बाली नष्ट गर्ने सलह किरा तत्काल नेपालमा आउने सम्भावना न्यून देखिएको छ। सलह किराको रोकथाम तथा नियन्त्रणका लागि गठित प्राविधिक कार्यदलकोे प्रतिवेदनले भारतमा आइपुगेको सहल किरा तत्काल नेपाल आउने संभावना न्युन देखिएकाे बताएकाे छ।
सयक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ) को अध्ययनले सलह किरा नेपाल तत्काल नआउने बताएको कार्यदलका संयोजक सहदेव हुँमागाईले बताए।
‘एफओएका सलह विज्ञ किथ किसम्यानका अनुसार सलहको हुल उत्तरबाट दक्षिणतर्फ आउने क्रममा विखण्डित भई साना–साना हुलहरू भारतका अन्यत्र भाग तर्फ मोडिएकाले हाल नेपाल भित्रिने सम्भावना न्यून भएको बुझिएको छ,’ उनले भने।
नेपालमा निर्गेस आँधीले गर्दा नेपालमा मनुसुन छिटै सुरू हुने जल तथा मौसम विभागको प्रक्षेपण रहेकोले गर्दा पनि नेपालमा सलह किरा तत्काल आइहाल्ने संभावना कम देखिएको उनी बताउँछन्।
उनकाअनुसार सलह किराले पानी मन नपराउने भएकोले नेपाल भित्रने संभावना कम देखिएको हो।
‘झुण्ड नीहित अपरिपक्व वयस्कहरू पूर्वबाट राजस्थानमा प्रवेश गरेको र हालै अम्फुन आँधीपछिको पश्चिमी वायुको साहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अगाडि बढिरहेको छ। राजस्थानमा जुलाइ महिनासम्म पटक पटक यसको नयाँ झुण्डहरू आइरहने र यसबाट भारतको बिहार र उडिसाम्म आक्रमण हुन सक्ने अनुमान गरिएको छ। तर मनसुन सुरूवातसँगै पूर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुण्डहरू पुनः राजस्थानतर्फ मोडिइ गर्मी मौसमको बंशवृद्धि सुरू हुने अनुमान गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ।
उनकाअनुसार गर्मी मौसमको बंशवृद्धिका लागि सलह मरूभूमीमै फर्कने गर्दछ। नेपालमा मरूभूमी छैन।
सलह किरा तत्काल नआएपनि आगामी वर्षमा आउन सक्ने भएकाले यसको नियन्त्रणका लागि विषादी बाहेक अन्य केही विकल्प नभएको कार्यदलका संयोजक हुँमागाई बताउँछन्।
अध्ययनअनुसार सलहमा विषादी पचाउन सक्ने क्षमता नभएकाले किराको शरीरमा पर्ने गरी विषादी छर्कनु उपयुक्त हुन्छ,’ उनले भने।
उनकाअनुसार विहानको सुर्योदय पश्चात् केही समयपछि घाम तापेर बसेको बेला विषादी छर्कंदा धेरै प्रभावकारी हुनेछ।
विषादीहरू मालाथिन ५० प्रतिशत इ.सी, ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत इ.सी, क्लोरपाइरिफोस २० प्रतिशत, इसी, डेल्टामेथ्रीन २.८ प्रतिशत इसी र डेल्टामेथ्रीन ११ प्रतिशत इसी मध्ये एक विषादी प्रयोग गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा भनिएको छ।
विषादीलाई ट्रक वा ट्रयाक्टरमा राखेर पावर स्प्रेडले छर्नुपर्ने भएकाले आवश्यक इक्युप्पमेन्ट केन्द्र र प्रदेशले किन्न सुझाएको उनले बताए।
सलह व्यवस्थापनका लागि थोरै जनशक्तिले नपुग्ने भएकाले प्राविधिक तयार गर्न कार्यदलले पालिका र प्रदेशलाई अनुरोध गरेको छ।
तत्काल व्यवस्थापनका लागि सलह धेरै पोषिलो युक्त किरा भएकाले जालोको पासोमा संकलन गरी दाना बनाउनका लागि प्रयोग गर्न सकिने, सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुँवा आदिको प्रयोगबाट बाधा पुर्याई झुण्डलाई अन्यत्र मोडिदिन र नर्सरी, ब्याडमा र प्लाष्टिक टनेलमा किरा छोप्ने जालि हाल्न सकिने प्रतिवेदनमा उल्लेख छ।
यस किराबारे कृषक तथा जनमासमा चेतना जगाउने, अन्य फट्याङ्ग्रा र यस किराको फरकपन छुट्याउन सातै प्रदेशमा जानकारी दिइएको उनले बताए।
यस सलहको सन् २०१८ मा अरेबियन प्रायद्वीपमा गर्मी मौसममा सुरू भएको बंशवृद्धिबाट सन् २०१९ को पूर्वार्धमा यमन, साउदी अरेबीया र इरान हुँदै उत्तरार्धमा भारत र पाकिस्तान सीमाक्षेत्रमा प्रवेश गरी यस वर्षको वसन्तमा अनुकुल मौसमका कारण उक्त स्थानमा विभिन्न अन्तरालमा पुनः बंशवृद्धि भई बिशाल झुण्डहरू तयार भएको हो।
नेपालमा मरूभूमीको सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी र काठमाडौंबाट संकलन गरी पहिचान गरिएको थियो।
त्यसपछि यो किरा नेपालमा प्रवेश गरेको छैन। भातरलगायत अन्य देशमा भने यो किरा विगतका वर्षमा पनि देखिएको विज्ञहरू बताउँछन्।