विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण गत चैत ११ गतेदेखि देश लकडाउनमा छ। लकडाउनका कारण अत्यावश्यक क्षेत्र बाहेक सम्पूर्ण क्षेत्र बन्द छ। सरकारले आवतजावतमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।
सरकारले लकडाउन भएपनि किसानलाई सु्रक्षाका उपाय अपनाएर कृषि कर्म गर्न सुझाएको छ। तर यस्तो अवस्थामा मल, बीउ लिन काठमाडौं आउन सक्ने अवस्था छैन। किसानले कहाँ सम्पर्क गर्ने त भनेर हामीले कृषि मन्त्रालयलाई सोधेका थियौं।
किसानलाई बीउ तथा मलको समस्या परे सिधै नजिकका सहकारी तथा एग्रोभेटमा सम्पर्क गर्न सक्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।
हामीले कृषि उपजको उत्पादन नरोकियोस् भनेर सहकारी तथा एग्रोभेटलाई कृषकलाई आवश्यक पर्ने मल, बीउ ढुवानी गर्न छुट दिएका छौं,’ प्रवक्ता केसीले भने, ‘किसानले उनीहरूलाई सम्पर्क गर्न सक्छन्।’
मन्त्रालयले किसानको उत्पादन समेत बजारीकरणमा सहयोग गर्ने बताएको छ। तर कति किसानले तरकारी नबिकेर बारीमै कुहाएर फ्याँकेका छन्। अहिले किसानलाई कृषि गर्ने वातावरण नै नभएको धादिङका किसान विनोद खकुरेलले बताए।
‘तरकारी लगाउँ नबिक्ने, अन्न लगाउँ किराले खाने डर छ,’ उनले भने, ‘सरकारको कृषि क्रान्तिको कुरा भाषणमा मात्र सीमित छ।’
यो उनका मात्र समस्या होइन। जहाँ राम्रा क्षमता भएका भण्डार गृह छैन त्यहाँका किसानलाई यस्तै समस्याले पिरोलेको छ।
सरकारले कृषि उपजको कारोबार गर्ने सवारी साधनलाई सवारी पासको आवश्यक नपर्ने भने पनि बाटोमा खटिएका सुरक्षाकर्मीलाई भने पास देखाउनै पर्नेछ।
नयाँ उत्पादनको लागि मल, बीउ पाउने कुरौ त छाडौं अहिले भएका तरकारी पनि बजारसम्म लैजान समस्या भएको हरियाली कृषि सहकारी संस्था, नुवाकोटका सञ्चालक बैकुण्ठ मुडबरीले बताए।
‘काठमाडौं त दुरको कु्रा, हाम्रो बजार भनेको धार्के हो, धार्के बजार शिल छ। तरकारी बेच्न पाएका छैनौं,’ उनले भने।
किसानलाई मल समेत पर्याप्त मात्रामा पुर्याउन नसकेको उनले बताए। मलका लागि कृषि सामाग्री कम्पनी लिमिटेडमा सम्पर्क गर्दा मल नभएको जानकारी पाइएको उनले बताए।
बजारमा बेच्न लैजान नसकेर किसानले काउली काटेर सुकाउन थालेको श्री महाचुनी कृषि सहकारी संस्था, मकवानपुरका कर्मचारी कृष्ण बलामीले बताए।
उनका अनुसार लकडाउनको सुरूआती चरणमा जिल्लाको समन्वयमा एक/दुई पल्ट बेच्न लगिएको थियो। विस्तारै कोरोना संक्रमित बढ्न थालेपछि भने बेच्न लान सकिएको छैन।
तरकारी बजारसम्म लैजान चालक नपाइएको उनले गुनासो गरे।
‘स्थानीयबासीले कोही बाहिर गएर रोग ल्यायो भने कारबाही गर्ने भनेर अप्रत्यक्षरूपमा भनेका छन्, त्यसले गर्दा पनि कोही चालक बाहिर जान मान्दैनन्,’ उनले भने।
सरकारले कृषि उपज बजारीकरण गर्न सहज गरिदिन्छु भनेर मात्र हुँदैन। चालक तथा सहचालकलाई सुरक्षाको व्यवस्था गरिदिनु पर्ने उनले बताए।
‘किसानको काम त तरकारी उत्पादन गर्ने हो, बजारसम्म पुर्याइदिने काम त सरकारले व्यवस्था गर्नुपर्छ,’ उनले भने।
अन्य समयको तुलनामा अहिले सहकारी तथा एग्रोभेटहरूलाई पनि मल, बीउ ढुवानीमा समस्या परेको उनले स्वीकारे।
सहकारी तथा एग्रोभेटलाई मल, बीउ लिन आउन समस्या परे सिधै नजिकको कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा प्रदेश सरकारमा सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता केसीले आग्रह गरेका छन्।
‘भोकमरी आउन नदिन हामीले कृषि उत्पादन प्रक्रिया रोक्न हुँदैन,त्यसको सहजीकरणको लागि कृषि मन्त्रालय सधैँ तत्पर छ,’ उनले भने।