ। त्यसमा आफ्नो मेहनत, चल्लालाई तापक्रम दिन आवश्यक भुस, काठको धुलो, बिजुलीको हिसाब गर्दा के नै फाइदा हुन्छ र।’
काभ्रेस्थलीका अर्जुन अधिकारीको पनि व्यथा उस्तै छ। वैशाखदेखि व्यावसायिक कृषिमा लागेका अधिकारीले कुखुरा तथा गाई पालेका छन्।
कुखराको मूल्य बढेको बेलामा चल्लाको गुणस्तर नै घट्छ। बिहान उठ्नेबित्तिकै कति चल्ला मर्ने हुन् भन्ने चिन्ता पर्ने उनी बताउँछन्।
‘आजमात्र भर्खरै १५ सय चल्ला हालेको छु। कतिपय त अहिले नै लल्याकलुलुक भइसके। कति मर्ने हुन् थाहा छैन,’ उनले भने।
उद्योगीले मूल्य बढेको बेलामा ढुसी आएका, नपाकेका दाना पठाउँदा दानाकै कारणले पनि चल्ला मर्ने गरेको उनको गुनासो छ। उनका अनुसार निम्न गुणस्तरको दाना खुवाएछि चल्ला बिरामी भएर मर्ने गर्छन्। त्यस्तो अवस्थामा औषधीले समेत छुँदैन।
‘मूल्य बढेको बेलामा कुखुराको तौल नै हुँदैन,’ अहिले एउटा कुखुरा डेढ/दुईकिलोको हुन्छ भने घटेको बेला बेच्दा त्यही कुखुरा कसरी साढे दुई/तीन किलोको हुन्छ’, उनले भने, ‘मूल्य घटेको बेलामा त चल्ला पनि मर्दैन।’
बोइलर कुखुरा उत्पादनको लागि आवश्यक कच्चा पदार्थ दाना, चल्ला, औषधीलगायतको मूल्य अत्यधिक वृद्धि भएकाले कुखुरा व्यवसायीले लागत अनुसारको मूल्य नपाएको किसान राजन अधिकारीले बताए।
‘उपभोक्ताले अहिले तिरेको मूल्य र किसानले पाएको मूल्यमा ठूलो अन्तर छ। किसानलाई देखाएर कुखुराको मासुको मूल्य बढाइएको छ। तर यसको फाइदा किसानले पाएका छैनन्,’ उनले भने।
नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संघ मूल्यमा किसानले चल्ला किन्छन्। दाना उद्योगीले राखेको मूल्यमा दाना। जब किसानले कुखरा बेच्ने बेला हुन्छ। त्यसको पनि उनीहरूले नै मूल्य राख्ने गरेको उनले दुखेसो गरे।
सबै उद्योगीले आ–आफ्नो उत्पादनको मूल्य राख्छन् भने किसानले पनि आफ्नो उत्पादनको मूल्य राख्न पाउनु पर्नेमा उनको जोड छ।
‘हाम्रो मुख्य कच्चापदार्थ भनेको चल्ला, दाना र औषधी हो। कच्चा पदार्थको मूल्य घट्दा घट्नु पर्यो बढ्दा बढ्नु पर्यो,’ उनले भने।
लागतअनुसारको मूल्य पाउने हो भने किसान घाटामा नजाने उनी बताउँछन्।
पुस पहिलो हप्ता काठमाडौंमा जिउँदो कुखुरा प्रतिकेजी १ सय रूपैयाँ थियो। ठूल्ठूला कोल्ड स्टोरले कोल्ड गरेर राख्न मूल्य घटाएको उनको दाबी छ।
किसानको कमजोरीले गर्दा पनि चल्ला मर्ने गरेको काभ्रेस्थलीकै उत्सव पोल्ट्री सप्लायर्सका सञ्चालक शिवप्रसाद अधिकारीले बताए।
‘कतिपय कुरामा किसानको कमजोरी पनि छ। जसले मेहनतका साथ कुखरा पालेका छन् ऊ फाइदामा छ। जसले वेवास्ता गरेका छन् ऊ घाटामा छ’, उनले भने।
थोरै किसानमात्र हाम्रो पेशा यही हो भनेर कुखुरा पालनमा लागेका छन् भने पछिल्लो समय धेरैजसो किसान देखासिकीमा लागेको उनले बताए।
‘नजानी तथा नसिकी यो व्यवसायमा लागेका घाटामा छन्। नभए कुखुरा पालेर घाटा लाग्यो भन्ने कम नै देखेको छु’, उनले भने, ‘एउटै कम्पनीबाट ल्याएको चल्ला मैले एकै दिन दुई जनालाई दिएको हुन्छु कोही नाफामा देखिन्छ, कोही घाटामा हुन्छन्, त्यस्तो कसरी हुन्छ।’
किसानले चल्लालाई दिनुपर्ने तापक्रम मिलाउन नजानेका कारणले चल्ला मर्ने गरेको उनले दाबी गरे। थोरै वातावरण मिलेन भने पनि चल्ला मर्दै जाने उनले बताए।
तर किसान भने तापक्रम नै नमिलेको भरमा चल्ला मरेका हुन् भने सबै चल्ला मर्नुपर्ने बताउँछन्।
‘तापक्रम नमिलेर चल्ला मरेको हो भने त सबै मर्नुपर्ने हो। सबैलाई एउटै तापक्रममा राखेको हुन्छ, किन २/३ सय मात्र मर्छन् त,’ एक किसानले भने, 'ह्याचरीले नै कमसल र राम्रा चल्ला मिक्स गरेर पठाउँछन् कि जस्तो लाग्छ।’
किन बढ्यो कुखुराको मासुको मूल्य
पोल्ट्री सप्लायर्सका सञ्चालक शिवप्रसाद अधिकारी कुखुराको मासुको मूल्य बढ्नु स्वाभाविक मान्छन्। उनका अनुसार चिसोमा कम कुखुरा उत्पादन हुने हुनाले मूल्य बढ्नु स्वभाविक हो।
‘चिसोमा कुखुराको तौल कम हुन्छ, त्यसैले आजभोलि किसानले कुखुरा पालेका छैनन्,’ उनले भने, ‘उत्पादन नभएपछि मूल्य बढिहाल्छ नि।’
अझै किसानले आफ्नो लागत अनुसारको मूल्य नपाएको उनी बताउँछन्।
‘हिजो बोराको २७/२८ सय पर्ने दाना खुवाउँदा प्रतिकेजी २ सय ६० रुपैयाँ हुने भाउ अहिले ३४/३५ सयको दाना खुवाउँदा २ सय ७० मात्र छ। अझै किसानलाई कुखुराको मूल्य पुगेको छैन’, उनले भने।
१० दिनमै चल्लाको मूल्य ३० रूपैयाँले बढ्यो
माघको दोस्रो हप्तासम्म प्रति ४० रूपैयाँ पर्ने चल्ला ५०, ६० हुँदै चौथौं हप्ता नपुग्दै ७० रूपैयाँ पुगेको छ।
फुँयाल फिड एण्ड ह्याचरीका सञ्चालक नारायण फुँयालकाअनुसार पहिले मागभन्दा उत्पादन बढी भएपछि चल्लाको मूल्य कम थियो। नेपालमा हप्तामा २६/२७ लाख चल्लाको माग छ तर ४५/४६ लाख चल्ला उत्पादन हुने गरेको थियो।
तर अहिले चल्ला उत्पादन कम छ, त्यो भएर मूल्य बढेको उनी बताउँछन्।
‘कुखुराको मासुको मूल्य बढेको हुनाले चल्लाको माग धेरै भयो त्यसैले मूल्य बढ्यो,’ उनले भने।
उनका अनुसार चल्ला उत्पादन गर्नेले ४० रूपैयाँमा बेच्नुपर्दा परालको मूल्य पनि नउठे पछि उनीहरूले चल्ला हाल्न सकेनन्। त्यसले गर्दा चल्लाको उत्पादन कम भयो।
सामान्यत: प्यारेन्ट कुखुराले ६ महिनामा अण्डा पार्छ। १ महिनाको अण्डा सानो भएकाले सेटिङमा लान सकिँदैन। सेटिङमा २१-२२ दिन नभई चल्ला निस्किँदैन।
त्यसो त ह्याचरी संघले गत महिना चल्ला उत्पादन बढी भयो भनी बजार व्यवस्थापन गर्न भनेर चल्ला तथा अण्डा नष्ट गरिएको बताएकोथियो।
‘चिसोमा किसानले चल्ला हाल्न मानेका थिएनन्। त्यसै चल्ला मर्ने नै थिए। यस कारण आफैले नष्ट गरेको हो,’ फुँयालले भने।
उनका अनुसार पुसभन्दा अघि चल्लाको उत्पादन मागभन्दा बढी थियो। पुस र माघमा चल्ला खपत हुँदैन। फागुनबाट भने चल्लाको माग बढ्दै जान्छ।
संघले नै तोकेको मूल्य पनिे किन पाउँदैनन् किसान
नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउँदो कुखुराको मूल्य निर्धारण गर्ने गरेको छ। दुई किलोभन्दा माथिको कुखुराको मूल्य २ सय ७० छ भने। त्यो भन्दा कम तौल भएको कुखुराको मूल्य सोही अनुसार घट्छ।
सङ्घले नै निर्धारण गरेको मूल्यमा पनि किसानले १० रूपैयाँ घटाएर पैसा पाउँछन्।
निर्धारण गरिएको मूल्यभन्दा १० रूपैयाँ घटाएर किसानसँग लिने र आफूले पनि बजारमा चलेको मूल्यभन्दा १० रूपैयाँ घटाएर दिने गरेको सप्लायर्सका अधिकारीले बताए।
उनका अनुसार १० रूपैयाँ कमिशन कोल्ड स्टोरले राख्ने गरेको छ।
कुखुराको बजार व्यवस्थापन गर्न सरकार नै लागि पर्नु पर्ने उनको भनाइ छ। सरकारले व्यवसायीलाई मात्र दोष नलगाएर कुन-कुन ठाउँमा कुखुरा उत्पादन भएको छ, कति उत्पादन हुन्छ। त्यो हेरेर मूल्य निर्धारण गरेमात्र बजार व्यवस्थापन हुने उनले बताए।
‘सरकार आफैंले मूल्य निर्धारण गरिदियो भने, व्यवसायीलाई नि दोष हुन्न। किसानले पनि आफ्नो मूल्य पाउँछन्,’ उनले भने।
साथै खुला बोर्डरको कारणले गर्दा अवैध रूपमा भित्रिने मासुलाई सरकारले रोक्न पहल गर्नु पर्नेमा उनले जोड दिए।
उनका अनुसार कुखुरालाई चाहिने भटमास, पिना दाना अहिले बाहिरबाट आयात भइरहेको छ। त्यसको उत्पादन बढाउन सरकारले कार्यक्रम ल्याए कुखुरा उत्पादनको लागत कम हुन गई उपभोक्ताले सस्तोमा उपभोग गर्न पाउने अधिकारीले बताए। ।