बर्खे सिजन सुरू हुँदै गर्दा अहिले किसानलाई चैते धान गोडमेल गर्ने, असारे धानको बिउ राख्ने त कसैलाई बर्खे तरकारी रोप्ने चटारो छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले देश लकडाउनमा छ। लकडाउनले गर्दा किसानले मल तथा बिउ पाउन सकेका छैनन्। सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान नदिएपछि व्यापारीले पनि गाउँगाउँसम्म बिउ पुर्याउन सकेका छैनन्।
लकडाउनले गर्दा बिउ लिन काठमाडौं आउन नसकेको धादिङका किसान विनोद खकुरेल बताउँछन्। उनी तरकारी बेच्न आउँदा कालिमाटी तरकारी बजारबाट आफूलाई चाहिने तरकारीको मल, बिऊ तथा औषधि लिएर जान्थे। लकडाउन भएयता उनी काठमाडौं आउन सकेका छैनन्।
‘काठमाडौं नआएको झण्डै दुई महिना हुन लागिसक्यो, नत पठाएको तरकारीको पैसा पाउन सकिएको छ, न नयाँ तरकारीको लागि बिउ नै,’ उनले भने।
उनका अनुसार अब काँक्रा, घिरौंला, भेंडे खुर्सानी, हरियो खुर्सानी, रामतोरी लगाउने बेला हो। समयमा तरकारीको बिउ नपाइने हो भने तरकारीको उत्पादन घट्ने उनी बताउँछन्।
तरकारीको बिउको समस्याबारे नगरपालिकाले केही वास्ता नगरेको उनले बताए। एकातिर नयाँ बाली लगाउन नपाइएको र अर्कोतिर भएका तरकारी पनि बजारमा लगेर बेच्न नसकिएको अर्का किसान वतराज विडारी बताउँछन्।
‘अहिले घिरौंला, करेला, भिण्डी, लौका, घिउ सिमी, बोडी लगायतका तरकारी लगाउने मौसम हो, काठमाडौं जान नपाएकाले बिउ ल्याउन सकिएको छैन,’ उनले भने।
उनले आफ्नो वरपरका किसानको तरकारी संकलन गरेर बेच्ने पनि गरेका थिए। लकडाउनले तरकारी बेच्नमा असर गरेको उनी बताउँछन्।
‘कालिमाटी लग्यो ८ बजेसम्म मात्र कारोबार गर्न पाइन्छ, त्यसपछि तरकारी फिर्ता लैजा भन्छ,’ उनले गुनासो गरे।
लकडाउनले मल, बिउ, औषधि लगायत पाउन समस्या परेको मकवानपुरका किसान कान्छा थापा बताउँछन्। उनका अनुसार मकवानपुर क्षेत्रमा भर्खरै तरकारी लगाउने सिजन सुरू भयो। आलु लगाएका किसानले आलु खनेर अब नयाँ तरकारी लगाउँछन् भने नलगाएका किसानले तरकारी लगाउन सुरू गरिसकेका छन्।
‘तरकारी लगाउने सिजन सुरू भइसक्यो, बिउ पाउन भने सहज छैन,’ उनले भने, ‘पसलेलाई सोध्यो ल्याउन सकेका छैनौं भन्छन्, ‘आफै कालिमाटी जाउँ भने दिइँदैन।’
उत्पादन भएका तरकारीले बजार नपाएको नुवाकोट बेलकोट गढी नगरपालिका, हरियाली कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक बैकुण्ठ मुडवरीले बताए।
उनका अनुसार किसानले अहिले हाइब्रिड जातका काँक्रा, भेंडे खुर्सानी, फर्सी, भिण्डी लगायतका तरकारी लगाएका छन्। ती तरकारी बेच्न किसानले बजार पाउन सकेका छैनन्।
त्यस क्षेत्रमा बर्खे बालीका लागि डिएपी र युरिया गरेर ३ देखि ४ सय बोरा मल आवश्यक रहेको उनले बताए। ‘हामीले सहज हुञ्जेल त ल्याएर बाँड्यौं, अहिले मल पाउन सएिको छैन,’ उनले भने।
बाहिरी जिल्लाका किसान काठमाडौं आउन नपाएपछि बिउबिजनको व्यापार घटेको कालिमाटी बजारमा बिउबिजन बेच्ने जय गुरू विज भण्डारका सञ्चालक श्रवण कुमार श्रेष्ठ बताउँछन्।