कुखुरा उत्पादन गर्न आवश्यक कच्चा पदार्थ, चल्ला र दानाको मूल्य अत्यधिक वृद्धि भएकाे भन्दै मङ्गलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएर किसानले विराेध जनाए।
पछिल्लो समय भएको दाना र चल्लाको मूल्य वृद्धि तथा कालो बजारी विरूद्ध उनीहरू आन्दाेलनमा उत्रिएका हुन्। नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर र ललितपुरदेखि किसान आफ्ना समस्या राख्न विभागमा आएका हुन्।
चल्ला तथा दानाको मूल्य वृद्धिको समस्या लिएर उनीहरू पहिलो पटक विभाग गएका होइनन्। यस अघि पनि गएका थिए। तर विभागले कुनै चासो नदेखाएपछि विभिन्न जिल्लाका किसान एकजुट भएर आएको राष्ट्रिय कुखुरापालक संघर्ष समितिका संयोजक विष्णु खड्काले बताए।
‘माघ २० गते हामीले चल्लाको मूल्यमा भएको कालोबजारीविरुद्ध लिखित रुपमा नै उजुरी गर्दा समेत विभागले कुनै चासो नदिएपछि एकजुट भएर आएका हौं,’ उनले भने।
माघ १० गते चल्लाको मूल्य ४० रूपैयाँ रहेकोमा माघ ११ गते ५०, १४ गते ६० र १८ गते ७० रूपैयाँ पुगेको समितिले बताएको छ।
चल्ला र दानाको समस्यामा स्थानीय निकायले केही सहयोग गर्न नसक्ने भएपछि काठमाडौं नै आएको वेलकोटगढी नगरपालिका, नुवाकोटका कुखुरा पालक रामशरण श्रेष्ठले बताए।
‘चल्ला, दाना उद्योगी सबै काठमाडौंतिर नै छन्। ती उद्योगीसँग स्थानीय निकायको पहुँच नै हुँदैन,’ उनले भने।
चल्ला उद्योगीले ८ दिनको बीचमा ३० रूपैयाँ मूल्य बढाएपछि काठमाडौं नै आउन परेको शैलुङ गाउँपालिका, दोलखाका कुखुरा पालक निकेश कार्कीले बताए।
‘थोरै मूल्य बढाउँदा त चुप नै लागेर बसेका थियौं, अहिले त अति गरे,’ उनले भने।
कहिले कुखुराको मूल्य घटाउने त दाना र चल्लाको मूल्य अत्यधिक वृद्धि गरिँदा कुखुरा पालक किसान चरम शोषणमा परेको उनी बताउँछन्।
दाना तथा ह्याचरी उद्योगहरूले आफू अनुकुल संघ गठन गरी उपभोक्ता र किसानलाई मारमा पारेको किसानाको गुनासाे छ।
सबै उद्योगीले आ–आफ्नो उत्पादनको मूल्य राख्छन् भने किसानले पनि आफ्नो उत्पादनको मूल्य राख्न पाउनु पर्ने माग गरेका छन्।
चल्ला र दानाको मुल्य घटाउनुपर्ने, गुणस्तरीय दाना हुनुपर्ने, दानाको परिणाम पुर्याएर दिनुपर्ने, दानामा गुणस्तर तथा नाप तौल विभागले अनुगमन गर्नुपर्ने र चल्ला र दानाअनुसार कुखुराको मूल्य समायोजन गर्नुपर्नेलगायत माग उनीहरूको छ।
समितिकातर्फबाट संयोजक खड्काले विभिन्न मागसहित विभागका महानिर्देशकलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। माग पूरा नभए देशभरिका किसान जम्मा भएर आन्दोलन गर्ने उनले चेतावनी दिए।
मूल्य बढाएको प्रमाण दिनुस् आजै पत्र काट्छौंः महानिर्देशक सुवेदी
ह्याचरीले मूल्य बढाएको प्रमाण दिए कारबाहीका लागि आजै पत्र काट्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए।
ह्याचरीको कुरा सुन्यो चल्ला उधारोमा दिएर किसानलाई उद्दार गरेको जस्तो देखिन्छ। किसानका कुरा सुन्यो मारमा पारेको देखिन्छ,’ विभागका महानिर्देशक सुवेदीले भने, 'मूल्य बढाइएको बिल–बिजक दिनुस्, आजै पत्र काट्छौं।’
यस विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको उनले बताए।
‘ह्याचरीले मूल्य नै नराखी बिल काट्न थाले’
पछिल्लो समय चल्लाको मूल्य अत्यधिक वृद्धि भएको विरोध हुन थालेपछि ह्याचरी उद्योगहरूले किसानलाई चल्लाको मूल्य नै नराखी बिल काट्न थालेका छन्। पछि किसानको खोरमा चल्ला हालेपछि आफू मनलाग्दी मूल्य राख्ने गरेको किसानको दावी छ।