नेपालमा कृषि उत्पादनमा आत्मनिर्भर हुने भनेर भन्न थालिएको धेरै भइसक्यो। गएका १० वर्षमा प्रत्येक वर्ष कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने भनेर सरकारले आफ्ना कार्यक्रममा राखिरहेको छ।
आगामी वर्षका लागि सरकाले ल्याएको नीति तथा कार्यक्रममा दश वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको छ। तर प्रत्येक वर्ष आत्मनिर्भर हुने भनेर घोषणा गर्ने सरकारले कुन बालीमा आत्मनिर्भर भएको छ भनेर घोषणा भने कहिलै गर्दैन।
जबकी सरकारी तथ्यांकहरुले आत्मनिर्भर भइसकेको ठोकुवा गर्ने अन्नको आयात वर्षेनी बढिरहेको छ। यस्तैमध्येको एक अन्न हो मकै।
पछिल्ला वर्षमा नेपालमा मकै उत्पादनमा निकै सफल भएको सरकारी अधिकारीले बताउँदै आएका छन्। मकै उत्पादन गत वर्ष २६ लाख ४४ हजार टन भएको थियो।
नेपालमा ९ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती भइरहेको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, रामपुरका प्रमुख केशव बाबु कोइरालाले जानकारी दिए। उनका अनुसार पर्याप्त सिचाइँ नभएको, भिरालो जमिनमा पनि उत्पादन हुने मकैको उर्वर क्षेत्र पहाड हो।
मकैको उत्पादन सुधार हुँदै गएको उनको भनाइ छ।
नेपालमा उत्पादन हुने मकै सरकारकै तथ्यांकअनुसार नेपालको मागअनुसार पर्याप्त मात्र होइन धेरै बढी हो। केन्द्रीय तथ्यांक विभागको पछिल्लो घरपरिवार सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति सरदर २० किलो मकै खपत हुन्छ। वर्षेनी खपत हुने यो हिसाबले आजको मितिमा नेपालको जनसंख्या २ करोड ९० लाख मान्ने हो भने ५ लाख ८० हजार टन खपत हुन्छ।
यसरी खपत हुँदा पनि वर्षमा २० लाख ६४ हजार टन मकै बाँकी हुन्छ।
यो तथ्यांकलाई मान्ने हो भने नेपाल मकैमा आत्मनिर्भर मात्र होइन निर्यात गर्नुपर्ने देश हुनुपर्थ्यो। तर यसको ठिक उल्टो मकै आयात भइरहेको छ। एकातिर नेपालमा अतिरिक्त मकै उत्पादन बढीरहेको सरकारी तथ्यांकले देखाउँछ भने अर्कोतिर आयात पनि बढीरहेको छ।
विशेषगरी नेपालमा कुखुरा पालनलाई सरकारले संरक्षण दिएपछि मुलुक कुखरा तथा अन्डा उत्पादनमा आत्मनिर्भर भएको छ। तर कुखुराका लागि दाना बनाउन चाहिने मकैको आयात पनि प्रत्येक वर्ष बढीरहेको छ। नेपालमा पशु दानाका लागि चाहिने मकै विदेशबाटै आउँछ।
भन्सार विभागकाअनुसार गएको वर्ष १३ अर्ब रुपैयाँको झन्डै ५ लाख टन मकै र मकैको पिठो आयात भएको छ। दानाका साथै अन्य उत्पादनको कच्चा पदार्थका रुपमा पनि मकै आयात हुने गरेको छ।
नेपालमा पशु दानाको उत्पादन गरिरहेको निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारिया नेपालमा जति मकै उत्पादन भएपनि पशुदानाका लागि चाहिने मकै वर्षेनी आयात गर्नुपर्ने आफूहरुको बाध्यता रहेको बताउँछन्।
‘स्वदेशमै २६ लाख मेट्रिक टन मकै उत्पादन हुँदो रहेछ, तर हामीले भने बाहिरैबाट आयात गर्नु परेको छ,’ उनले भने,' दानाकै लागि भनेर नेपालमा वर्षेनी ३ देखि ४ लाख टन मकै आयात हुन्छ।'
एकातिर खपतको तुलनामा उत्पादन धेरै भइरहेको सरकारी तथ्यांक छ। अर्कोतिर आयात धेरै भइरहेको छ। यस्तो किन भइरहेको छ? हामीले यो प्रश्न कृषिमन्त्रालयका प्रवक्ता हरि बहादुर केसीलाई सोधेका थियौँ।
दाना लगायतका औद्योगिक प्रयोजनका आवश्यक मकै उत्पादन नहुने, मान्छेले गर्ने खपत बाहेक व्यक्तिगत रुपमा पशु आहारको रुपमा खपत हुने मकैको तथ्यांक नभएको तथा अन्य दाना बाहेकका केही उद्योगमा जाने मकैको तथ्यांक नभएको उनले जानकारी दिए।
त्यो बाहेक उपयुक्त ढुवानी, सञ्चिति तथा एकीकृत तथ्यांकको अभावका कारण आयात नरोकिएको बताए।
‘हाम्रोमा एकै ठाउँमा ठूलो परिमाणमा मकै उत्पादन हुँदैन, छरिएर उत्पादन हुने भएकाले जहाँ उत्पादन हुन्छ त्यही खपत हुने गरेको छ,’ उनले भने।
मकै उत्पादनका लागि नेपालमा धेरै सम्भावना भएपनि व्यवस्थित प्रणाली नहुँदा विदेशबाट आइरहेको मकैबाली विज्ञ केशवबाबु कोइरालाको भनाइ छ। आवश्यकताअनुसारको उत्पादन,संकलन तथा वितरणको व्यवस्था नभएपछि मकैमा नेपाल परनिर्भर हुनुनपर्ने उनले बताए।
मकै उत्पादनलाई व्यवस्थित बनाउनका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिए।
‘दाना उद्योगीले प्रयोग गर्ने मकै पनि आगामी वर्ष उत्पादन गर्ने योजना बनाएका छौं। नयाँ बिउ, किसानलाई नाफाको ग्यारेन्टी, शितभण्डारणजस्ता पूर्वाधारबाट हामी यो अहिलेको खाडल पूरा गर्ने लक्ष्यमा छौँ' केसीले भने।