बनेपा–४ पुलबजारका राधाकृष्ण श्रेष्ठ सदाका दिनभन्दा आज एक घण्टा ढिला गोलभेडा फर्म पुगे।
बिहीबार राति परेको ठूलो वर्षापछि घरमा भल छिरेकाले सफा गर्दा ढिला सुतेका उनको बिहान अबेला मात्रै आँखा खुल्यो। घरबाट आधा घण्टा पर उनको न्यू उग्रचण्डी कृषि फर्म छ।
अन्य बेलामा बिहान ६ बजे नै फर्म पुग्थे तर आज छिमेकीले फोन गरेपछि ७ बजेतिर फर्म पुगेको उनी बताउँछन्।
‘घरमै भल छिरेकाले गोलभेडा फर्ममा पनि क्षति भयो भन्ने लाग्यो यति ठूलो क्षति होला भन्ने सोचेको थिइनँ’ उनले भने।
उनी सुतिरहेका बेला छिमेकीले फोन गरी तरकारी सबै बगायो छिटो आउनु भने। ‘फर्म पुग्दा त फलेका गोलभेडा सबै माटोले पुरिएको अवस्थामा रातै देखियो,’ उनले भने।
उनका अनुसार खोलाको छेउको १६ रोपनी जग्गामा लगाएको गोलभेडा र क्याप्सिकम बाढीले बगाएको छ। ‘ती उपज बेच्न पाएको भए २७/२८ लाख आम्दानी हुन्थ्यो,’ उनले भने।
उनले फर्ममा १५ जना कामदार पनि राखेका छन्। ‘लकडाउन हुनभन्दा अगाडि रोपेको गोलभेडा फलेर अहिले बेच्ने बेला भएको थियो’ उनले भने, ‘त्यही बेचेर कामदारको तलब दिने सोचेको थिएँ सबै बाढीले बगायो।’
आजभन्दा ६ वर्षअघि ३ रोपनीमा फर्म सुरू गरेका उनले अहिले ३२ रोपनीमा पुर्याएका छन्।
बाँकी १६ रोपनीमध्ये ७ रोपनीमा काँक्रो र ९ रोपनीमा पनि गोलभेडा लगाएका छन्। यहाँ भने क्षति नभएको उनी बताउँछन्।
फूल खेल्दै गरेका गोलभेडाको बोट तीन फिट माटोले पुरिएको देख्दा कृषि नै गर्न मन नलागेको अर्का किसान होम तामाङ बताउँछन्।
‘म जहिले ४ बजे दूध दुहुन आउँछु, आज गाई पनि आधा हिलोमा डुबिरहेको, गोलभेडाको बोट पनि माटोले पुरिएका देख्दा त कृषि नै छोड्दिउँ जस्तै लाग्यो,’ उनले दुखेसो पोखे।
बिहीबार राति आएको चट्याङ सहितको पानीले उनको १० रोपनीमा लगाएको गोलभेडा नष्ट पारेको छ। उनले लकडाउनकै बेला कामदार लगाएर खेती गरेका थिए।
‘लकडाउनकै बीचमा बढी ज्याला दिएर खेती गरेँ’ उनी भन्छन्, ‘अब फाइदा त परै जाओस् सावाँ पनि गयो।’
खेती नोक्सानीबारे वडा कार्यालयमा जानकारी गराएपनि केही प्रतिक्रिया नआएको राधाकृष्ण श्रेष्ठ बताउँछन्। ‘रातिको पानीले यहाँ सबैभन्दा बढी क्षति हाम्रो भएको हो। होमनाथ दाई र मैले वडामा जानकारी त गराएका छौं तर केही जवाफ आएको छैन,’ उनले भने।
बनेपा वडा ४ मा बिहीबार रातिको पानीले ७० लाख मूल्य बराबरको क्षति भएको बनेपा नगरपालिकाका कृषि प्राविधिक नवराज घिमिरेले जानकारी दिए।
‘फेसबुकमा क्षति भएको फोटो हालेको देखियो। कृषि शाखा प्रमुखले एक पटक हेरेर आउनोस् भन्नुभयो’ उनले भने, ‘४०–५० रोपनी जग्गाको कृषि उपजमा क्षति भएको छ।’
किसानले दिएको डाटा, उत्पादनको अवस्था र अहिलेको बेच्ने मूल्य अध्ययन गर्दा ७० लाखको नोक्सान हुने उनी बताउँछन्।
उनका अनुसार ठूलो पानी परेर घाँसपातले खोला थुनिएपछि खोला बारीमा पसेर नोक्सान भएको हो। बाढीले भर्खरै रोपेको धान, मकै तरकारीमा क्षति पुर्याएको छ।
बाढीले ४ फिटसम्म माटो थुप्रिएको छ। बाली क्षतिको विषयमा शाखा प्रमुखसँगको अनौपचारिक छलफलमा किसानलाई केही राहत दिनेबारे कुराकानी भएको उनले बताए।
‘किसानसँगको डाटा लिएर म भर्खरै पालिका आइपुगेँ। अब शाखा प्रमुख तथा नगर प्रमुख ज्युसँग छलफल गरौं के भन्नु हुन्छ,’ उनले भने।